पुस्तक चर्चा : उद्बोधक उच्छलनले भरिएको हरि दाइको ‘अन्तर्य’



वरिष्ठ अधिवक्ता हरिप्रसाद उप्रेती कानुन व्यवसाय जगत्मा एक परिचित नाम हो । ताप्लेजुङको ढुङ्गेसाँघु जहाँ मदन भण्डारीको जन्म भएको थियो, त्यहीँ जन्मनुभएको रहेछ हरि दाइ । ताप्लेजुङको कठिन भूबनावटको कारण जीवनका दैनिकीहरुमा कठिनाइ भएरै होला, उहाँका बुबा प्रतिमान उप्रेतीले आफ्नो बसाइँ सराइ झापाको सुरुङ्गामा गर्नुभएको रहेछ । हरि दाइको बाल्यकाल, पढाइ–लेखाइ सुरुङ्गामा नै भएको पाइयो । झापामा विद्यालय तहको पढाइ सकेर उच्च शिक्षाको लागि उहाँ धरान हुँदै काठमाडौंमा आएर पढ्नुभएको रहेछ ।

सानैदेखि एक इमानदार व्यक्तिको भूमिका निभाएका हरि दाइमा सधैँ मेहनत गरेर खानुपर्दछ भन्ने सोचको विकास भएको रहेछ । उहाँले आफ्नो जीवनमा भोगेका घटना विवरणहरु समेटेर लेख्नुभएको ‘अन्तर्य’ मैले शुरुदेखि अन्त्यसम्म पढेँ । जीवनका उकाली, ओराली, भन्ज्याङ अनि चौतारीमा भोगेका भोगाइहरु सिलसिलेवार ढंगबाट उहाँले लिपिबद्ध पार्नुभएको छ । ‘अन्तर्य’ पढ्दा कतै आफ्नै जिन्दगीको भोगाइ पो हो कि, केवल पात्रमात्र फरक पो हुन् कि जस्तो लाग्छ ।

उहाँमा सानैदेखि अलि भावुक, अलि इमानदार, अलि कर्तव्यनिष्ठ, अलि लप्पनछप्पन नजान्ने सीधापन रहेछ । त्यसैले होला आजको दिनसम्म आइपुग्दा हरि उप्रेतीले ‘फलानो गलत कार्य ग¥यो’ भन्ने सुन्नमा आएको छैन । जो मानिसभित्र जन्मभूमिको प्रेम हुन्छ, मातापितामा प्रेम हुन्छ, इष्टमित्रमा कर्तव्यको भूमिका निभाएको हुन्छ, त्यो मानिसमा जहिल्यै इमानदारिताको बास रहन्छ, त्यस्तै हुनुहुँदो रहेछ हरि दाइ ।

कम्युनिस्ट पार्टीमा रहेर त्यति लामो समय काम गरेको मानिस, पार्टी कतिपटक सरकारमा गयो, कति कार्यकर्ताहरुले पद पाए तर उहाँमा पदलोलुपता कहिल्यै देखिएन, सुनिएन, कुन्नि के कारणले हो ? थाहा भएन । जीवनका हरेक भोगाइहरु लिपिबद्ध गर्नुभएका हरि दाइको ‘अन्तर्य’ तत्कालीन नेपाली समाजको ऐना हो भन्न सकिन्छ । ताप्लेजुङ, पाँचथर, खोटाङबाट झापा झर्नेहरुको कथा शायद त्यस्तै–त्यस्तै हुन्छ होला ।

