काठमाडौंको एउटा स्कुलले कपाल लामो पारेर आएको भन्दै स्कुलमै एकजना विद्यार्थीको कपाल काटिदिएछ । सजायस्वरुप स्कुलमै साथीहरुका अगाडि कपाल काटिदिएपछि उसले अपमान बोध ग-यो । त्यसपछि ऊ स्कुल नै जान छाड्यो । यो एक वर्षअघि भएको एकजना नर्सको छोरासँग सम्बन्धित घटना हो ।
बाल–मनोचिकित्सकलगायत परिवारका सदस्यको लगातारको काउन्सिलिङ पश्चात् ६ महिनापछि बल्ल सो बच्चा स्कुल जान थाल्यो । अहिले बच्चा स्कुल जान थालेकाले समस्या समाधान भएको देखिए पनि त्यो घटनाले बच्चालाई दीर्घकालसम्म असर गरिरहने बाल–मनोचिकित्सकको भनाइ छ । स्कुल जाने उमेरका बालबालिकामा विविध कारणले मानसिक रोगको समस्या देखिने गरेको छ र अहिले यसको संख्या बढ्दै पनि छ ।
‘बालबालिकामा मानसिक समस्या देखिनुको एउटा प्रमुख कारण स्कुलको प्रतिकूल वातावरण जिम्मेवार रहेको छ भने आफ्नै घरको वातावरण पनि बालबालिकाको मानसिक रोगको एउटा प्रमुख कारण बनिरहेको’ कान्तिबाल–अस्पतालका वरिष्ठ बाल–मानसिक रोग विशेषज्ञ डा. अरुणराज कुँवरको भनाइ छ ।
यी र यस्तै कारणले गर्दा नेपालका करिब ३० लाखभन्दा बढी बालबालिका कुनै न कुनै प्रकारको मानसिक रोगको सिकार भइरहेका छन्, तर रोग पहिचान गर्ने र उपचार गर्ने संयन्त्र भने ज्यादै कमजोर अवस्थामा रहेका छन् । अन्तर्राष्ट्रिय अध्ययनहरु अनुसार १० देखि १५ प्रतिशत बालबालिकामा कुनै न कुनै किसिमको मानसिक समस्या हुन्छ भनेर देखाइएको छ ।
बाल–मानसिक रोगका सम्बन्धमा नेपालमा कार्यरत चिकित्सकहरुले गरेको अध्ययनमा १५ देखि १८ प्रतिशत बालबालिकामा भावनात्मक एवं बानी–व्यहोरासम्बन्धी समस्या भएको हुन्छ भन्ने निष्कर्ष निकालिएको छ । यो अध्ययन १० जिल्लाका ४४ सय बालबालिकामा गरिएको थियो ।
बाल–मानसिक रोग विशेषज्ञ डा. अरुणराज कुँवर यो अध्ययनबाट पाइएका तथ्यहरुको आधारमा भन्नुपर्दा बाल-मानसिक रोगको समस्या नेपालमा पनि निकै गम्भीर भएकोले यसका लागि प्रभावकारी बाल-मानसिक स्वास्थ्य सेवाको आवश्यकता पर्ने बताउनुहुन्छ । उहाँका अनुसार यो समस्या हेर्दा केही नै होइन जस्तो लाग्न सक्छ, तर यो गम्भीर विषय हो ।
बालबालिकाको मानसिक स्वास्थ्य समस्याका बारेमा नेपालमा भर्खरै मात्र अनुसन्धान र छुट्टै उपचार सेवाको शुरुवात हुन थालेकोले समस्याको पूर्ण पहिचान अझै भइसकेको छैन । यसलाई बुझ्दै जाँदा जटिल समस्याहरु देखिँदै आउने छन् । हाल समस्या कस्तो अवस्थामा छ भन्ने कुरा केही हदसम्म मात्र थाहा पाइएको छ ।
रोग र रोग पहिचान दुवै वृद्धि
