वास्तविक हीरा



यदि मैले यसो भनूँ– आजको ९० दिनभित्रमा तपाईँका लागि एक ठाउँबाट एउटा निमन्त्रणा आउनेछ । जस अनुरूप एउटा ठूलो हल हुनेछ र त्यस हलमा टेबलहरू राखिएका हुनेछन् । अनि, हरेक टेबलमा हीरा हुनेछ । त्यहाँ राखिएका हीरामध्ये नक्कली वा सक्कली दुवै हुन सक्छ । तपाईँ हलमा जान सक्नुहुन्छ । अर्को कुरा तपाईँले त्यहाँबाट चाहेजति हीरा लैजान पाउनुहुन्छ । तपाईँ लिनुहोस् अनि बाहिर जानुहोस् । तर, त्यहाँ तपाईँले झोला लैजान पाउनुहुन्न अनि तपाईँको कुनै गोजी पनि हुनेछैन । तपाईँले त्यहाँबाट जति सक्नुहुन्छ त्यति लैजानचाहिँ सक्नुहुनेछ तर त्योभन्दा बढी होइन । यस्तो परिस्थितिमा तपाईँ के गर्नुहुन्छ ? एउटा कुरा त त्यो निमन्त्रणा आउने दिनको प्रतीक्षा हुनेछ । दोस्रो कुरा, म त आपूmले सकेसम्म हीराका बारेमा जानकारी लिनेछु किनभने मेरो उद्देश्य त त्यहाँबाट केवल सक्कली हीरा लिने कुरामा नै केन्द्रित हुनेछ । यही नै त गरिन्छ !

तपाईँलाई त्यो निमन्त्रणा आइसकेको छ । तपाईँ रहनुभएको यो पृथ्वी नै एउटा हल हो ! अनि, यहाँ हीरा छ– सक्कली पनि छ अनि नक्कली पनि छ । लिनुहोस्, चिन्नुहुन्छ भने लिनुहोस् । यदि चिन्नुहुन्न भने त तपाईँ पछि पर्नुहुनेछ ! तपाईँ के गर्नुहुन्छ ? एउटा समयमा तपाईँ धूलो हुनुहुन्थ्यो तर अहिले तपाईँ धूलो हुनुहुन्न । यो एकदमै विचारणीय कुरा हो ! यसको एकदिनलाई खेर फाल्नु सबैभन्दा ठूलो पाप हो । आफ्नो समयलाई खेर फाल्नु नै सबैभन्दा ठूलो पाप हो किनभने यो फेरि फर्केर आउँदैन । सन्त–महात्माले के भनेका छन् भने, यो समयलाई दोहो¥याएर प्राप्त गर्न सकिँदैन । यो पटक–पटक पाइँदैन । तर, तपाईँ एक–अर्कासँग लडाइँ गरिरहनुभएको छ । जसलाई माया गर्नुहुन्छ नि उसैसँग सबैभन्दा धेरै झगडा गर्नुहुन्छ । जोसँग प्रेम गर्नुपर्ने हो उसैसँग लडाइँ गरिरहनुभएको छ । जोसँग लडाइँ गर्नुपर्ने हो ऊसँगचाहिँ प्रेम गर्नुहुन्छ । तपाईँमा हीराको पहिचान नै छैन । तर, अहिले निमन्त्रणा आइसकेको छ । तपाईँ हलमा हुनुहुन्छ र तपाईँले हीरा चिन्न सक्नुभएको छैन ।

म यहाँ सक्कली हीरा के हो भन्ने बारेमा चर्चा गर्न आएको छु । यसैलाई भनिन्छ– आनन्द ! परमानन्द ! यसका लागि ज्ञान नै एउटा कसी हो, जसद्वारा सक्कली हीरा कुन हो भनेर जाँच्न सकिन्छ । आफ्ना साथमा ज्ञान भएका व्यक्तिले नै तपाईँलाई त्यो ज्ञानरूपी कसी दिन सक्छ । अनि, उसले भन्नेछ– यसबाट जाँच गर्नुहोस् । यसका माध्यमबाट जाँच गर्नुहोस्, सक्कली र नक्कली कुन हो थाहा हुनेछ । सक्कली चीजलाई तपाईँ आफ्नो हातमा लिनुहोस् अनि नक्कलीलाई त्यहीँ छोडिदिनुहोस् ।

