प्रविधिको विकास र पत्रकारिता

0
Shares

पत्रकारिता क्षेत्रमा जति विकास भैरहेको छ, त्यही अनुसार पत्रकारितालाई थप व्यावसायिक बनाउन त्यत्तिकै चुनौती पनि देखा पर्दै गएको छ । हामी चुनौतीको सामना गर्देै अगाडि बढ्नुको विकल्प पनि छैन । पत्रकारिता क्षेत्रको विकासले नै अन्य क्षेत्रमा हुने बेथिति कम गर्न खबरदारीको रुपमा काम गर्ने गरेको छ । जहांँ बेथिति र अस्थिरता कम हुँदै जान्छ, त्यत्तिकै रुपमा त्यो देशको विकास हुने गरेको छ ।

कतिपय देशहरु १५ वर्षअगाडि अत्यन्त कमजोर अवस्थामा थिए तर आज ती देशहरु विकासका दृष्टिले कायापलट नै भएको देखिएको छ ।
हामीले ती देशको भ्रमण गर्दा अब त यसै गरी काम गर्नुपर्दो रहेछ भन्दै फर्किन्छौं तर एयरपोर्टबाट ओर्लिएपछि गोजीमा राखेको फोहोरको टुक्रा ट्याक्सीबाट बाहिर फाल्न कुनै लाज मान्दैनौं । यस्तो खालको प्रवृत्ति र संस्कारबाट हामी जबसम्म मुक्त हुन सक्तैनौ तबसम्म हामीले नेपालजस्तो सुन्दर देशलाई हरेक दृष्टिकोणले सुन्दर बनाउन सक्तैनौं । सकारात्मक सोच र आफैंबाट परिवर्तनको शुरुवात गर्नुपर्छ भन्ने सोचको विकास आजको आवश्यकता हो ।

पत्रकारिता क्षेत्रमा काम गर्दा कतिपय अवस्थामा जे बोले पनि हुन्छ, जे लेखे पनि हुन्छ र जे पोस्ट गरे पनि हुन्छ भन्ने कतिपयको सोचाइ रहेको छ, जसले गर्दा व्यावसायिक पत्रकारिता गर्नेमाथि आक्षेप लाग्ने गरेको छ । एकादुईले गर्दा सिंगो पत्रकारिता क्षेत्रमा लाग्ने दाग हटाउन पत्रकारहरुको छाता संगठन, प्रेस काउन्सिलजस्ता संस्था र निकायले विशेष भूमिका खेल्नुपर्ने हुन्छ । पत्रकार महासंघसँगै पत्रकारिता क्षेत्रका अग्रणी संस्थाहरु सम्पादक समाज, मिडिया एलाइन्सलगायतमा आबद्ध जिम्मेवार पदाधिकारी र सदस्यहरुले कठोर भूमिका निर्वाह गर्नुपर्ने खाँचो रहेको छ । पत्रकारिताको विकास र सुदृढीकरणका लागि बनेका संगठनहरुले पनि जुन भूमिका निर्वाह गर्नुपर्ने हो त्यसभन्दा बढी राजनीतिमा केन्द्रित भएको देखिएको छ । अन्य क्षेत्रले प्रश्न उठाउने ठाउँ दिनुहुँदैन ।

पत्रकारिताको विकासका लागि देखा परेका चुनौती डरलाग्दा देखिँदै छन् । जसले पत्रकारिता गरेको हो÷होइन तर पत्रकारिता भनेर व्याख्या गर्न खोजिएको छ, जसका लागि अध्ययन र इथिक्स पालना नगरे पनि हुनेजस्तो अवस्था छ । जुन विषय आज साँचो अर्थमा पत्रकारिता गर्नेका लागि चुनौती देखिएको छ । आफ्नो पेसा व्यवसाय गर्ने छुट सबैलाई छ र गर्न पाइन्छ । त्यसका लागि सम्मान पनि गर्नुपर्छ तर पत्रकारिताभित्र पर्छ÷पर्दैन भन्ने मूल कुरा हो । पत्रकारिताका अग्रजहरुले यो विषयलाई जसरी गभीर रुपमा लिएका छन् त्यही रुपमा जिम्मेवार पक्षबीच छलफल गरी निष्कर्षमा पुग्न ढिलाइ गर्न नहुने भएको छ । तर पनि यति भन्न सकिन्छ कि जति चुनौती देखिए पनि पत्रकारिताको भविष्य भने सुन्दर नै छ ।