अहिले आधुनिकता एवं शहरीकरणको कारण बाल–मानसिक रोग वृद्धि भइरहेको भन्ने कुरा बारम्बार उठ्ने गरेको छ । के वास्तवमा वृद्धि भएको हो त ? नेपालको पहिलो बाल–मानसिक रोग विशेषज्ञ (child and adolescent psycniatrist) समेत रहनुभएका डा. अरुणराज कुँवर भन्नुहुन्छ, ‘बाल–मानसिक रोग वृद्धि हुनुमा शहरीकरण पनि एउटा कारण हो, तर यो भन्दा पनि महत्वपूर्ण कारणचाहिँ अहिले रोग पहिचान गर्ने र उपचार गर्ने क्षमता वृद्धि हुनु हो ।
बालबालिकामा समस्या देखिँदा बाबुआमाले मानसिक रोग पो हो कि भनेर विचार गर्न थाले, उपचार केन्द्र पनि स्थापना भएकाले उपचारमा लान थाले, जबकि पहिला यस्तो पनि रोग हुन्छ र ? भनेर बाबुआमा उल्टै प्रश्न गर्थे ।’ डा. कुँवर भन्नुहुन्छ, ‘सर्वसाधारणको बाल–मानसिक रोग चिन्ने क्षमता वृद्धि हुनु र स्वास्थ्य संस्थाहरुबाट यसको खोजी हुनुजस्ता कारणले अहिले बाल–मानसिक रोगीको संख्या ह्वात्तै बढेको देखिएको हो ।
जस्तो– हरेक बालबालिकाले आफ्नो उमेर अनुसार लेख्न, बोल्न, व्यवहार गर्न सक्नुपर्छ । अरुसँग घुलमिल हुन, अन्तरक्रिया गर्न सक्ने गरी उसको बुद्धि विकास भएको हुुनुपर्छ ।
यस्तो भएको छैन भने यो कुरा परिवारले पनि थाहा पाउन सक्छन् ।उमेर अनुसार बुद्धि विकास नभएको, अरु मानिससँग बोल्न घुलमिल गर्न नसक्ने (अटिज्म) भएको, एकोहोरो बसिरहने, सक्रिय नबन्नेजस्ता समस्या भएका बालबालिका अस्पतालमा धेरै ल्याइन्छन्, किनकि यस्ता समस्याहरु परिवार वा अरुले पनि झ्वाट्ट थाहा पाउन सक्ने हुन्छन् ।
यस्तो समस्या भएको शंका लागेपछि बाबुआमाले पहिलाजस्तो लुकाएर राख्न सक्तैनन् । आफन्त, छरछिमेकले पनि यस्ता समस्यामा उपचार गर्नुपर्छ भनेर घचघच्याउँछन् ।
जसले गर्दा यस्ता बिरामी उपचारका लागि धेरै आउने हुन्छन् र तथ्यांकगत रुपमा पनि यिनीहरुको संख्या बढी देखिन्छ ।’‘यस्तै गरेर स्कुल जान नमान्ने र गएर पनि नपढ्ने बच्चाहरु हामीकहाँ उपचारका लागि धेरै ल्याइन्छन् । स्कुलमा बेहोस भएका बच्चाहरु पनि धेरै ल्याइन्छन् । समूहमा नै धेरै बच्चाहरु बेहोस (मास कन्भर्सन डिसअर्डर) भएको पनि पाइन्छ ।
यस्ता बच्चा पनि धेरै आउँछन् । चिन्ता लाग्ने, आत्तिने, डराउने, तर्सिने बच्चाहरु उपचारका लागि धेरै आउँछन् । साथै डिप्रेसन भएका, आत्महत्याको सोच भएका वा प्रयास गरेका बच्चा धेरै आउँछन् । त्यस्तै गम्भीर रुपमा साइकोसिस भएका, बाइपोलार भएका, अब्सेसिव कम्पल्सिव डिसअर्डर (OCD) भएका लगायत प्रायः सबै किसिमका मानसिक समस्या भएका बालबालिका उपचारका लागि आउँछन् ।
