सल्यानमा रेबिज महामारी फैलिएपछि प्रदेश सरकारले पठायो औषधी र भ्याक्सिन



smart

सल्यान।

सल्यानमा घर पालुवा पशु चौपायामा रेबिज रोगको महामारी फैलिन थालेपछि कर्णाली प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले औषधी र भ्याक्सिन पठाएको छ । केही दिन पहिले जिल्लाको बन्गाड कुपिण्डे नगरपालिका, बागचौर नगरपालिका र शारदा नगरपालिकामा पशु चौपायामा अज्ञात रोगको महामारी देखिएको र यसको भयावह हुने अवस्था सृजना भएको खबर पाएपछि प्रदेश सरकारले औषधी र भ्याक्सिन पठाएको हो ।

कर्णाली प्रदेश सरकारको भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्री भीम प्रकाश शर्माले औषधी लिएर बनगाड कुपिन्डे नगरपालिकाको पशु सेवा शाखालाई ३ सय र बागचौर नगरपालिकाको पशु सेवा शाखालाई ३  सय डोज भ्याक्सिन र औषधी हस्तान्तरण गर्नुभएको छ ।

केही दिन पहिले स्थानीयले पालेका पशु चौपाया र छाडा पशु चौपाया अज्ञात रोगले मर्न थालेपछि पशु अस्पताल तथा पशु सेवा कार्यालयले नमुना संकलन गरी पशुपक्षी अन्वेषण प्रयोगशाला वीरेन्द्रनगर सुर्खेतमा पठाएको थियो । कार्यालयले जिल्लाको तिन पालिकामा रेबिज रोगको अवस्था भयावह देखिन थालेको र स्थानीय तहहरुमा औषधि र भ्याक्सिनको अभाव भएको खबर गरेपछि समस्या समाधानको लागि तत्काल औषधीसहित पुगेका उहाँले बताउनु भयो ।

शारदा नगरपालिकाको पशु सेवा शाखामा भने औषधिको अभाव नभएको खबर प्राप्त भएको र उपलब्ध भ्याक्सिन र औषधि बाट उपचार भइरहेको छ । समस्या भएको अन्य स्थानिका लागि पनि तत्काल उपचारको व्यवस्था गरिने मन्त्री शर्माले बताउनु भयो ।

एक हप्ता पहिले फैलिएको अज्ञात रोगले जिल्लाको बनगाड कुपिण्डे नगरपालिका क्षेत्रमा ५ छाडा गाई र दुई कुकुर मरेका थिए भने बागचौर नगरपालिका क्षेत्रमा पशु चौपाया बिरामी परेका थिए ।   बिरामी गाईको लक्षणबाट कुन रोग हो भनेर किटान गर्न समस्या भएपछि पशु अस्पताल तथा पशु कार्यालय सल्यान र बनगाड कुपिण्डे नगरपालिको समन्वयमा नमुना संकलन गरी सुर्खेत पठाइएको बन्गाड कुपिण्डे नगरपालिकाका पशु शाखा प्रमुख विना राम रावतले बताउनु भयो ।

रोग फैलिए पनि औषधी आभाव भएकाले प्रदेशमा माग गरिएको उहाँले बताउनु भयो । बागचौर नगरपालिका क्षेत्रमा भने बौलाहा कुकुरले टोकेर पशु बस्तु बिरामी भएपछि रेबिज भ्याक्सिन माग गरिएको पशुशाखा प्रमुख टेक बहादुर बस्नेतले बताउनु भयो । उहाँका अनुसार बिरामी पशुको नमुना संकलन गरी प्रदेश प्रयोगशालामा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्