औपनिवेशिक शक्तिको त्रास

0
Shares

अर्थतन्त्रमा देखिएको संकटसँगै राजनीतिमा पनि अस्थिरता थपिएको छ । आर्थिक रुपमा जर्जर बन्दै गएको मुलुकमा राजनीतिक अस्थिरताले प्रश्रय पाउन थालेपछि अब मुलुक कता जाला भन्ने चिन्ता बढाएको छ । उद्योग–कलकारखाना बढ्दो ऋणका कारण धराशयी बन्दैगएका छन् भने विदेशी लगानी नेपालमा आउने वातावरण पनि क्षीण बन्दैगएको छ । कर्जा प्रवाह गर्ने वित्तीय संस्थाले महिना–महिनामा व्याजदर बढाउँदै लैजाने प्रवत्तिले ऋण लिएकाहरु प्ला–कार्ड बोकेर सडमा उत्रन थालेका छन् । तर सरकार भने संकटमा परेका जनतालाई मोचन गर्नेतर्फ अग्रसर भएको पाइँदैन ।

सत्ताको फोहोरी खेलमा चुर्लुम्म डुबेको सरकारले सुशासनतिर ध्यान दिने अपेक्षा गर्नु पनि बेकार भएको छ । मुलुक बनाउने होइन, राष्ट्रपति बनाउने विषयमा राजनीतिक दलहरुको ध्यान केन्द्रित छ । कहिले सभामुख हुन नपाएकोमा चिन्ता देखिन्छ भने कहिले गृहमन्त्री नपाएका कारण सत्ताबाट आक्रोशका साथ बाहिर निस्केका दृश्यहरु हेर्नुपर्छ । मुलुकको पछिल्लो आर्थिक र राजनीतिक अवस्थालाई हेर्नेहो भने प्रसन्नताको कुनै ठाउँ देखिन्न । मुलुकमा राणा र पञ्चायत कालभन्दा पनि बढी असन्तुष्टि बढेको छ । टुक्रा–टुक्रामा विभाजित समूहलाई जोडेर बनेको सरकारबाट बाहिरिने क्रम शुरु भएको छ । सरकार अस्थिरतातर्फ अग्रसर हँुंदै जांँदा मुलुकका हरेक क्षेत्र त्यसबाट प्रभावित हुनु स्वाभाविक भएको छ । यसले देशको अर्थतन्त्रलाई समेत प्रभावित पार्दा पनि सरकार भने सत्ता टिकाउने दाउमा सीमित देखिन्छ । मुलुकको समग्र्र विकास–निर्माणका काम प्रभावित हुंँदा पनि छायाँं सरकार भनिएको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस भने सत्ता प्राप्तिको फोहोरी खेलमा सामेल हँुंदा अवस्था नाजुक बन्दै गएको छ । मुलुक निर्माणतर्फ ठूला भनिएका दलको ध्यान जान नसक्दा विकास खर्चको अवस्था चिन्ताजनक छ । आर्थिक वर्षको ७ महिना बित्नलाग्दा विकास खर्च भने १६ प्रतिशतको हाराहारीमा सीमित रहनुले मुलुकको विकास कुन गतिमा भइरहेको छ भन्ने छर्लंग हुन्छ ।

संघीय लोकतन्त्रजस्तो परिस्कृत व्यवस्थाले पनि मुलुकलाई विकृति र विसंगतिबाट जोगाउन सकेन । बेथितिबाट पार पाउने उपाय खोज्न कोही तयार भएको देखिंदैन । एकले अर्कालाई दोष लगाएर उम्कने प्रवृत्ति हावी हँुदैगएकाले देश कुन दिशातर्फ अघि बढ्दैछ भन्ने कुरा आँंकलन गर्नसक्ने अवस्था छैन । जबसम्म मुलुकको मूल नीतिको रुपमा रहेको राजनीति स्थिर हुदैन तबसम्म मुलुक अघिबढ्न सक्दैन भन्ने मूलमन्त्रलाई दलहरुले आत्मसात् गर्नु पर्ने देखिन्छ । अस्थिर राजनीति कायम भएसम्म मुलुकले कोल्टे फेर्न नसक्ने भएकाले दलहरुले यसतर्फ ध्यान दिन जरुरी छ । एकले अर्कालाई हिलो छ्याप्नुअघि आफ्नो अनुहार कस्तो छ भनेर दलका नेताले हेर्नुपर्छ । चौतर्फी घेराबन्दीमा परेको मुलुकलाई माथि उठाउने हो भने सबैले आफ्नो तर्फबाट योगदान गर्न जरुरी हुन्छ । हरेक राजनीतिक व्यवस्था र प्रत्येक राजनीतिक दल तथा नेताहरु असफल हुँदै गएका कारण जनता थकित र दिक्क छन् । नागरिकमा विकल्परहित मानसिकताको विकास भएको छ । विदेशी औपनिवेशिक शक्ति यस्तै अवस्थाको ताकमा रहेका हुन्छन् । सबैले बेलैमा बुझौं !