यसमध्ये धेरैलाई घर वा स्कुलले नै पहिचान गरेर उपचारका लागि अस्पताल पठाउँछन् । बालबालिकाको मानसिक रोगको उपचार गर्ने एकमात्र अस्पताल भएकाले पनि धेरैतिरबाट रिफर भएर कान्ति बाल–अस्पतालमा बिरामी बालबालिका ल्याइन्छन् ।’‘रोग पहिचानको क्षमता वृद्धिसँगै हाल भइरहेको शहरीकरण, पारिवारिक संरचनामा आएको परिवर्तनलगायतका कारणले पनि बाल–मानसिक समस्यामा वृद्धि भएको छ ।
शहरीकरणका कारण एकल परिवार, बाबुआमा दुवै काममा जाँदा बच्चा घरमा एक्लै पर्ने, बच्चालाई जतिखेर पनि फोन–टिभी चलाएर बस्ने वातावरण, गरिबी, बाबुआमा छुट्टिएर बस्ने परिस्थिति, शहरमा एउटै कोठामा कोचिएर बस्नुपर्ने वातावरण आदिजस्ता कारणले पनि बाल–मानसिक रोग वृद्धि हुने भइरहेको छ ।’डा. कुँवरका अनुसार ‘बालबालिकाको मानसिक रोगको उपचार गर्न कान्ति बाल–अस्पतालअन्तर्गत मानसिक रोग एकाइ सन् २०१५ मा स्थापना गरिएको हो ।
त्यस बेला पहिलो ६ महिनामा करिब ६ सयजना बिरामी उपचार गर्न अस्पताल आएकोमा त्यसपछि लगातार वृद्धि भइरहेको र गत आर्थिक वर्षमा सो अस्पतालले करिब ६ हजार बालबालिकाको उपचार गरेको थियो ।’यस आधारमा भन्नुपर्दा जुनसुकै कारणले भए पनि उपचारका लागि अस्पताल आउने बाल-मानसिक रोगीहरुको संख्यामा वृद्धि हुँदै गएको देखिन्छ ।
यसबाहेक मुलुकभर रहेका अन्य अस्पताल तथा क्लिनिकका बालरोग विशेषज्ञहरुले पनि सामान्य किसिमका बाल–मानसिक रोगको उपचार गरिनै रहेका छन् । बाल-मानसिक रोग विशेषज्ञ नभएका स्थानहरुमा मानसिक रोग विशेषज्ञहरुले पनि बाल तथा किशोरकिशोरीको मानसिक रोगको उपचार गरिरहेका छन् ।
रोग वृद्धिमा घर, स्कुल पनि जिम्मेवार
बालबालिकाको वृद्धि विकासका क्रममा देखिने मानसिक रोग, वंशाणुगत मानसिक रोग र बाह्य वातावरणीय परिवर्तनका कारण देखिने मानसिक रोगहरु त छँदै छन् । यसका अलावा स्कुल र घरमा हुने गलत सोच र व्यवहारका कारण पनि बालबालिकाहरु तनावमा पर्ने र मानसिक रोगी हुने गरेको डा. कुँवर जानकारी दिनुहुन्छ ।
‘जस्तो– बालबालिका कुनै कारणले स्कुल जान मानेन भने, पढ्न अल्छी गरेको, ढाँटेको, अन्तै बरालिन खोजेको, नराम्रो बाटोमा लागेको आदि आरोप लगाएर उसलाई आत्मालोचनाको भागिदार बनाउने, घरमा सजाय दिने पुरानो चलन अझै छ ।यस्ता बालबालिकालाई सीधै सजाय दिनुभन्दा त्यसको कारण खोज्नुपर्छ । अहिले हामीकहाँ स्कुल जान नमान्ने धेरै बालबालिकाहरु उपचारका लागि ल्याइएका हुन्छन् ।
