व्यवसायी पलायन रोक्न टिपर संघले गर्‍यो नयाँ निर्णय

उपचार खर्च ५५ लाख, बीमाको सुविधा तीन लाख

0
Shares

काभ्रे।

२०७६ सालमा विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल र बागमती टिपर व्यवसायी संघमा आबद्ध टिपर अरनिको राजमार्ग स्थित भक्तपुरको पलाँसेमा ठक्कर खाँदा मोटरसाइकलमा सवार बाबु छोरा घाइते भए । वैवाहिक कार्यक्रमबाट फर्कँदै गरेको उक्त मोटरसाइकलमा रहेका बाबुको नर्भिक अस्पतालमा उपचारका क्रममा ५५ दिन पछि निधन भयो । अस्पतालमा उपचार बापत ५५ लाख रुपैयाँ खर्च भयो । छोराको खुट्टा नभएकाले संघले कृत्रिम खुट्टाको समेत व्यवस्थापन गरेको छ ।

दुर्घटनामा निधन हुँदा ५ लाख र उपचार खर्च ३ लाख उपलब्ध गराउने कानुनी व्यवस्था छ । त्यही बराबरको बीमा हुने गरेको छ । ‘बागमती टिपर व्यवसायी संघले यस अघि व्यवसायीले २० प्रतिशत र संघले ८० प्रतिशत खर्च उपलब्ध गराउँदै आएको थियो’–अध्यक्ष सुरेश खत्रीले भन्नुभयो–‘दुर्घटनामा घाइते भएकाको उपचार गर्न व्यवसायी एक्लैले नसक्ने अवस्था सिर्जना भए पछि समितिको बैठकले २०७९ माघ १९ गते सम्पूर्ण खर्च संघले बेहोर्ने निर्णय गरेको छ ।’ यो निर्णय पोखरामा हुने ११ औ वार्षिक साधारण सभामा प्रस्तावका रुपमा लैजाने निर्णय भएको अध्यक्ष खत्रीले बताउनु भयो ।

संघमा आबद्ध व्यवसायी लालबहादुर माझीका नाममा दर्ता भएको टिपरको ठक्करबाट भएको उक्त दुर्घटना जिल्लाको लागि उदाहरण मात्रै बनेको छैन नेपालको उपचार प्रणालीमा भएको महँगी र स्वास्थ्य उपचारमा भएको खर्च धान्नै नसक्ने अवस्थाको चित्रण गरेको छ । ‘संघले ८० प्रतिशत बेहोर्ने निर्णय नभएको भए ऋण गरेर व्यवसाय गर्ने व्यवसायी एक्लैले कसरी त्यत्रो खर्च बेहोर्न सक्थ्यो ?’–अध्यक्ष खत्रीले भन्नुभयो–‘ब्यवसायीहरुलाई सहज बनाउन र दुर्घटना न्यूनीकरण गरी व्यवसायी र मजदुरहरुको जीवन रक्षाका लागि शतप्रतिशत खर्च बेहोर्ने निर्णय भएको हो ।’ यो निर्णय लागु भइसकेको छ ।

संघका सचिव राजेश खत्रीका अनुसार उक्त व्यवस्थाका लागि चालकले लार्पवाही नगरेको, चालकले परिचय पत्र प्राप्त गरेको, संघको वित्तीय अनुशासन पालना गरेको, बीमा शुल्क नियमित बुझाएको, संघ नीति नियम पालना गरेको व्यवसायीका हकमा उक्त निर्णय कार्यान्वयन हुनेछ । ‘उपचार खर्चसँगै बीमा शुल्क संघले नै बेहोर्ने विषयमा पनि छलफल सुरु भएको छ’–सचिव राजेश खत्रीले भन्नुभयो–‘बीमा शुल्कमा हेरफेर गर्दै संघ मार्फत एकमुष्ट बीमा गर्ने र उपचार खर्चका लागि सहज बनाउने गरी साधारण सभामा प्रस्ताव लैजाने निर्णय गरेका छौँ ।’