हरि दाइका बुबा प्रतिमान उप्रेती एक जुझारु स्वभावको स्वावलम्बी र मेहनती हुनुहुँदो रहेछ । त्यसैले होला ताप्लेजुङको थातथलो अलि चित्त नबुझेर मेहनत अनुसारको उब्जनी हुने ठाउँ र बच्चाहरु पढाइ–लेखाइ गर्न सजिलो बनाउन सुरुङ्गा झर्नुभएको रहेछ । यदि प्रतिमान उप्रेती झापाको सुरुङ्गा नझरेको भए हरिप्रसाद उप्रेती वरिष्ठ अधिवक्ताको रुपमा नभएर एउटा सामान्य किसान, वर्षभरि लाउन–खान गाह्रो हुने, बिजुली बत्ती र सडकको रहर गर्ने र उहाँका सन्तानहरु कतार र मलेसियाका शहर तथा गाउँ–बस्तीहरुमा पसिना बगाएर झापाको कुनै गाउँमा घडेरी खोज्न थाल्थे होलान् । तर भाग्यवश प्रतिमान उप्रेतीकै सपनाका कारण उहाँका छोरा–नातिहरु डाक्टर, इन्जिनियर, वकिल, सरकारी कर्मचारी आदि बन्नुभएको रहेछ । मैले भन्नुपर्दा यो श्रेय बुबा प्रतिमान उप्रेतीमा नै जान्छ ।

आजभन्दा २०–२५ वर्षअघिसम्म नेपालको पहाडी गाउँको जीवनशैली कठिन थियो । अझ मध्यपहाड ढुङ्गैढुङ्गा बढी, कम अन्न उब्जाउ हुने, थोरै अन्न उब्जाउन धेरै जग्गा खनजोत गर्नुपर्ने कठिन थियो । घरका बुहारीहरु बिहान ३ बजेदेखि राति ९ बजेसम्म कामकाजी हुनुपर्ने महा कठिन थियो । ढिकी–जाँतो, खनजोत, चुलोचौको, मध्यपहाडी महिलाहरुको बेथा नै थियो । त्यहाँका मानिस शहर पसेर पढी केही गरेका छन् । ती महा कठिन अवस्थाभन्दा हरि दाइको जीवन अलि उच्च र अलि सहज देखिन्छ । त्यो किनभने, उहाँहरु बसाइँ सरेरै भएको हो ।

‘अन्तर्य’ पढ्दा एउटा मानिसको जिन्दगी कसरी अगाडि बढ्दो रहेछ, के–कस्ता समस्या आउँदा रहेछन्, मानिसले अप्ठ्यारो कसरी पार लगाउनुपर्दछ भन्ने ज्ञानवद्र्धक पनि छ । त्यसमा पनि सुखमा साथ दिनेभन्दा दुःखमा साथ दिने कम हुन्छन् । त्यस अवस्थामा घर–परिवारभित्रको आँटबाट अगाडि बढ्न सकिन्छ भन्ने कुराको आँट यस पुस्तकले दिन्छ । हरि दाइले आफ्ना आमाबुबालाई अत्यन्त धेरै प्रेम गर्नुहुँदो रहेछ । सबैमा त्यत्तिको कर्तव्यपरायण प्रेम भएको म पाउँदिन । धेरै भाइहरु भएकामा त झन् रिसारिस भएको मैले देखेको छु तर हरि दाइको परिवार अति मिलनसार, कर्तव्यपरायणमा सधैँ अभिप्रेरित भइरहने रहेछ ।

‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ भनेझैँ हरि दाइ आफू जन्मेको ताप्लेजुङको ढुङ्गेसाँघु र झापाको सुरुङ्गाको अति ठूलो प्रेम गर्नुहुँदो रहेछ । उहाँले ताप्लेजुङ तथा झापाको विद्यालयमा विद्यार्थीहरुका लागि पुरस्कार राखेर एक समाजसेवामूलक कार्य गर्नुभएको रहेछ । खुसी लाग्यो । त्यस किसिमको शुभ कार्य अन्य जनहरुबाट पनि होस्, पढ्ने मानिसमा उत्प्रेरणा ल्याओस् भन्ने लाग्छ । अब उहाँबाट सिकेर अरुले पनि समाजसेवामा लाग्नुपर्दछ भन्ने प्रेरणा अरुमा पनि आओस् ।

