नाटकमा माउजङ बाबुसाहेबको कोट राणा शासनलाई प्रजातन्त्रले दिएको चोट

0
Shares

जधानीको रातोपुलस्थित शैली थियटरमा मञ्चन भइरहेको छ नाटक माउजङ बाबुसाहेबको कोट ।

नाटकको नामजस्तै सुरुमा मञ्चमा एउटा लामो ओभरकोट झुण्डिएको छ । जसलाई टकट्क्याउँदा धूलैधूलो उड्छ । कोट र माउजङ बाबुसाहेबको कथा उस्तै उस्तै छ । उनीहरू एक–अर्काको प्रतीकको रूपमा देखिन्छन् ।

कोटको विशेषताबारे गीति प्रस्तुतिसँगै देखिएको कोट र माउजङ बाबुसाहेबको चरित्रबारे सूत्रधारको रूपमा दिवाकर घिमिरेको रंगमञ्चमा प्रवेश हुन्छ ‘राणा कालमा थिए, उनी एउटा कुलिन पात्र, भित्र हेर्दा कस्ता कस्ता बाहिर क्रोधित चरित्र’ भन्ने संवादसँगै । जसले केही हदसम्म माउजङको चरित्र बुभ्mन दर्शकलाई मद्दत गर्छ र नाटकप्रति थप कौतुहलता बढाउँछ । शैली थिएटरमा गत माघ ९ गतेदेखि मञ्चन भइरहेको कथाकार भवानी भिक्षुद्वारा लिखित कथा माउजङ बाबुसाहेबको कोटमा आधारित नाटक २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको उदयसँगै घरानियाँ राणा शासकको मनोविज्ञानमा आधारित छ ।

नाटकमा उच्चवर्गका भनिएका मानिसमा गिर्दो आर्थिक स्थितिबाट सिर्जित मानसिकता र त्यसबीचका यावत् द्वन्द्वलाई उतारिएको छ । नेपालगञ्जका विर्तावाला घरानीयाँ राणा माउजङले लगाउने मास रङको ओभरकोट उनलाई पकज अर्थात् पश्चिम कमान्डिङ जर्नेलबाट बक्सिसस्वरूप प्राप्त भएको थियो । जर्नेलबाट प्राप्त उक्त कोट बाबुसाहेबले सार्वजनिक कार्यक्रममा लगाउने गर्थे । बाबुसाहेबमा थप अहम र घमण्ड थपिदिएको उक्त कोट लगाएर हिँड्दा मानिसहरू त्रसित हुने गर्थे ।

सर्वसाधारणमा त्यो कोट आतंकको प्रतीक थियो । उनी भने त्यो कोट लगाउँदा प्रतिष्ठा बढेको ठान्थे । तर, अब जमाना बदलियो, राजनीतिक व्यवस्थामा आएको परिवर्तनसँगै मानिसले उनीप्रति गर्ने मान सम्मान र त्यो कोटको महिमा घटेको छ । ऊ बेलाको जस्तो विलासी जीवन, राजसी शैली, इज्जत अब लगभग स्मरणमा मात्र बाँकी छ ह्यांगरमा झुण्डिरहेको उक्त पुरानो धूलो र मैलोले विरूप भएको कोट जस्तै ।

तर बाबुसाहेब भने आफ्नो कोट पुरानो भएको मान्न तयार छैनन् । उनमा आफ्नो पुरानो पद प्रतिष्ठा र एकतन्त्रीय शासनको दम्भ बाँकी नै छ । उनी आफ्नो भ्रम हटाउनभन्दा पनि त्यो पुरानो भएको कोटलाई कसरी आकर्षक बनाउने भन्ने ध्याउन्नमा लाग्छन् । नयाँ निर्वाचित गृहमन्त्रीको देश दौडाहका क्रार्यक्रममा बडा हाकिमबाट निमन्त्रणा पाएका बाबुसाहेब सोही कोट लगाएर सहभागी हुने योजना बनाउँछन् । तर, कोटमा ठाउँ–ठाउँमा मुजा परेको र मैलिएका कारण मानिसहरूले आफूलाई गिज्याउने पो हुन् कि भन्ने हीनताभाव उनमा देखिन्छ । राणा शासनका पक्षपाती उनी राजनीतिक परिवर्तनसँगै अब के कसो हुने हो, जनताले आफ्ना कुरा मान्छन् कि मान्दैनन् भन्ने भाव आइरहन्छ । उनलाई नयाँ शासन व्यवस्था र परिवर्तित मानिसको स्वभावप्रति रिस पनि उठिरहेको छ । कोट पुरानो भैसक्यो भन्ने मान्न तयार नभएका उनले मानिसले आफ्नो कोटलाई उपहास गरेको र गिज्याएको अनुभूति गरिरहेका हुन्छन् । तर, कोट लगाउँदाको त्यो रवाफ समयसँगै उपहासमा बदलिएको उनले पत्तो पाउन सक्दैनन्। पुराना व्यवस्थाका उनी नयाँ गृहमन्त्रीलाई भेट्दा लगाउनका लागि कोटमा स्त्री लगाउन टेलरमा जान्छन् । कोटको ड्राईवास र रफू भर्न आफंै लखनउसम्म पुग्छन् । पुरानो कोटका लागि महंगो रकम खर्चिएको उनका लागि दश ओटा नयाँ कोटभन्दा बढी महत्वपूर्ण पुरानै कोट लाग्छ । जुन बेलायत र हिन्दुस्तानमा समेत थिएन । अर्थात् तत्कालीन समयमा बेलायतमा राजाको शासन व्यवस्था हटिसकेको थियो भने भारतमा पनि राजा महाराजाको महइभ्व थिएन । बडो हिफाजतका साथ मर्मत गरिएको उक्त कोट लगाएपछि भने बाबुसाहेबको उदण्ड स्वभावमा परिवर्तन आएको देखिन्छ ।