उनीहरुको मुख्य समस्या नै डराउने, आत्तिने (एन्जाइटी डिस अर्डर) भएको पाइन्छ । यीमध्ये कतिपयले स्कुलमा शिक्षकको कुटाइ खाएकाले डराएर स्कुल जान नमानेको हुनसक्छ । कहिलेकाहीँ घरमा बाबुआमालगायतको झैझगडा भइरहेको हुनसक्छ । यसरी राति झगडा भयो भने बच्चा सुत्न सक्तैन र स्कुल जान मान्दैन । पहिला यसरी सोचिँदैनथ्यो तर अहिले हामी यसरी सोचेर उपचार गर्छौं । उसकै डराउने समस्या हो कि, घर वा स्कुलको कारणले समस्या भएको हो, अध्ययन गरेर उपचारका गरिन्छ ।’
डा. कुँवर भन्नुहुन्छ, ‘कतिपय स्कुलमा अनुशासनको नाममा डराउने, तर्साउने किसिमको वातावरण सिर्जना गरिएको हुन्छ । बच्चाहरुलाई कडा अनुशासनमा राख्नका लागि कतिपयले डीआई (डिसिप्लिन इन्चार्ज) भनेर पनि राखेका हुन्छन् । यिनीहरुको कारबाहीको डरले पनि बच्चा मानसिक तनावमा परेको हुन्छ । बच्चालाई डीआईमार्फत तह लगाउन खोज्नु भनेको बच्चाको भविष्य झन् खत्तम पार्नु हो ।
बालबालिकालाई आघात पुग्ने गरी सजाय दिनुहुँदैन ।
डीआईले बच्चालाई जसरी सजाय दिएर नियन्त्रण गर्न खोजेको हुन्छ उसले आफूभन्दा तलकालाई पनि त्यसरी नै तह लगाउन प्रयास गर्छ । पिटेको भए पिट्छ र भविष्यमा पनि उसमा त्यस्तै चरित्र विकास हुन्छ । बच्चालाई कसरी कति सजाय दिने भन्ने कुरा शिक्षकलाई तालिम दिएर गराउनुपर्छ, न कि बाहिरको मानिस राखेर ।
कतिपय स्कुलहरुले कपडामा आइरन नगरेको, नङ–कपाल लामो राखेको, कपालमा तेल लगाएको वा नलगाएको, टाई नलगाएको आदिजस्ता कुरामा पनि विद्यार्थीलाई बेइज्जती र आत्मग्लानि हुने गरी डीआई लगाएर कडा सजाय दिने गरेको र तनावका कारण बच्चाहरु स्कुल जान छोडको पाइएको छ । बालबालिकालाई सजाय दिने यो ज्यादै गलत तरिका हो । स्कुलका डीआई हटाएर स्कुल काउन्सिलर राख्नुपर्छ ।’
ध्यान केन्द्रित नहुने बच्चालाई गर्ने ?
कतिपय बच्चाहरु पढाइमा ध्यान केन्द्रित गर्न नसक्ने, चकचक गरिराख्ने हुन्छन् । यस्तो समस्यालाई एटेन्सन डेफिसिट हाइपर एक्टिभिटी डिसअर्डर (attention dificit hyperactivity disorder/ ADHD) भनिन्छ । यो रोग पनि समस्याको रुपमा रहेको डा. अरुण बताउनुहुन्छ । उहाँका अनुसार ‘उनीहरुको दिमाग राम्ररी विकास भएको हुँदैन । त्यस्ता बच्चालाई अनुशासित रुपमा कक्षामा बस्न, पढ्न लगाउँदा ध्यान केन्द्रित गर्न कठिनाइ पर्दछ । उनीहरुलाई उपचार गरी ध्यान केन्द्रित गरेर पढ्न सक्ने बनाउन सकिन्छ ।’
डा. कुँवर भन्नुहुन्छ, ‘यस्तै गरी कतिपय बच्चाहरुमा लर्निङ डिसएबिलिटीको समस्या पनि छ । जस्तो– कुनै बच्चा पढ्न, बोल्न सक्छ तर लेखेर अभिव्यक्त गर्न सक्तैन वा कोही बोलेर अभिव्यक्त गर्न सक्तैन तर लेखेर गर्न सक्छ भने उसलाई त्यो छनौट दिनुपर्छ ।