कानुन व्यवसायमा मेहनत नगरी राम्रो वकिल बन्न सकिन्न र मेहनत ग¥यो भने पक्कै पेसा चल्छ भन्ने उहाँको हालसम्मको जीवनीबाट देखिन्छ । बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म कार्यालयमा रहने, खाना खान घर जाने, हिँडेरै धेरै कार्यहरु गर्ने उहाँको स्वभाव देख्दा नवआगन्तुकहरुले उहाँबाट धेरै सिक्नुपर्ने देखिन्छ । अहिलेका नवआगन्तुकहरु पेसा शुरु गर्नासाथ घर, गाडी, फूर्तिफार्ती गर्न खोज्छन् । त्यो सब नक्कली आम्दानीबाट मात्र सम्भव हुन्छ । सक्कली आम्दानी गर्न कठिन तपस्या गर्नुपर्ने हुन्छ, कठिन मेहनत नगरी केही पनि प्राप्त हुँदैन भन्ने कुराको ज्ञान पनि यो पुस्तकबाट सिक्न पाइन्छ ।

राजनीति गर्ने व्यक्तिहरु सबै इमानदार हुँदैनन् र कोही कसैलाई पछाडि धकेल्छन्, अगाडि बढ्न दिँदैनन् भन्ने कुरा यस पुस्तकमा पढ्न पाइन्छ । वरिष्ठ अधिवक्ताद्वय सुवासचन्द्र नेम्वाङ र अग्नि खरेलसँग उहाँका विमतिहरु रहेका रहेछन् । उहाँलाई अगाडि बढ्ने क्रममा केही व्यक्तिहरुले खुट्टा तानिदिँदा नमज्जा लागेको कुरा पनि हामीले पढ्न पाउछौँ । व्यक्तिलाई आफ्नै सर्कलका साथीभाइ र आफ्ना भनाउँदाहरुले यो अगाडि बढ्ला कि भन्ने मनोदशाले अरुलाई अप्ठ्यारो पारिराख्छन् । त्यसबाट सधैँ सजग हुनुपर्छ भन्ने कुरा यो पुस्तकबाट सिक्न सकिन्छ । त्यस्तै एउटा सफल वकिल हुन दिनरात, बिदाको दिनमा समेत पढ्नुपर्दछ भन्ने देखिन्छ ।

२०७२ सालको वैशाख १२ गते भूकम्प जाँदा पनि हरि दाइ लेखपढ गरिरहनुभएको रहेछ । यसबाट नवआगन्तुक वकिलहरुले त्यो सिक्न जरुरी छ । पुस्तकमा उहाँले प्रधान न्यायाधीशहरु र न्यायाधीशहरुको विषयमा पनि चर्चा गर्नुभएको छ, जसबाट केही न्यायाधीश र प्रधान न्यायाधीशहरुको स्वभाव पनि कस्तो रहेछ भन्ने ज्ञान लिन सकिन्छ ।

चार भाग र विभिन्न विषय सूचीमा लेखिएको हरि दाइको ‘अन्तर्य’ हामी सबै कानुन व्यवसायीहरुले पढ्नै पर्ने पुस्तक हो जस्तो मलाई लाग्छ । पुस्तकले मानिसको जिन्दगी कसरी अगाडि बढिरहेको छ, मानिस किन र केका लागि जन्मिएको हो र के गर्न सकिन्छ भन्ने कुराको पनि ज्ञान दिन्छ । त्यस्तै जीवनको अर्थ बुझेर कानुन व्यवसायबाट अवकाश लिई अरु जीवन पनि भोग्नुपर्दछ, आखिर जिन्दगी त महासागर हो, जता पनि जान सकिन्छ भन्ने ज्ञान पनि पुस्तकबाट पाइन्छ । मैले एकपटक सरर ‘अन्तर्य’ पढ्दा त्यस्तै पाएँ र यस्तै लेखेँ, बाँकी अरुले पनि लेख्नुपर्दछ भन्दै आजको लागि कलम बन्द गरेँ । हरि दाइ ! सफल जिन्दगीको लागि असीम शुभकामना दिँदै थप कृतिका लागि शुभकामना दिन चाहन्छु ।

(समीक्षक खत्री अधिवक्ता एवं सर्वोच्च अदालत बार एसोसिएसनका सचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्