इमानदार पत्रकारिता गर्नेहरुको संख्या दिनानुदिन जति बढ्दो छ त्यत्तिकै पत्रकारिताका नाममा ठेकेदारी गर्ने पनि छन् । डकुमेन्ट पु¥याएर सूचना विभागको प्रेस कार्ड लिने र त्यसको दुरुपयोग गर्नेहरुको संख्या पनि बढिरहेको छ । त्यो पनि अर्को चुनौतीको रुपमा रहेको छ ।

चुनौती नभएको क्षेत्र कुनै पनि छैन, हरेक क्षेत्रमा चुनौती छ । कपी–पेस्ट पनि बढ्दो छ । हुन त कपी–पेस्ट पनि अरुले होइन पत्रकारबाटै भएको छ । त्यसमा हामीले ध्यान दिनुपर्ने हुन्छ । उदाहरणका लागि भन्नुपर्दा आजभन्दा १० वर्षअगाडिसम्म संसद्मा पत्रकारहरुको कति उपस्थिति हुने गथ्र्यो, संसद्का समिति बैठकमा पत्रकारहरु घन्टौं बसेर रिपोर्टिङ गर्ने गर्थे तर आज समितिका बैठकमा पत्रकारको उपस्थिति निकै कम हुने गरेको छ । प्रविधिको विकाससँगै सूचना लिने प्रविधिको विकास भएको त छ तर फरक–फरक स्टोरीभन्दा पनि एउटै सूचना केवल सूचनाका लागि मात्र बाहिर जाने गरेको अवस्था छ । मेहनत र जनशक्तिको अभाव हो वा तालिम, प्रशिक्षणको कमी हो भन्ने प्रश्न रहेको छ । अहिले मिडियामा जनशक्तिको अभाव पनि त्यत्तिकै रुपमा रहेको छ ।

मिडियाको संख्या देशले थेग्नै नसक्ने हुँदै जानु र सुविधाको कम्पिटिसनले पनि जनशक्तिको अभाव भएको भन्नेहरु पनि छन् तर त्यो कति सत्य हो भन्ने प्रश्न उठ्ने गरेकै छ । पत्रकारितामा पैसा मात्र हेरिनुहुँदैन भन्ने मान्यता छ तर अहिले पहिलेभन्दा पैसा हेर्न थालिएको छ । यसो भनेर पत्रकारितालाई आर्थिक रुपमा कमजोर बनाउनुपर्छ भन्ने होइन । श्रमजीवी पत्रकारले श्रमका आधार बाँच्न पाउनुपर्छ र परिवारलाई सहजरुपमा अगाडि बढाउने वातावरण बनाउनै पर्छ, विगतलाई फर्केर हुँदैन र पनि बढी मोलतोल त हुन थालेन भन्ने लगानी गर्ने पक्षको पनि कुरा सुन्नुपर्छ र बहस, छलफल गर्नुपर्छ । अहिले बढी समस्या मूल धारको पत्रकारितामा देखिएको छ । मोफसलमा त्यति धेरै संकटको अवस्था देखिँदैन त्यहाँ एकै जनाले सबैतिर भ्याएको हुन्छ, त्यो अवस्था मूल धारका मिडियामा कम रहेको छ ।

पत्रकारिता क्षेत्रमा विकृति देखिए पनि अन्य पक्षले सुधार गरिदिने होइन, हामी आफैँले सुधार गर्न सक्छौं र त्यसका लागि सबै सरोकारवालाको भूमिका अहं हुने गरेको छ । स्वाभाविक रुपमा प्रविधिको विकाससँगै प्रिन्ट मिडियामाथि थप चुनौती देखिएको छ तर प्रिन्ट मिडिया पत्रकारिताको जग भएकोले त्यसलाई कमजोर हुन दिनुहुँदैन । कतिपयका लागि बिहानको चिया जति आवश्यक हुन्छ त्यत्तिकै रुपमा पत्रिका पढ्न पाए हुन्थ्यो भन्ने पनि छ । प्रविधिको विकाससँगै प्रिन्ट मिडियाले पनि आफूलाई फरक ढंगले विकास गर्नुपर्छ ।

सञ्चार क्षेत्रमा आएको विकास आफैँमा उत्साहजनक छ । आज मिडियाले राजनीतिक परिवर्तनदेखि सामाजिक रुपान्तरणमा ठूलो भूमिका खेलेको छ । पविर्तनलाई संस्थागत गर्न जनताको आवाज बुलन्द गर्ने नै मिडिया हो । यसर्थ अब मिडियालाई कसैले पनि संकुचन गर्न सक्तैन । कति कमी–कमजोरीलाई आधार बनाएर कसैले संकुचन गर्ने सोच राखे पनि त्यो असम्भव भएको स्पष्ट छ । यो स्तरमा विकास भएको मिडियामा काम गर्ने हामी थप सचेत र व्यावसायिक हुनुपर्ने अवस्था त्यत्तिकै टड्कारोरुपमा रहेको छ ।

