म्याग्दीको पुनहिल पर्यटकीय गन्तव्य बन्दै (तस्बिरसहित)

0
Shares

म्याग्दी ।

हिमाली जिल्ला म्याग्दीमा पर्ने पुनहिल पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै जान थालेको छ । उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६, घारस्थित रहेको पर्यटकीय क्षेत्र पुनहिल म्याग्दी जिल्लाको भ्रमण गर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्दै गएको हो ।

प्रकृतिको अनुपम उपहारको रुपमा म्याग्दी जिल्ला रहेको छ भने त्यसैमध्ये पर्ने पुनहिल पनि एक हो । यो क्षेत्र पर्यटकीय गन्तव्यको रुपमा विकास हुँदै गैरहेको छ । जिल्लाकै प्रमुख पर्यटकीय गन्तव्य मानिने पुनहिल–घोरेपानी विश्वमा चर्चित राउण्ड अन्नपूर्ण पदमार्ग अन्तर्गत पर्दछ । यो क्षेत्रमा पर्यटकहरुका लागि आवश्यक पर्ने सबैखाले सुविधाहरु उपलब्ध भएपछि अहिले पर्यटकहरुको आकर्षण बढ्दै गएको हो ।

समुन्द्री सतहदेखि २८ सय ७४ मिटरको उचाइमा घारेपानी अवस्थित छ भने घोरेपानीभन्दामाथि ३२ सय १० मिटरको उचाइमा पुनहिल पर्दछ । पुनहिलमा पुगेर रमाउन पाउँदा त्यहाँ पुग्ने जो कोही वा पर्यटकहरुले स्वर्गीय आनन्दको अनुभूति गर्ने गर्दछन् । पदमार्गको दायाँ र बायाँ ढकमक्कै फुल्ने लालीगुराँस, ढुङ्गाको सिँढी चिनेर बनाइएको पदमार्ग, घोरेपानी र पुनहिलबाट देखिने मनोरम हिमश्रृङ्खला, चराचुरुङ्गी तथा जङ्गली जनावरको आवाज एवं बिहान र बेलुकाको सुर्योदय तथा सूर्यास्तको दृश्यले मन त्यसै रोमाञ्चित हुन्छ ।

अहिले शिशिर ऋतुको याम चलिरहेको हुँदा मौसम सामान्य भन्दा चिसो छ भने पुनहिलबाट देखिने हिमालहरु दिल खोलेर मुस्कुराइरहेका छन् । पुस, माघमा पर्ने सेताम्य हिउँ अनि फागुनदेखि जेठसम्म यहाँको वनङ्गलमा ढकमक्क फुल्ने लालीगुराँसले पर्यटकलाई निकै लोभ्याउने गर्दछ । हिउँ खेल्न र लालीगुराँससँगै फोटो खिचाउन पर्यटकहरु निकै लालायित हुन्छन् ।

मगर समुदायको बसोबास रहेको घोरेपानीमा उनीहरुको कला, संस्कृति र भेषभूषाको अध्ययन गर्न पाइनुका साथै लोकल खानाको स्वाद चाख्न पाउनु र तरेली परेका डाँडाकाँडाको सुन्दरतालाई नियाल्न पाउनु यहाँको थप विशेषता र आकर्षण हो ।

पुनहिलबाट संसारको सातौं अग्लो चुचुरो धौलागिरि, दशौं अग्लो चुचुरो अन्नपूर्णसहित माछापुच्छे«, निलगिरी, मानपाथीलगायत दर्जन बढी हिमाल, ग्रामीण भेगको सौन्दर्यता, हरियाली वनजङ्गलसहित लालीगुराँस, बिहानको सुर्योदय र बेलुकाको सूर्यास्त लगायतको दृश्यलाई आँखा नआउन्जेलसम्म चियाउन पाइन्छ । घोरेपानीमा पर्यटकलक्षित सानाठूला गरेर २२ वटा सुविधासम्पन्न होटलहरु छन् । बेलुका घोरेपानी बास बसेर बिहान सबेरै उठेपछि उकालो यात्रा गरी पुनहिलमा पुगेर रमाउन सकिन्छ । अहिले घोरेपानी–पुनहिल क्षेत्रमा दैनिक आन्तरिक तथा बाह्य गरेर करिब ७० जनाको हाराहारीमा पर्यटकहरु आउने गरेको इलाका प्रहरी कार्यालय घोरेपानीले जनाएको छ । घोरेपानी, पुनहिल, महरेडाँडा, नागीलगायत अन्नपूर्ण क्षेत्रमा पर्यटकको आगमन बढेको स्थानीयवासी बताउँछन् ।

