विमानस्थलबाट ३५ किलो चरेससहित चार जना थाई नागरिक पक्राउ

0
Shares

काठमाडौं।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारी मात्रामा लागूऔषधसहित चार जना थाई नागरिक पक्राउ परेका छन् । थाईलाइन एयरको उडान नं २२१ बाट बैंकक जान लागेका चार जना थाई नागरिक ३५ किलो चरेससहित पक्राउ परेका हुन् ।

विमानस्थल प्रहरी स्रोतका अनुसार शनिबार साँझ उनीहरू ब्यागेज चेकिङ क्षेत्रबाट पक्राउ परेका हुन् । उनीहरूले सुटकेसमा फल्स बटन बनाई लागुऔषध चरेस लुकाइछिपाइ लैजान लागेको विमानस्थल प्रहरी स्रोतले जनाएको छ ।

पक्राउ पर्नेमा परिचार्त पम्पुक, नटनारे त्रिचैया, याउलुक जुब्श्री र नातपोल त्रिचैया रहेका छन्। त्यसमध्ये तीन जना महिला र एक जना पुरुष रहेको प्रहरीले जनाएको छ ।

उनीहरू पर्यटक भिसामा नेपाल आएका थिए। उनीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘अनअराइभल भिसा’ लिएको अध्यागमन कार्यालयले जनाएको छ । थप अनुसन्धानका लागि उनीहरूलाई लागुऔषध नियन्त्रण व्युरो कोटेश्वरमा पठाइएको छ ।