बजेट अभावले भ्यूटावर अलपत्र 

0
Shares

भद्रपुर । 

झापाको मेचीनगरस्थित काँकडभिट्टामा निर्माणाधीन भ्यूटावर बजेटको अभावले अलपत्र परेको छ । भ्यूटावर निर्माण स्थलबाट सीमावर्ती दशगजा करिब ५ सय मिटर पुर्व पर्छ । भ्यूटावर बनेपछि नेपाल,भारत, बङ्गालादेश र भुटानसम्मका पर्यटकका लागि आकर्षणको गन्तव्य बन्ने अनुमान गरिएर निर्माण सुरु गरेपनि बजेट अभावले निर्माण कार्य अलपत्र परेको हो ।

प्रदेश १ को ७० र मेचीनगर नगरपालिकाको ३० प्रतिशत लागतमा करिब ५ करोडमा बन्ने सम्झौता गरेको कन्काई इन्टरनेशनल बिल्र्डसले भूत्तानी नपाएपछि १० प्रतिशत काम गरेर छोडेको छ । सम्झौता अनुसारको रकम नपाएपछि पिलरको रड ठड्याएर बेवारिसे अवस्थामा ठेकेदारले छाडेका छन् । तीन वर्षमा टावरको सामान्य जग मात्र उठेको छ ।

करिब ५ सय उचाइमा रहेको भू–भाग स्थानीय विश्वनाथ शिवालय मन्दिरको परिसरमा १ सय २० फुट उचाइको १० तले भ्यूटावरबाट नेपाल—भारत सीमावर्ती भू–भागका विभिन्न स्थानको समेत दृष्य अवलोकन गर्न सकिने छ ।

नेपाल—भारतको नेपाली सीमावर्ती सहरमा भ्यूटावर बन्ने भएपछि आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकको आकर्षणले यहाँको व्यावसायिक प्रर्बद्धनमा ठूलो टेवा पुग्ने देखिएको छ । झापा जिल्ला ट्राभल्स सङ्घका अध्यक्ष नीरबहादुर कार्की(नेत्र)ले  ३ वर्ष बित्न लाग्दा पनि टावर बन्न नसकेकोमा दु:खद् भएको बताउनुभयो । उत्तरमा कन्चनजगा हिमाल,पूर्वमा भारतको पानीटंकी तथा नक्सालबारी, पश्चिम हरियाली दक्षिणमा चन्द्रगढी एयरपोर्ट जस्ता दृश्यले आन्तरिक पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने भएपनि टावर अलपत्रका कारण पर्यटन क्षेत्रमा ठूलो क्षति पुगेको उहाँको भनाइ छ । नगरले यसको निकास चाँडो निकाल्नु पर्ने उहाँको माग छ ।

भ्यूटावर निर्माणका लागी निवर्तमान प्रदेश सांसद श्रीप्रसाद मैनालीको कार्यकालमा बजेट विनियोजनमा परेको बजेट तत्काल प्रदेश सरकारले निकासा गर्नुपर्ने मैनालीको भनाई छ ।

प्रदेश सरकारले अहिलेसम्म बजेटको रकम दिएको छैन । मेचीनगर नगरपालिकाले उक्त भ्यूटावरको ठेक्का लगाएको थियो, तर कागजातमा यसको निरन्तर कसले दिने भन्नेमा आधिकारिकता देखिँदैन, मेचीनगर नगरप्रमुखले बजेटको सुनिश्चितता नभई कसरी ठेक्का लाग्यो भन्ने विषय बुझ्दै गरेको बताउँनुहुन्छु ।

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारको पालामा देशको विभिन्न स्थानमा भ्यूटावर निमाणर्का लागि राज्य कोषबाट ठूलो रकम छुट्याएपछि चौतर्फी आलोचना भएको थियो । यो योजनासँगै धेरै भ्यूटावर पनि अलपत्र परेका छन् । ठेकदार कम्पनीले ४८ लाख पेस्की रकम लिएको छ । तीन वर्षअघि निकै तामझामका साथ शिलान्यास गरे पनि अझै सम्म बन्न सकेको छैन ।