म्याग्दीको पर्यटकीय क्षेत्र पुनहिल–घोरेपानीको भ्रमण गर्न पाउँदा आफूले आनन्दको अनुभूति गर्न पाएको ईटहरीदेखि आउनुभएकी आन्तरिक पर्यटक पुजा अग्रवालले अनुभव सुनाउनुभयो । उहाँले भन्नुभयो, ‘पुनहिल–घोरेपानी क्षेत्र एकदमै राम्रो लाग्यो । ईटहरिदेखि आएका हामी कास्कीको उल्लेरीबाट घोरेपानी चढ्यौं र पुनहिल पुगी डाँडाकाँडा हेरेर रमाउन पाउँदा चिसोको बाबजुद पनि धेरै रमाइलो भयो ।’ बेलुका घोरेपानी पुगेर बास बस्ने र बिहान मिर्मिरे उज्यालो नहुँदै उठेर पुनहिलतर्फ पाइला बढाउन पाउँदा खुब आनन्द आउँछ । घोरेपानी र पुनहिलको बीचमा पर्ने राताम्य लालीगुराँसको दृश्यले उकालो–ओरालो गर्दा लागेको थकान समेत बिर्साइदिन्छ ।

अहिले घोरेपानी क्षेत्रमा सडक, खानेपानी, होमस्टेलगायत पूर्वाधारहरु बनिरहेका छन् । घोरेपानीमा लाखौंदेखि करोडौं मूल्यका आधुनिक सुविधासम्पन्न पर्यटकलक्षित होटलहरु सञ्चालनमा रहेको पर्यटन व्यवसायी एवं स्नोल्याण्ड होटल एण्ड रेष्टुरेण्टका प्रोप्राइटर तारा पुनले जानकारी दिनुभयो । यहाँको भ्रमणमा आउने पर्यटकहरुको सुरक्षाका लागि घोरेपानीमा पर्यटक प्रहरीचौकी समेत स्थापना गरी सञ्चालनमा ल्याइएको छ । घोरेपानीमा पर्यटन प्रवद्र्धन गर्न गण्डकी प्रदेश सरकारको २० लाख रुपैयाँको लागतमा यसैवर्ष लालीगुराँस पार्क बनाइने भएको छ ।

त्यस्तै अन्नपूर्ण गाउँपालिकामार्फत घोरेपानीदेखि कास्की जोड्ने सडक विस्तार गर्न १२ लाख, प्रतिक्षालय बनाउन १० लाख, पुनहिल भ्यु–टावर रङरोगन गर्न चारलाख रुपैयाँ बजेट विनियोजन गर्नुका साथै पुनहिलमा बिजुली बत्ती जडान गर्नका लागि नेपाल विद्युत प्राधिकरण म्याग्दी वितरण केन्द्रसँग आवश्यक समन्वय र पहल गरिएको गाउँपालिकाका अध्यक्ष भारतकुमार पुनले जानकारी दिनुभयो ।

 

विगतमा स्वदेशी पर्यटकहरुले बास पाउन मुस्किल हुने घोरेपानी क्षेत्रमा केही वर्षयता स्वदेशी पर्यटकको बाहुल्यता बढ्दै जान थालेको छ । पछिल्लोपटक घोरेपानीमा बाह्यभन्दा आन्तरिक पर्यटकहरु धेरै जाने गर्दछन् । पर्यटकीय गन्तव्य घोरेपानी र पुनहिलको भ्रमण गर्न म्याग्दी, छिमेकी जिल्ला मुस्ताङ र कास्कीबाट पुग्न सकिन्छ । कास्कीको नयाँपुल–घान्द्रुक–घोरेपानी र नयाँपुल–उल्लेरी हुँदै घोरेपानी र पुनहिल पुगिन्छ ।