विदेशमा परीक्षाहरुमा विद्यार्थीलाई यस्तो सुविधा दिन थालिएको छ । तर हाम्रो सिस्टममा यही नै हुनुपर्छ भन्ने गलत तरिका अपनाउने गरिएको छ । बोल्न सक्ने तर लेख्न नसक्नेलाई जाँचमा फेल गरिन्छ । मूलतः बच्चाले सिकाएको कुरा सिक्यो कि सिकेन भन्ने हो, त्यसलाई जसरी पनि जाँच गर्न सकिन्छ । कम्प्युटर प्रविधिहरुको प्रयोग गरेर पनि उनीहरुलाई अभिव्यक्ति गर्न सहज बनाइदिनुपर्छ ।’
टेलिभिडियोमार्फत उपचार
डा. अरुणराज कुँवरका अनुसार हाल कान्ति बालअस्पतालमा बालबालिका तथा किशोरकिशोरीका सबै किसिमका मानसिक रोगको उपचार हुन्छ । किशोरकिशोरी भन्नाले सामान्यतया १८ वर्षसम्मलाई मानिए पनि कान्तिमा १४ वर्षसम्मकालाई उपचार गर्ने गरिन्छ ।
डा. कुँवर भन्नुहुन्छ, ‘अस्पतालमा बिरामी आएपछि उसका मानसिक, मनोवैज्ञानिक, वृद्धिको अवस्था आदि सबै जाँच गरिन्छ र काउन्सिलिङ मात्रले पुग्नेलाई काउन्सिलिङ र नपुग्नेलाई औषधिसमेत चलाइन्छ । बालबालिकाको समस्या कहिले घरकै वातावरणको कारणले भएको हुन्छ भने कहिले स्कुलको वातावरणको कारणले भएको हुन्छ । र, कहिले बालबालिका आफैँमा कारण निहित हुन्छ । आवश्यकता हेरेर कहिलेकाहीँ परिवारका सदस्यलाई र कहिलेकाहीँ स्कुललाई समेत काउन्सिलिङ गर्नुपर्ने हुनसक्छ ।
स्कुलमा साथीहरुबाट गिज्याउने, होच्याउने, बुलिङ गर्ने र कहिलेकाहीँ स्कुल प्रशासनको कारण नै बालबालिका तर्सिएको, डराएको र हीनताबोधले ग्रस्त भएर स्कुल जान नमान्नेलगायत अन्य मानसिक रोगले ग्रस्त हुने हुन्छन् ।’ बाल–मानसिक रोगको उपचार गर्ने नेपालको एकमात्र अस्पताल कान्ति बाल–अस्पतालमा ५० प्रतिशतभन्दा बढी बिरामी काठमाडौंबाहिरबाट आउने गर्छन् ।
काठमाडौं उपत्यकाभित्र र बाहिरका बालबालिकाको समस्या उस्तै नै छन् । स्कुल नजाने, बेहोस भएर ढल्ने, टाइममा नबोल्ने, अरुसँग अन्तरक्रिया नगर्नेलगायत विभिन्न किसिमका समस्या भएको पाइन्छ । काठमाडौंबाहिरका बिरामीका लागि स्थानीय स्तरमै दु्रत सेवा पु¥याउनका लागि अहिले कान्ति बाल–अस्पतालले टेलिभिडियो सेवा पनि शुरु गरेको छ ।
डा. अरुण भन्नुहुन्छ, ‘हाम्रो हट लाइन नम्बर पनि छ । त्यसबाट आवश्यकता अनुसार टेलिभिडियोबाट पनि परामर्श दिन्छौँ । साथै काठमाडौंबाहिरका लागि टेलिभिडियोमार्फत फलोअप पनि गरिन्छ । यो सेवा निकै प्रभावकारी भएकाले हामीले काठमाडौंबाहिर भिडियो सेवा द्रुत गतिमा विस्तार गर्ने प्रयास गरिरहेका छौँ । यो वर्ष हामीले ५ हजारभन्दा बढी बिरामी बालबालिकालाई भिडियोबाट परामर्श दिइसकेका छौँ ।