बुझ्नुपर्ने कुरा त के हो भने, तपाईँका लागि यो कति राम्रो अवसर प्राप्त भएको छ ! यो जीवनमा तपाईँले त्यो आनन्द प्राप्त गर्न सक्नुहुन्छ । यो सरल छ, आनन्ददायक छ अनि यसले तपाईँलाई तपाईँभित्र बसेका सृष्टिकर्तासम्म पु¥याउन सक्छ । त्यो तपाईँको स्रोत हो । एकजना त्यस्तो व्यक्तिले यो संसारबाट के भन्दै जान्छ भने– ‘हे सृष्टिकर्ता तिमीलाई लाखौँलाख धन्यवाद !’ अनि, अर्को प्रकृतिको त्यस्तो व्यक्ति पनि हुन्छ जसले के भन्छ भने– ‘मेरो यो काम पनि अधुरै रह्यो । मेरो त्यो काम पनि अधुरै रह्यो ।’

यो श्वासको आउनु–जानु नै ती सृष्टिकर्ताको कृपा हो । यो मानिसको शरीर किन प्राप्त भएको छ ? किनभने, यसबाट तपाईँ भवसागरलाई पार गर्न सक्नुहुन्छ । यदि तपाईँले कहिल्यै नाश नहुने अनि अनन्तसम्म रहिरहने ती सृष्टिकर्तासँग आफ्नो सम्बन्ध गाँस्नुभयो भने त चिन्तै नगर्नुहोस् ! तथापि, त्यो सम्बन्धलाई मायाका साथमा गाँस्नुभएको छ भनेचाहिँ तपाईँलाई दुःख हुनेछ ! ती अनन्तसँग तार जोड्नु आवश्यक छ । यो संसारले तपाईँलाई जुन सुख दिन्छु भनेर बाचा गरेको छ नि, आजसम्म कसैले पनि त्यसलाई प्राप्त गरेको छैन । खालि हात आए अनि खालि हात नै गएका छन् । तपाईँलाई त लाग्न सक्ला– यदि तपाईँसँग धन–सम्पत्ति भयो भने तपाईँले दुःखी हुनुपर्दैन । तथापि, यस्तो हुँदैन । दुःखको न त मुख हुन्छ, न अनुहार नै हुन्छ । दुःख कसैको अनुहार हेरेर हुने कुरा पनि होइन । त्यसले जुनसुकै बेला जसलाई पनि सताउन सक्छ । यो सारा संसारले के कुरामा विश्वास गर्छ भने, साथमा धन भएमा हामीले दुःखी हुनुपर्दैन । तथापि, यो कुरा सत्य होइन ।

तपाईँको जीवनमा आनन्द छ या दुःख छ भन्ने कुरा तपाईँमा नै निर्भर रहन्छ । तपाईँमा त्यो शक्ति छ । तपाईँ बुझ्न सक्नुहुन्छ । आफ्नो जीवनलाई धन्य बनाउनुहोस्, सफल बनाउनुहोस् । यही नै मौका हो । किनभने, फेरि धूलो नै बन्नु छ अनि फेरि तपाईँले यही माटोमा विलय हुनु छ । यो हुनु नै छ । कहिले हुनेछ ? कसैलाई पनि थाहा छैन । यो तपाईँको जीवन हो । आफ्नो खुट्टामा उभिन सिक्नुहोस् ! जुन दिन तपाईँले बैसाखी छोड्नुहुनेछ, जब आफ्नो खुट्टामा उभिन सक्नुहुनेछ, त्यस दिन सारा संसारलाई पालना गर्ने त्यो शक्ति तपाईँको सहाराका लागि उपस्थित हुनेछन् ।

हामीले त्यो परमानन्दको सुखलाई अनुभव नगरेसम्म त्यो परमानन्द, त्यो वास्तविक सुख हामीलाई आवश्यक छ कि छैन भनेर कसरी थाहा हुन्छ !

संसारले त भन्छ– ‘हाम्रा पनि केही आवश्यकता छन् ।’ अनि, हामी सबै तिनै आवश्यकता पूरा गर्न सधैँ केही न केही गरिरहन्छौँ । मानिसका जुन निजी आवश्यकता छन्, तिनलाई पूरा गर्न भने ऊ कहिल्यै पनि चिन्तित हुँदैन । समाजले हामीलाई भनिरहेका आवश्यकतालाई पूरा गर्नमा त मानिस निकै चिन्तित हुन्छन् । मानिसहरू अन्य थुप्रै आवश्यकतालाई पूरा गर्न तल्लिन हुन्छन् । तर, ‘यो मेरो जीवन हो, म जीवित छु, मेरो जीवनमा एक–एक श्वास आइरहेको छ, गइरहेको छ’ भनेर कहिल्यै सोच्दैनन् । एकदिन त यस्तो अवस्था पनि आउँछ, म जीवित रहँदिन । मलाई त्यो दिन कहिले आउँछ थाहा छैन तर एकदिन अवश्य आउँछ भन्नेचाहिँ थाहा छ । मेरा सबै इच्छा त कहिल्यै पनि पूरा हुँदैनन् । तर, जबसम्म म जीवित छु म आफ्नो वास्तविक आवश्यकतालाई त पूरा गर्दै जान सक्छु ! परमानन्दको सुखको अनुभव गर्नु, परम् शान्तिको अनुभव गर्नु नै वास्तविक आवश्यकता हो । यदि सबै चीजको अनुभव गरे पनि त्यो वास्तविक चीजको अनुभव गरेनौँ भने यो संसारमा खालि हात आएका थियौँ र खालि हात नै जानुपर्नेछ । त्यसैले आफ्नो जीवनमा वास्तविक सुखलाई अपनाउनुहोस् ।

