सतीले सरापेको देशमा दायित्वबाट पन्सिने स्वार्थीहरु



अहिले केही व्यक्ति तथा सरकारी ओहदामा रहेकाहरुको गल्तीका कारण मुलुकमा विकास हुन बाधक बनिराखेको छ । त्यसमाथि अर्कोतर्फ हेर्ने हो भने मानिसलाई जसरी भए पनि रकम आर्जन गर्नुपर्ने अनि यसको लागि घूस खाएर, अरुको पैसा पचाएर, ढाँटेर, लुटेर, ठगेर जसरी होस् रकम कमाउनुपरेको छ । यहाँनिर आएर मानिसले यो बिर्सेको हुन्छ कि एकपल्ट पाएको जीवन हो, राम्रो कर्म गरेर बिताउनुपर्दछ र मर्नुपर्दछ । तर समाजमा रहेका व्यक्तिहरुले आफूले राम्रो कर्म नगरी आफ्नो कर्तव्य तथा दायित्व बिर्सिराखेका हुन्छन् । वास्तवमा भन्ने हो भने यी कुराहरुमा सरकारहरुको पनि प्रभाव तथा लापरबाही मान्न सकिन्छ । कारण यदि सरकारहरुले शुरुदेखि नै रामं्रो कार्य गरी देशको तहबह मिलाएर कडा भइदिएको भए हामीले यस्ता दिन देख्नुपर्ने थिएन, जसको असर मुलुकलाई परिराखेको छ ।

यो देशमा सरकार तथा प्रशासनहरुको लापरबाही त छँदै छ, त्यसमाथि मानिसहरुको नकारात्मक सोच, अल्छीपना, दोषारोपण गर्ने तथा खुट्टा तान्ने प्रवृत्तिले गर्दा पनि देश पछि परिराख्नुको कारण मान्न सकिन्छ ।

हाम्रो मुलुकमा यस्ता समूह पनि छन्, जसको काम नै अरुको खुट्टा तान्ने हुन्छ । एक थरीचाहिँ चाकडी मात्र गरेर समय बिताइराखेका हुन्छन् । यिनीहरुको मुख्य काम नै सरकारी कुर्सीवालाहरुलाई खुशी पारेर आफ्नो स्वार्थ पूरा गर्नु हो भन्न सकिन्छ । यिनीहरु आफ्नो स्वार्थका लागि जे गर्न पनि तयार हुन्छन् । अहिले आएर उद्योग व्यवसाय, कृषि व्यवसाय, बैंक तथा वित्तीय संस्थाहरुको हालत खस्किनुमा या त देश चलाउनेहरु वा चम्चा तथा बिचौलियाहरु नै दोषी हुन् ।

आखिरमा आएर यो देशमा के भइराखेको छ ? देश चलाउनेहरु नबदल्ने, सरकारी कुर्सीवालाहरु नबदल्ने, समाज हकहितको लागि लड्न नसक्ने हो भने हामीले सधैँ किन चिच्याइराख्ने र कसको लागि लेखिराख्ने ? एकपल्ट मिडिया र अखबारको कुरा गर्ने हो भने यहाँ भएका व्यक्तिहरु प्रायः बुद्धिजीवी, पढेलेखेका र राम्रा नै जस्तो लाग्छन् । तर यहाँ खाली राजनीतिक लेख, राजनीतिक कुराकानीलाई मात्र महत्व दिइराखेको हुन्छ । जबकि यी संस्थामार्फत जनताका समस्या समाधान सुलभ हुँदै जानुपर्ने होइन र ? भ्रष्टाचारका लागि कडा कानुन बनाउने, अधुरा राजमार्ग पूरा गर्ने, उद्योग व्यवसाय एवं कृषिको उत्थान गर्ने, बैंक तथा वित्तीय संस्थामा तरलताको समाधान गर्ने, मूल्य नियन्त्रण गर्ने आदि कार्यलाई कसरी सुल्झाउने भन्नेमा खोइ ध्यान दिइएको ? यी कुराहरुमा सरकार एवं सम्बन्धित निकायले कडा प्रेसर दिन सक्नुपर्दछ भन्ने हाम्रो भनाइ हो ।

हाम्रो देशमा भ्रष्टाचार मौलाए पनि, जतिसुकै हिंसा र आपराधिक गतिविधि बढिराखे पनि मुलुक चलिराखेको छ । तर यसले गर्दा गलत कार्य गर्नेहरुलाई झन्–झन् हौसला बढिराखेको हुन्छ । यी कुराहरु हाम्रो देशमा दालभात पचाएसरह पची नै राखेको देखिन्छ । यो कस्तो मुलुक हो ? भगवान् जानुन् । यो देशको ठूलो बिडम्बना यहाँ रकमको अभाव देखाउँछन् । सरकारहरु भन्छन्– कर्मचारीलाई तलब खुवाउन समस्या छ, बेरोजगार विद्यार्थीलाई भत्ता दिन गाह्रो छ । अर्कोतिर हाम्रो जस्तो सानो गरिब राष्ट्रमा धेरै अन्तर्राष्ट्रिय एयरपोर्ट, रेलमार्ग, भ्यू–टावर, स्मार्ट सिटी आदिको पनि कुरा गरिराखेका हुन्छन् । आखिर यो मुलुकमा धेरै सेता हात्तीहरु पालेर गर्न खोजेको के हो ? सर्वप्रथम त सर्वसाधारणका समस्याहरु समाधान गर्नुपर्ने होइन र ? बाँकी भयंकर ठूला–ठूला विकासहरु समय अनुसार हुँदै जाने कुरा हो । हामी सधैँ ठूला–ठूला अलपत्रे विकासमा मात्र अल्झिराख्ने हो भने कहीँ हामी पनि सुट लगाएको भिखारीजस्तो देखिने त होइन ? यो भने विचारणीय कुरा छ । सरकारहरुले सधैँ पहिला जनतालाई कसरी सस्तोमा जीवन निर्वाह गराउन सकिन्छ र सेवा, सुविधा, सहुलियत दिन सकिन्छ ? त्यसतिर ध्यान दिने हो । यहाँनिर आएर खरायो र कछुवाको कथाजस्तै हामीलाई अहिले नै कछुवा बन्नु छैन । विदेशीको जस्तो हामीलाई कछुवा बन्नु छैन ।

यहाँनिर आएर मानिसहरुको भनाइ अनुसार यो सतीले सरापेको मुलुकमा प्रत्येक नागरिकले राम्रो कर्म गर्ने हो । यदि राम्रो कम नगर्ने हो भने, थाहा छैन हाम्रो भविष्य र अर्को जन्म नै कस्तो हुने हो ? अन्त्यमा हाम्रो अनुरोध यति मात्र छ कि राम्रा बुद्धिजीवी, लेखक, मिडियाले व्यक्ति र समाजलाई बदल्ने हो । अर्को कुरा प्रधानमन्त्री, मन्त्री, सांसद, सचिव, मेयर आदि एकोहोरो नभई सबैको सरसल्लाहलाई समेटेर अघि बढ्ने हो, देश अवश्य अघि बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्