मूलतः भिडियो सेवा अनलाइनमार्फत घरमा नै दिइने हो । आवश्यकता पर्दा स्थानीय स्वास्थ्य संस्थाको समन्वयमा त्यहाँबाट पनि सेवा उपलब्ध गराइन्छ ।
जस्तो– दोलखाको चरिकोटस्थित जिल्ला सरकारी अस्पतालमा एउटा भिडियो सेटअप गरिएको छ । त्यहाँ रहेका हाम्रा सहकर्मी साइकोलोजिस्टले सेवा दिनुहुन्छ र आवश्यकता अनुसार भिडियोमार्फत यहाँबाट परामर्श गरी हामीले उपचार गर्छौं । यस्तै गरी सुर्खेतको प्रादेशिक अस्पतालमा पनि यो सेवा शुरु गर्न लागिएको छ । यसलाई विस्तार गर्दै लैजाने योजना छ ।’
‘यस्तै गरी बालबालिकाको सहायताको लागि तोकिएको १०९८ हट लाइन नम्बरमा आएको जानकारीका आधारमा सम्बन्धित संस्थाले बच्चाको उद्धार गरेर ल्याएपछि तिनीहरुलाई परामर्श तथा पुनस्र्थापना केन्द्रमा आवश्यक शारीरिक, मानसिक, मनोवैज्ञानिक उपचार गरिन्छ ।
यस्ता केन्द्रहरु नेपालमा सातवटा छन् र तीमध्ये पाँचवटामा हाम्रो अस्पतालले प्रत्यक्ष टेलिभिडियोमार्फत सेवा दिने गरेको छ । त्यहाँ आउने बालबालिका भनेको एकदमै दयनीय अवस्थाका बालबालिका हुन्छन् ।
किनभने उनीहरु शारीरिक, मानसिक, यौनिक शोषण परेर आएका हुन्छन् । उनीहरुलाई पनि हामी यहाँबाट टेलिभिडियो परामर्श दिन्छौँ । आवश्यक परे औषधि प्रेसक्राइब पनि गर्छौं ।’ ‘मानसिक रोगका अधिकांश औषधिहरु निगरानी राख्दै दिनुपर्ने हुन्छ ।
त्यसले कस्तो असर गरेको छ, साइड इफेक्ट के छ, हप्ता–दश दिनमा हेर्नुपर्ने हुन्छ । काठमाडौंबाहिरका बिरामीलाई आउजाउ गर्न गाह्रो हुने भएकाले हामी आफैँले हप्ता–दश दिनमा फोन एवं अनलाइनमार्फत के छ, कसो छ भनेर सोध्ने र बिरामीको अभिभावकको जानकारीका आधारमा औषधि थपघट गर्ने परापर्श दिने गरिएको छ ।’
बाबुआमा र स्कुलले बुझ्नुपर्ने
घरपरिवारको प्रतिकूल वातावरणकै कारण पनि बालबालिकामा मानसिक तनाव बढ्ने भएकाले उनीहरुको मानसिक स्थितिलाई समेत सबल राख्नका लागि बाबुआमाले पनि ध्यान दिन जरुरी छ । डा. अरुण भन्नुहुन्छ, ‘बाबुआमाले आफ्ना बालबालिकाको क्षमता के हो, उनीहरुको इच्छा के हो, त्यो बुझेर मात्र उनीहरुलाई शैक्षिकलगायतका क्षेत्रमा अघि बढ्न प्रेरित गर्नुपर्छ ।
बच्चा एकदमै स्मार्ट छ भन्दैमा उसलाई इन्जिनियर वा डाक्टरजस्ता विषय नै पढ्नुपर्छ भनेर बाबुआमाले कर गर्नुहुँदैन । उसको इच्छा के छ, त्यसलाई पनि ध्यान दिनुपर्छ । नेपालमा बाबुआमाले आफूलाई इच्छा लागेको विषय पढ्न बढी कर गर्ने प्रचलन छ । यो एकदमै गलत तरिका हो ।