निश्चय पनि पत्रकारिता सूचना मात्र होइन सम्पादकीय, दृष्टिकोण, विश्लेषण र विचार पनि हो । पत्रकार आफैँमा संस्थाजस्तै हो । किनकि ऊसँग भएको सूचना सँगसँगै एकसाथ हिँड्छ पनि । पहिले स्वतन्त्रता डेमोक्रेसीका लागि थियो भने अहिले त्यो बुझाइलाई साँघु¥याउँदै लगेका छौं । बेथिति उप्काउने र उजागर गर्ने पत्रकारिता नै हो । यसका निम्ति पनि प्रभावकारी पहल सजगताको खाँचो रहेको छ ।

नेपाली पत्रकारितामा न्यू जेनेरेसनको बढ्दो इन्ट्री पनि बडा उत्साहजनक छ । न्यू जेनेरेसनले आफूलाई खार्दैै पनि लगेको छ, जसले परम्परागत पत्रकारिताभन्दा नयाँ ढंगले अगाडि जान खोजेको अनुभूति गराउँछ । त्यो पनि पत्रकारिताको विकास र निष्पक्ष पत्रकारिताका लागि थप सहयोगी बन्ने छ । छिन्–छिन्मा सूचनाको अपेक्षा नागरिकहरुले गर्छन् । केही वर्षअगाडि केही नयाँ कुरा थाहा पाउन बिहानसम्म पर्खिनुपर्ने हुन्थ्यो । अब त्यो स्थिति अहिले छैन । अनलाइनले नयाँ क्रान्ति नै ल्याएको छ भन्दा पनि हुन्छ । त्यो पनि निकै उत्साहजनक र चाख लाग्दो हुँदै गएको छ । कतिपय अनलाइनले गर्ने कपी–पेस्टलाई भने निरुत्साहित बनाउँदै लैजानुपर्छ ।

हामी आफैँले आफैँलाई सुधार गर्ने र हरेक क्षेत्रका जिम्मेवार व्यक्तिले आफूबाटै परिवर्तनको शुरुवात गर्ने हो भने परिवर्तन सम्भव छ । हरेक क्षेत्रमा हुने सुधारले नै देशको सुधार हुने हो । नागरिकहरुले सुधारको अनुभूति गर्ने भनेकै देश सुधारको बाटोमा जान थालेको सकारात्मक लक्षणको रुपमा लिइन्छ । यसर्थ हामी सबै जिम्मेवार बनौं, बोल्नेभन्दा काममा विश्वास गर्ने गरौं । त्यही नै आजको आवश्यकता हो । त्यसका लागि पत्रकारिता क्षेत्रले पनि आफ्नो क्षेत्रमा देखिएका कमी–कमजोरी हटाएर अघि बढ्ने संकल्प गर्नुपर्छ । नेतृत्वदायी भूमिकामा रहेका संस्था र संगठनहरुले गम्भीर भएर जिम्मेवारीबोध गरेमा सहज हुनेछ ।

बेला–बेलामा पत्रकारिता क्षेत्रप्रति जसरी आक्षेप लाग्ने गरेको छ, त्यसमा खण्डन–मण्डन र बहस गर्ने भन्दा पनि कसरी आफूले आफैँलाई सुधार गर्ने भन्नेतर्फ पनि गम्भीरताका साथ सोच्नुपर्छ । हामीले विकृतिको आवाज उठाउँछौं र उठाइरहेका छौं तर कतिपय व्यक्ति विशेषका कारण सिंगो पत्रकारिता क्षेत्रमाथि आक्षेप लगाउने ठाउँ हामीले दिनुहुँदैन । पत्रकारिता क्षेत्रले गर्ने खबरदारीले नै लोकतन्त्र बलियो हुने हो । हिजो जसरी मिडिया लोकतन्त्रका लागि हरेक किसिमले उत्रियो, त्यो अवस्था भोलि पनि आउन सक्छ । त्यसैले पत्रकारिताको विकासका लागि सबैले भूमिका खेल्नुपर्छ । पत्रकार र मिडिया हाउसले पनि सोही अनुसार भूमिका खेल्नुको विकल्प छैन ।

(वरिष्ठ पत्रकार पन्त नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल इन्जा एसियाको अध्यक्ष हुनुहुन्छ ।)