जीवनमा हामीले अर्को कदम उठाएर टेक्नुभन्दा पहिला पछिल्लो कदमलाई छोड्नुपर्छ । सफलताको निर्माण हाम्रो अगाडि बढ्ने क्षमता तथा सिक्ने र विकसित हुने योग्यतामा निर्भर गर्दछ । अगाडि बढ्न र आपूmलाई विकसित तुल्याउनका निम्ति हामीले जीवनमा जुन ठीक छ, त्यसलाई ग्रहण गर्नुपर्दछ । स्वीकार गर्नुपर्दछ । जुन अनावश्यक छ, त्यसलाई पछाडि छोडिदिनुपर्छ ।

हामीले जति धेरै कुराहरूलाई यसो गर्दै जान्छौँ, त्यति नै धेरै सफलता प्राप्त हुनेछ । कुनै दिन हामी आफ्ना लागि आपूm नै सबैभन्दा ठूलो शत्रु बन्दछौँ । हामीले आफ्नो एउटा स्वभाव बनाएका छौँ– हामी चीजहरूलाई यथार्थमा भए जसरी स्वीकार गर्दैनौँ । बरु हरेक चीजलाई आफ्नै दृष्टिकोणद्वारा हेर्दछौँ । केही मानिसहरूले मसँग सोध्नुहुन्छ– ‘के जीवनमा सबै कुरा भाग्यबाट तय हुँदैन त ? फेरि यसो हो भने र यदि सबै कुरा पूर्वनिर्धारित नै हुन्छ भने मसँग के उपाय रहला ?’ यदि तपाईँको भाग्यका तास पहिले नै फिटेर बाँडिसकिएको छ भने त तपाईँ निर्णय लिने व्यक्ति त होइन ! म उत्तर दिन्छु, ‘होइन । यी कुराहरू भाग्यबाट तय हुँदैनन् । हाम्रो आफ्नो भ्रम, हाम्रा आफ्ना द्विविधाहरूले नै हामीलाई गलत विकल्पहरूलाई अपनाउनका लागि बाध्य तुल्याउँछन् । हाम्रो धेरैजसो दुःखको कारण पनि यही हो । तर, जब हामी यी विचारलाई छोडिदिन्छौँ– तब हामी ती कुराहरूलाई जस्तो छ त्यही रूपमा देख्न थाल्ने छौँ । त्यसपछि हामीसँग सारा विकल्पहरू हुनेछन् ।

यदि हामीले जागृत हृदयबाट सोचविचार गरेर कुनै बाटोलाई चुन्छौँ भने अँध्यारोमा दियो बालेजस्तै हुन्छ । चाहे एउटा दियो जति नै सानो होओस् तर त्यो बलेपछि त्यसले वास्तविक चीजलाई देखाइदिन्छ । त्यसपछि हामीले देख्न थाल्छौँ । हामीले अँध्यारोमा देख्न नपाएका कुरालाई देख्न थाल्छौँ । सचेत भएर चुन्ने शक्ति तपाईँमा विकसित हुन्छ । त्यो तपाईँको आफ्नो दियो हो, जसले अँध्यारोलाई भगाउँछ ।

यो संसार त समस्याहरूले भरिएको छ तर यहाँ धेरै आनन्द पनि छ । हो, कालो घना बादलहरूको एउटा मोटो तह हुनसक्छ तर त्यसको ठीक माथि चम्किलो सफा–नीलो आकाश अवस्थित छ । सूर्य पनि आफ्नो चम्किलो किरणको साथमा बलिरहेको छ । अब यो प्रश्न उठ्न सक्छ– तपाईँ कहाँनिर रहन चाहनुहुन्छ ? यो कुरा तपाईँको छनोटमा निर्भर रहन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्