बालबालिकाको क्षमता के छ र उनीहरुको रुचि के हो, त्यो बाबुआमाले थाहा पाउनुपर्छ र त्यसमा ध्यान दिनुपर्छ । हरेक मानिसको रुचिको कुनै एउटा क्षेत्र हुन्छ, जहाँ उसले केही न केही राम्रो गर्न सक्छ । कुनै न कुनै क्षेत्रमा उसको लगाव हुन्छ । त्यसलाई हामीले कसरी विकास गर्ने भन्ने महत्वपूर्ण कुरा हो ।’
‘बालबालिकाको मानसिक रोग कम गर्नका लागि उनीहरुमा तनाव कम हुनुपर्छ । तर हाम्रा कतिपय प्रवृत्तिले उनीहरुको तनाव बढाएको हुन्छ । जस्तो– एउटा उदाहरण हेन्डराइटिङको । हेन्डराइटिङको काम लेखेको कुरा अर्को मानिसले बुझ्नु हो ।
हेन्डराइटिङ भनेको आर्ट कम्पिटसन होइन । कोही आर्टिस्टिक हुन्छ, उसले राम्रो लेख्छ । कोही आर्टिस्टिक हुँदैन, उसले राम्रो लेख्न सक्तैन । तर धेरै नेपाली बाबुआमा तथा शिक्षकहरुले बच्चाको हेन्डराटिङ राम्रो भएन भनेर उसलाई गाली गरेको ग-यै गर्ने गर्छन् । यो तरिका ठीक होइन ।
सधैँ कागले छेरेको जस्ता अक्षर भन्ने, गाली गर्ने, होच्याउने गरिन्छ । उसले राम्रो गर्न सकेन भने धेरै कर लगाएर उसको मोरल नै डाउन हुने गरी गाली गर्नुहुँदैन । उसलाई आफूले लेखेको कुरा अरुले बुझ्ने गरी लेख भनेर बुझाउनुपर्छ ।’‘स्कुलले पनि अक्षर होइन कि पढाएको कुरा बुझ्यो कि बुझेन त्यो जाँच गर्ने हो । अहिले कम्प्युटरको जमानामा त झन् हेन्डराइटिङको महत्व नै कम भइसकेको छ ।’ ‘१३–१४ वर्षसम्मका बालबालिका भनेको विभिन्न एक्सपेरिमेन्ट गर्ने, हेर्ने, रमाउने उमेर हो ।
यस्तो उमेरमा बालबालिकालाई अनुशासनका नाममा सीमित घेरामा बाँधेर, पढाइसँग जोडेर व्यवहार गर्नु उचित होइन । विद्यार्थीले चुल्ठो कहाँ बाँधेको छ वा नबाँधी आएको छ, कपाल काटेको छ कि लामो पारेको छ, क्याप कता फर्काएको छ, ज्याकेट कस्तो लगाएको छ, उसले कपाल दायाँ–बायाँ कता फर्काएको छ, त्योसँग पढाइ वा शिक्षाको के मतलब ? यस्ता मलब नै नहुने कुरामा स्कुलले नियमहरु बनाएर कडाइका साथ लागू गर्नु, बालबालिकालाई सजाय दिनु बाल–मानसिक रोग उत्पन्न गर्ने कारक तत्वहरु हुन् ।
बालबालिका नाङ्गै हिँड्नु भएन, परिवार, समाजसँग सामान्य व्यवहार गरिदिनुप-यो, दाजुभाइ, साथीभाइसँग साधारण व्यवहार गरिदिनुप-यो, स्कुलमा उसले औसत जति पढिदिनुप-यो । उसले यति गर्छ भने कपाल, टोपी, चुल्ठो जता फर्काए पनि, टाई नलगाए पनि स्कुललाई मतलबको कुरा हुनुहुँदैन ।
स्कुल, परिवार, समाजले नचाहिने कुरामा फोकस गर्न जरुरी छैन । आवश्यकतामा मात्र ध्यान दिए पुग्छ । यस्ता कुरामा ध्यान दिनु भनेको बच्चालाई तनाव दिने र समयको बरबादी गर्ने मात्र हो’, डा कुँवरले जोड दिँदै भन्नुभयो ।
प्रतिक्रिया