संयुक्त कृति ‘बहत्तर सालको भूकम्प’ विमोचन

0
Shares

काठमाडौँ ।

तारानिधि भट्टराई, निमानन्द रिजाल र किशोर थापाको संयुक्त कृति ‘बहत्तर सालको भूकम्प’ पुस्तक  विमोचन  भएको छ । शनिबार एक कार्यक्रमबीच राष्ट्रिय योजना आयोगका सदस्य तथा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली र वास्तुविज्ञ मोहन मूर्ति पन्तद्वारा संयुक्तरुपमा उक्त पुस्तकको लोकार्पण तथा विमोचन गरिएको हो।

‘यो पुस्तकले हामी र हाम्रो कार्य प्रणालीमा रहेको कमी कमजोरीप्रति पनि आलोचनात्मक दृष्टि राखेको छ,’ विमोचनपछि कार्यक्रम बोल्दै ज्ञवालीले भने, ‘लेखकहरुको लेखकीय र प्राज्ञिक इमानदारितालाई कदर गर्दै पुस्तकले उठाएका प्रश्नहरूलाई सकारात्मक रूपमा लिइनु जरुरी छ।’

कार्यक्रममा बोल्दै प्राध्यापक पन्तले प्रस्तुत पुस्तक हामीकहाँ र विश्वभर नै विगतमा गएका भूकम्पको अनुभवमाथि उभिएको र फेरि उस्तै जोखिम झेल्नुनपरोस भनेर लेखिएको स्पष्ट पारे।

नेपालको भौगर्भिक बनावटको चर्चाबाट सुरु भएको पुस्तकमा भूकम्पका बारेमा विस्तृत परिचय, नेपालको भूकम्पीय इतिहास, ७२ सालको भुईँचालोको वैज्ञानिक विश्लेषण, उद्धार, राहत, क्षति र खोजी कार्य, राष्ट्रिय पुन निर्माण प्राधिकरणको गठन, क्षतिग्रस्त भौतिक संरचनाको पुन निर्माण, जोखिमयुक्त बस्तीको भौगर्भिक अध्ययन, एकीकृत बस्तीको विकास, पुन निर्माणका सामाजिक तथा आर्थिक पक्ष, पुन निर्माणमा समुदायको भूमिका, दातृराष्ट्र र दातृ निकायको भूमिका, पुन निर्माण तथा पुनर्स्थापनाको अन्तर्राष्ट्रिय अनुभव, पुन निर्माणको अनुभव, सिकाइ र अगाडिको बाटो शीर्षकमा बेग्ला बेग्लै परिच्छेदहरूका साथ विस्तारमा व्याख्या गरिएको छ।

समारोहमा लेखकहरुका तर्फबाट बोल्दै तारानिधि भट्टराईले ७२ सालको भूकम्पपछि विज्ञ प्रतिनिधि मण्डलमा रहँदाका अनुभवहरु सुनाएका थिए।
‘हामीमा अनभिज्ञताकै कारण भूकम्पबाट बढी क्षति झेल्नुपरिरहेको छ,’ उनले भने, ‘शिक्षा प्रणालीमै यसप्रति चेतना जगाउने सही सामग्री समावेश नगरिँदा अगाडिको बाटो पनि भयावह नै देखिन्छ।’

यस्तो अवस्थामा त्यो अनभिज्ञता निरन्तर नहोस् भन्ने आत्मानुभूतिले यो पुस्तक तयार पार्न घचघच्याएको लेखक भट्टराई ले स्पष्ट पारे।

‘धेरैपटक महाभूकम्प झेलिसकेको हामीकहाँ फेरि पनि दोहोरिने अवस्था विद्यमान छ,’ पुस्तकका बारे पब्लिकेशन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्के भन्छिन्, ‘यस्तोमा आम रुपमै यसबारे समझदारी विकास होस् भनेर सम्बन्धित विषयका विज्ञहरुको यो संयुक्त दस्ताबेजलाई प्राथमिकताका साथ हामीले प्रकाशन गरेका हौँ।’

चार सय ६ पृष्ठको यस पुस्तकको मूल्य ८ सय ७५ रुपैयाँ राखिएको छ।