१० महिनामा ‘मेरो कित्ता’ का २८ सेवाग्राही 

0
Shares

काभ्रे ।

तत्कालिन केपी ओली नेतृत्वको सरकारले नागरिकहरुका लागि सरल र सहज सेवा उपलब्ध गराउने उद्देश्यले नापी कार्यालयले प्रदान गर्ने सेवाहरुलाई डिजिटल प्रविधिमा लैजाने गरी सुरु गरेको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन भएको छ । २०७८ चैत्र २२ गतेबाट काभ्रेपलाञ्चोक जिल्लाको नापी कार्यालयमा सुरु भएको उक्त कार्यक्रममा २०७९ माघ २२ गतेसम्म २८ जनाले मात्रै सेवा लिएका छन् ।

‘इलेक्ट्रिोनिक्स माध्यमबाट घरमै बसेर आफ्नो जग्गाको कित्ताको नक्सा लिन सकिने सहज र सरल व्यवस्था हो मेरो कित्ता कार्यक्रम’–नापी कार्यालय काभ्रेका प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहले भन्नुभयो–‘मेरो कित्ताका बारेमा नागरिकहरुलाई बुझाउन जरुरी छ । नागरिकहरुले मेरो कित्ताको सेवा प्रयोगमा ल्याउनु भयो भने खर्च र समय मात्रै होइन लाइन बस्नु पर्ने झन्झटिलो अवस्थाबाट समेत सेवाग्राहीहरू मुक्त हुनुहुनेछ ।’ कार्यालय प्रमुख समेत रहेका रामविनय कुमार सिंहले मेरो कित्ताका बारेमा केही सेवाग्राहीहरूले टेलिफोन मार्फत जानकारी लिने गर्नु भएको भए पनि धेरै सेवाग्राही अनभिज्ञ रहेको जानकारी दिनुभयो । नापी कार्यालय काभ्रेमा १० महिनाको अवधिमा मेरो कित्ताको सेवा थोरै सेवाग्राहीले लिएका छन् ।

महाभारत गाउँपालिकाका रामबहादुर स्याङ्गतान नापी कार्यालयमा नक्सा लिन आउनु भएको दुई दिन भयो । अघिल्लो दिन गाउँबाट सदरमुकाम धुलिखेल आउँदा कार्यालय समय सकिएकाले उहाँ भोलिपल्ट मात्रै कार्यालय पुग्नु भयो । सोही दिन उहाँले १ सय १० रुपैयाँ तिरेर नक्सा लिनु भयो । महाभारतबाट धुलिखेलसम्म आउँदा, जाँदा र बस्दा कम्तीमा ३ हजार खर्च भएको छ । उहाँले घरबाटै मेरो कित्ता मार्फत नक्सा लिनु भएको भए ३ हजार बचत हुने थियो । सरकारले मेरो कित्ता कार्यक्रममा एक एमवी बराबरको जग्गाधनी पुर्जा र नागरिकता लोड गरेर फाराम भरेर आईपिएस मार्फत १ सय रुपैयाँ राजश्व र १० रुपैयाँ टिकट बापतको रकम तिरे पछि नापी कार्यालयले दुई दिन भित्र सम्बन्धित व्यक्तिलाई नक्सा उपलब्ध गराउनेछ ।

प्रति नक्सा १ सय १० रुपैयाँ पर्ने गरेको छ । यो सेवा अत्यन्तै सरल, सहज र झन्झट मुक्त हुनेछ । यति सहज सेवा हुँदा हुँदै पनि नागरिकहरु अनलाइन सेवा छाडेर लाइन बसिरहेका छन् । मेरो कित्ता अनलाइन सेवाका फोकल पर्सन नापी अधिकृत सुरेश मानन्धरले यो कार्यक्रम प्रभावकारी भएकाले नागरिकहरुलाई बुझाउन जरुरी रहेको बताउनु भयो । दैनिक १ सय भन्दा धेरै सेवाग्राहीहरु लाइन बसेर कार्यालयबाट सेवा लिइरहेका छन् । ‘नागरिकहरुको भिड कम गराउन र सेवा सहज तथा सरलीकृत गर्न अनलाइन सेवा प्रभावकारी गराउनु आवश्यक छ’–प्रमुख नापी अधिकृत रामविनय कुमार सिंहले भन्नुभयो–‘हामी सहज र गुणस्तरीय सेवाका लागि तत्पर र क्रियाशील छौँ ।’