अहिले पनि धुलिखेल र बनेपाको शिर मेमोरियल अस्पताल लगायतका अस्पतालमा बिरामीहरू उपचार भइरहेको, फलोअप आउँदा र जाँदा धेरै खर्च हुने गरेको, बिरामीका आफन्तले दुर्घटना भए लगत्तै महँगा अस्पतालमा बिरामी रिफर गर्न दबाब दिने गरेको, अस्प्तालहरुले पनि दुर्घटना परेको भन्ने वित्तिक्कै हेर्ने दृष्टिकोण र खर्च विवरण फरक गर्ने गरेको जस्ता विषयमा संघमा ब्यवसायीहरुले गुनासो सुनाएको सचिव खत्रीले बताउनु भयो । ब्यवसायीहरुको सहजताका लागि टिपर बन्द भएको अवस्थाको मासिक शुल्कमा विशेष छुट गरेको छ । पौष र माघ महिनामा बन्द भएको टिपरका कारण व्यवसायीले संघलाई बुझाउनु पर्ने मासिक शुल्क ३२५० मा २७५० छुट गरी ५ सय मात्रै लिएको कार्यालय प्रमुख प्रकाश कायस्थले जानकारी दिनुभयो ।

सुविधा धेरै, दुर्घटना थोरै

बागमती टिपर व्यवसायी संघले चालक र व्यवसायीका लागि सुविधा धेरै उपलब्ध गराउँदै दुर्घटना कम गराउने उपायको खोजी गरिरहेको छ । पटक पटक प्रशिक्षण, उत्कृष्ट चालक तथा दुर्घटना नगराउने चालकलाई गोला प्रथाद्वारा आकर्षक उपहार सहित सम्मान गरिरहेको छ । राति मात्रै चल्ने गरेका कारण टिपरको पछाडि पट्टि ठोक्किएर दुर्घटना बढ्न थालेकाले प्रशासन तथा ट्राफिक प्रहरीसँगको समन्वयमा संघले रातको समयमा टल्कने स्टिकर टाँस्ने योजना बनाएको अध्यक्ष सुरेश खत्रीले बताउनु भयो । ‘राति टिप थोरै हुने भएकाले धेरै टिप गर्ने योजनाका साथ स्पिड धेरै कुदाउने, निद्रा कमी हुने भएकाले निद्राका कारण तथा अन्य विविध कारण दुर्घटना भइरहेको छ’–अध्यक्ष खत्रीले भन्नुभयो–‘अघिल्लो आर्थिक वर्षको तुलनामा दुर्घटना न्यूनीकरण मात्रै भएको छैन दुर्घटनामा हुने क्षति पनि कम भएको छ ।’ आर्थिक वर्ष २०७८/२०७९ मा १ सय १९ वटा दुर्घटनामा २ जनाले ज्यान गुमाउनु परेको थियो भने २०७९/२०८० को ६ महिनामा ५५ वटा दुर्घटना हुँदा एक जनाले पनि ज्यान गुमाउनु परेको छैन । चालकलाई दिएको प्रशिक्षण तथा दुर्घटना नगराउने चालकलाई गरिएको पुरस्कार तथा विविध कारणबाट संघमा आबद्ध टिपरहरुबाट दुर्घटना कम हुँदै गएको संघको निष्कर्ष रहेको सचिव राजेश खत्रीले बताउनु भयो ।

यस अघि संघले सवारी संचालनका क्रममा दुर्घटना हुँदा चालक अपाङ्ग भएको अवस्थामा २ लाख, मृत्यु भएमा ३ लाख, कालगतिका क्रममा निधन भएमा १ लाख रुपैयाँ उपलब्ध गराउँदै आएको थियो । यो कार्यक्रम नियमित छ । तर चालकले संघको नीति नियम नियमित पालना गरेको हुनु पर्नेछ । त्यस्तै गम्भीर प्रकृतिको रोग लागेको अवस्थामा उपचारका लागि ५० हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ । व्यवसायीका हकमा भने ३ लाख रुपैयाँ कालगतिले मृत्यु हुँदा उपलब्ध हुनेछ भने अपाङ्गता भएमा २ लाख, गम्भीर प्रकृतिको रोग लागेमा उपचार बापत ५० हजार रुपैयाँ पाउनेछ । एकाघरको सदस्यको निधन भएमा सदस्य व्यवसायीले किरिया खर्च बापत २५ हजार रुपैयाँ सहयोग पाउनेछ ।