डाक्टर कुट्ने प्रहरी हवल्दार निलम्बित



काठमाडौँ।

नियमित ड्युटी  सकेर घर फर्कने क्रममा सुझबुझ नै नगरी डाक्टरलाई कुटपिट गर्ने प्रहरी हवल्दारलाई निलम्बन गरिएको ।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रवार सदनको सम्बोधन गरी फर्कने समयमा वीर अस्पताल अगाडिको बाटो खाली गरिएको थियो । सोही समयमा ड्युटी सकेर ट्रमा सेन्टरबाट बाहिरिँदै गरेका डा. जनिथ सिंहमाथि सवारीको समयमा सडकमा निस्केको भन्दै ट्रमा सेन्टरका चिकित्सकमाथि कुटपिट गर्ने प्रहरी हवल्दारलाई निलम्बन गरिएको छ ।

डा.सिंहमाथि लाठीचार्ज र कुटपिट गर्ने वरिष्ठ प्रहरी हवल्दार सम्भुजंग गुरुङलाई निलम्बन गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता सिताराम रिजालले जानकारी गराउनुभयो । आवश्यक छानबिन सहित कारबाही गर्नकै लागि निलम्ब गरिको प्रहरी कार्यालयबाट जानकारी गराइयो ।

प्रहरीले फिल्मी शैलीमा पछाडिबाट आई टाउकोमा लाठी बजार्दा गम्भीर घाइते हुनुभएका डा. सिंहलाई हाल ट्रमा सेन्टरको सघन उपचार कक्ष (आइसियु)मा उपचार गराइरहेको ट्रमा सेन्टरले जनाएको छ ।

डा. सिंहमाथि कुटपिट पछि ट्रमा सेन्टरका चिकित्सकहरूले शुक्रवार घटनाको विषयमा छानबिन गरी दोषीउपर कारबाहीको माग राख्दै सडकनै अवरुद्ध गरेका थिए । लाठी चार्ज गर्ने प्रहरीलाई कारबाही गर्ने आश्वासन पछि अवरुद्ध सडक शुक्रवार साँझ खुल्ला गरिएको थियो । चिकित्सकमाथी विना सुझबुझ कुटपिट गरी गम्भीर रुपमा घाइते बनाउने प्रहरीलाई हदसम्म कानुनी कारबाही हुनुपर्ने माग राख्दै नेपाल चिकित्सक सङ्घले २४ घण्टे अल्टिमेटम दिएको थियो ।

साथै सङ्घको शनिवार बसेको केन्द्रीय कार्यकारिणी समितिको आकस्मिक बैठकले माघ २९ गते आइतबार एकदिन देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठान लगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालहरुमा आकस्मिक सेवा बाहेकका अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको विज्ञप्ति मार्फत जानकारी गराईएकोछ ।

प्रतिक्रिया दिनुहोस्