असामाजिक बन्दै सामाजिक सञ्जाल

0
Shares

सामाजिक सञ्जाल आम नागरिकको अभिव्यक्तिको अधिकारको सदुपयोगका लागि अपूर्व र चामत्कारिक सिर्जना हो । विज्ञानको यस उपलव्धिले क्रान्तिकारी भूमिका खेलेको छ । त्यसो त मनोरन्जन र सूचना प्रवाहका लागि विकसित देशका सञ्चार वैज्ञानिकहरुले सुरुमा एपका रुपमा फेसबुक, ट्वीटर, टिकटक, इन्ट्राग्राम आदि तयार पारेका हुन् । जुन उद्देश्यले ती एपहरु बनेका थिए, त्यसको विपरीत प्रयोगमा आएको देखेर यसका सर्जकहरु आफै दंग भएको हुनुपर्छ ।

यस्ता सामाजिक सञ्जाल एपहरु सही ढंगले प्रयोग नभएको र विकृति फैलाउन सघाएको गुनासो आज नेपालमा मात्र होइन, विश्वव्यापी समस्याका रुपमा फैलिएको छ । यस्ता एपका प्रयोगकर्ताहरुले यसको सदुपयोग गरेका छन् कि दुरुपयोग अहिले बहसको विषय बनेको छ । विकसित देशमा भन्दा अविकसित देशहरुमा यसको प्रयोगले ल्याएको सामाजिक विचलनले त्यस्ता मुलुकको समाज कता जाँदैछ, यस

विषयमा अध्ययन शुरु भएको पाइन्छ । अधिकांश सामाजिक सञ्जालको प्रयोगको अवस्थालाई हेर्नेहो भने अत्यासलाग्दो अवस्था छ । नेपालको सन्दर्भमा हेर्दा यसले समाज, परिवार र मुलुकमा नै असहिष्णुताको विष फैल्याउनथालेको पाइन्छ । सामाजिक सञ्जालले कतिपयको घर उजाड पारेका छन् भने समाज विखण्डनतर्फ उन्मुख हँुदैगएको छ । नेपालको सामाजिक परिवेशमा ती सञ्जालको प्रयोग कसरी भइरहेको छ भन्ने विषयमा कुनै निकायले खोजीनीति गरेको पाइँदैन ।

यसले नेपाली समाजलाई छाडातन्त्रतर्फ उन्मुख गराउँदै लगेको देखिन्छ । यसको सदुपयोगभन्दा दुरुपयोग बढी भएको पो हो कि जस्तो लाग्छ । तर, यस विषयमा राज्यका संयन्त्रहरु मुकदर्शक बन्नेगरेका छन् । सामाजिक सञ्जालमा प्रयोग भएको शब्द त्यस्ता सञ्जालमा प्रविष्ट गरिएको सन्देशलाई हर्नेहो भने परिवारसँंगै बसेर हेर्नसक्ने अवस्था पनि छैन ।

सामाजिक सञ्जालमा त्यस प्रकारका सन्देशहरु प्रविष्ट गर्नेहरुले मैले एउटा गल्ती गर्दा समाजमा त्यसको असर कस्तो पर्छ र समाजले हेर्ने दृष्टिकोण कस्तो हुन्छ भन्ने विषयमा सोचेको पाइँदैन । विश्वका विकसित मुलुकहरुले सामाजिक सञ्जालको दुरुपयोग हुनथालेपछि त्यसको नियमन गर्दै जनतालाई सचेत गराएको भएपनि नेपाल लगायतका अविकसित मुलुकमा भने सञ्जालको प्रयोगलाई नियमन गरेको पाइँदैन । आज कुनै मानिसलाई कसैसित रिस उठ्यो भने रिस पोख्ने भाँडो नै सामाजिक सञ्जाल भएको पाइन्छ ।

सामाजिक सञ्जालमा देखिएको छाडातन्त्रलाई समयमा नै नियमन नगर्ने हो भने नेपाली समाजले ठूलो दुर्गति भोग्नुपर्ने अवस्था सिर्जना हुने विज्ञहरुको धारणाप्रति सरकारको ध्यान जानु आवश्यक देखिन्छ । सामाजिक सञ्जालको प्रयोगमा आएको उछृंखलतालाई नरोक्ने हो भने यसमा समाजमा पार्ने असर र त्यसले उत्पन्न गर्ने विकृतिले मुलुकलाई कता लैजाला यो अनुमान लगाउन सकिन्न ।

सबै कुरा बिग्रिएपछि पछुताउनुभन्दा अघि नै यस्ता खालका विकृतिलाई रोक्न राज्य निर्मम बन्नैपर्दछ । मिलेर बसेको नेपाली समाजलाई खलल पार्ने अधिकार कुनै पनि व्यक्ति वा समूहलाई छैन । अश्लील शब्दको भरमार प्रयोग, बालबालिका र महिलालाई यौन–वस्तुका रुपमा सम्पे्रषण, आधारहीन मानर्दन र आक्रोश नेपाली सभ्य समाजका लागि कसरी पाच्य हुनसक्छ ? यसको अर्थ आम नागरिकको अभिव्यक्तिको यस साधनलाई रोक्नुपर्छ भन्ने होइन, त्यसो गर्नुहुन्न, तर नियमन भने गर्नैपर्दछ ।