गृहमन्त्रीको जलपानमा सहभागीभएसँगै उनी नयाँ व्यवस्थाप्रतिको सोचमा केही परिवर्तन आउँछ । सो कोट लगाएर जाँदा स्थानीयले कोटबारे कानेखुसी गरेको उनले नसुनेका होइनन्, तर उनी त्यसलाई बेवास्ता गर्न बाध्य हुन्छन् । सोही बेला एक स्थानीय राजनीतिज्ञले उनको हात समाउँदै कुरा गर्छन् । त्यसको केही समयपछि उनले आफ्नो कोट च्यातिएको देख्छन्। कोट च्यातिएसँगै निराश भएका उनी अन्ततः आफ्नो दिन सकिएको स्विकार्न तयार हुन्छन् । उनमा राजनीतिक व्यवस्थासँगै समय सापेक्ष परिवर्तन देखिन्छ । प्रजातन्त्रको उदयपछि हाँसी मात्र रहने बडाहाकिम तथा सहायक कर्मचारीको चरित्रले राणा शासनमा मानिसको व्यक्तिगत स्वतन्त्रतामाथि कतिसम्म रोक लगाइएको थियो भन्ने विषयमा व्यंग्य प्रहार गरेको छ । नाटकका निर्देशक तथा परिकल्पनाकार विवेक न्यौपाने घने कलाकारलाई कथाको पात्रअनुसार ढाल्न सफल देखिन्छन् ।

माउजङ बाबुसहेबको चरित्रमा देखिएका सरोज अर्यालको अभिनय खारिएको छ । उनको सहयोगीका रूपमा अभिनय गरेका सन्तोष थापाको अभिनय प्रशंसनीय छ । रानीसाहेबको भूमिकामा रीता थापा, सुसारे सानू पाण्डेय, बडाहाकिम प्रनेश गौतम, मन्त्री सबिन लुइँटेल र सहायक कर्मचारी वीरेन्द्र सिंह कुसुवाहाको अभिनय दमदार लाग्छ । करिब सवा एक घण्टा लामो नाटकले पात्रको हाउभाउ, प्रस्तुति, भाषा, भेषभूषा, परिवेश आदिका कारण दर्शकलाई तत्कालीन समयलाई नियाल्ने मौका प्रदान गर्छ । सुचित्रा उप्रेतीको मञ्च परिकल्पनाले नाटकमा आउने समय परिस्थिति तथा घटनालाई स्पष्ट दृश्य प्रदान गरेको छ । सविन न्यौपानेको लेखन रहेको नाटकको अर्को सशक्त पक्ष भनेको यसको गीत संगीत हो । शुक्रराज मगर र अनिल गुरुङको गायन तथा संगीत रहेको गीतले कथालाई गति प्रदान गरेको छ ।

नाटकको नेपथ्यमा कृशला भट्टराईको श्रृंगार, निशा गिरीको भेषभूषा, भरत महरको मञ्च तथा नाट्य सामग्री, रविन दोङ र रूपक काफ्लेको प्रकाश परिकल्पना तथा व्यवस्थापन, नरोत्तम पाण्डेको ग्राफिक्स तथा फोटोग्राफी, देवेन्द्र पाण्डेको आवरण चित्र रहेको छ । नाटक भोलि बुधबारसम्म मञ्चन हुनेछ ।