बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा सवारी रोकेर स्तरोन्नति गरिने

0
Shares

म्याग्दी।

मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत बेनी–गलेश्वर खण्डमा सवारी रोकेर सडक स्तरोन्नति गरिने भएको छ । बेनी–गलेश्वर खण्ड स्तरोन्नति गर्नका लागि दैनिक साढे छ घण्टा सडक बन्द गर्न लागिएको हो ।

सडकखण्ड स्तरोन्नतिको कामलाई तीव्रता दिन आज (शुक्रवार) जिल्ला प्रशासन कार्यालय म्याग्दीमा बसेको वैठकले बेनी–गलेश्वर खण्डमा यातायात सञ्चालन गर्न र बन्द हुने समयतालिका बनाएको छ । म्याग्दीका प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलको अध्यक्षतामा राजमार्ग–सडक अवरोध हटाउन जिल्ला समन्वय समितिको वैठक बसी आवश्यक निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

प्रजिअ पौडेलको अध्यक्षतामा बेनी नगरपालिकाका प्रमुख सुरत केसी, स्थानीय जनप्रतिनिधि, बेनी–जोमसोम–कोरला सडक योजना, सुरक्षा निकाय, निर्माण कम्पनी, यातायात व्यवसायीलगायत सहभागी वैठकमा दैनिक साढे छ घण्टा बन्द गरी सडक स्तरोन्नतिको काम गरिने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी अर्जुन शर्माले जानकारी दिनुभयो ।

उक्त वैठकको निर्णयअनुसार आउँदो फागुन १ गतेदेखि १५ गतेसम्म दैनिक बिहान ६ बजेदेखि ८, दिउँसो ११: ३० देखि १: ३० र राती ८: ३० देखि ११ बजेसम्म सवारी आवागमन बन्द गरेर सडक स्तरोन्नति हुने सहायक प्रजिअ शर्माले बताउनुभयो । यसैगरी एम्बुलेन्सलगायत अत्यावश्यक सवारीसाधन र साना सवारीलाई बेनीको डल्लेपिपल–राहुवडा हुँदै गलेश्वरसम्म वैकल्पिक मार्गबाट आवतजावतको व्यवस्था मिलाउने समेत निर्णय भएको उहाँले जानकारी दिनुभयो ।

सडक स्तरोन्नतिको काम र यातायात सञ्चालन सँगसँगै हुँदा सम्भावित दुर्घटनाको जोखिम, यात्रुलाई सास्ती र निर्माणकार्य पनि प्रभावित भएपछि समयतालिका बनाइएको हो । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक योजनाले २ किलोमिटर १ सय २ मिटर दुरीको सडक स्तरोन्नति र कालोपत्रे गर्न जय धनञ्जय मंगलादेवी सुवास जेभीसँग १२ करोड ७५ लाख ९४ हजार चारसय २६ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो ।

निर्माण व्यवसायी सुवासचन्द्र कार्कीले सम्झौतापछि अहिले सडक फराकिलो बनाउने, पहाड काट्ने र पर्खाल लगाउने काम भैरहेको बताउनुभयो ।

आगामी दुई वर्षभित्र सडकमा १० मिटरसहित नाली निर्माण गर्ने, भू–क्षय तथा पहिरो नियन्त्रणका लागि पर्खाल लगाउने र खोल्सामा कल्र्भट बनाउने तथा ८ मिटरको सडकमा कालोपत्रे गरिनेछ । अहिले सडक स्तरोन्नतिका लागि दैनिक तीनवटा डोजर तथा ८५ जना मजदुरहरु परिचालन भएका छन् । बेनीदेखि गलेश्वरसम्म ३ किलोमिटर दुरी रहेको यो सडकखण्डले बेनी नगरपालिकाको ६, ८ र ९ नम्बर वडाको भूगोललाई छुने गर्दछ । बेनी–गलेश्वर खण्ड बेनी नगरपालिका हुँदै उत्तरी म्याग्दीको रघुगंगा, अन्नपूर्ण भएर हिमाली जिल्ला मुस्ताङ र प्रसिद्ध मुक्तिनाथ मन्दिरको प्रवेशद्वारको रुपमा रहेको छ ।