पुस्तक चर्चा : प्रा. पुरुषोत्तम दाहालको पत्रकारिताभित्रको आख्यान



प्रा. पुरुषोत्तम दाहालले आफू पत्रकारिता क्षेत्रमा प्रवेश गरेपछि भोगेका अनुभव र देखेका अनेक घटना–परिघटनालाई समेटेर ‘मेरो पत्रिकारिता’ नामक पुस्तक लेख्नुभएको छ । आफूले देखेका र भोगेका प्रवृत्ति एवं व्यक्तिका बारेमा लेखनीका माध्यमबाट प्रस्तुत गर्न उहाँ सफल हुनुभएको छ । लेखकले आफ्नो अनुभव–अनुभूतिको चास्नीमा शब्दलाई चुर्लुम्म डुबाएर नयाँ स्वाद र मिठास दिलाउन खोज्नुभएको छ ।

यस पुस्तकमा जीवन दर्शन, विचार र भावनाका अनेकन छालहरु उठेर सबैका निम्ति बोधगम्य भएका छन् । लेखकका विचार सबैका लागि स्वाभाविक र यथार्थपरक छन् । पत्रकारिता भनेको समाजको ऐना हो, त्यसलाई हेरेर समाजको यथार्थ वस्तुस्थिति प्रस्तुत हुन्छ, जसको माध्यमबाट मुलुकको राजनीतिक, आर्थिक र सामाजिक अवस्था बुझ्न सहज हुन्छ । ‘मेरो पत्रकारिता’मा समकालीन अवस्थाको यथार्थ चित्र प्रस्तुत भएको छ ।

लेखक जति बेला पत्रकारितामा प्रवेश गर्नुभयो, उहाँले त्यस बेला र त्यसपूर्वको नेपाली पत्रकारिता जगत्ले भोग्नुपरेको विकराल परिस्थितिको चित्रण गर्नुभएको छ । तत्कालको अवस्थामा पत्रिकाको दर्ता खारेज गर्ने र मुलुकमा जे–जति स्वतन्त्रता विरोधी ऐवं कानुन ती सबै प्रयोग गरेर पत्रकारहरुलाई थुन्ने र यातना दिने अवस्थासमेत पत्रकारले भोग्नुपरेको थियो । यी यावत् चरण पार गरेर लेखकको आजको दिन उदित भएको छ ।

२०३३ सालमा बी.पी. राष्ट्रिय एकता र मेलमिलापको सन्देश लिएर स्वदेश फर्किसकेपछि पुरुषोत्तम दाहालजीले उत्साही हुँदै पत्रकारितामा हाम फाल्ने जमर्काे गर्नुभयो । तत्कालीन सरकारले प्रजातन्त्रवादीहरुलाई जेल–नेल हालेर शासन गर्ने अवस्था थियो । तर तल्काल राष्ट्रिय, अन्तर्राष्ट्रिय परिवेशले बी.पी.को स्वदेश आगमनले बाध्यात्मक रुपमा शासन सत्तालाई केही खुकुलो पार्नुपर्ने स्थिति सिर्जना हुन थालेको थियो । मुलुकमा न्यूनतम मौलिक हकसमेत अपहरणको अवस्थामा पुरुषोत्तमजीले पत्रकारिताजस्तो संवेदनशील क्षेत्रमा दत्तचित्त भएर काम गरिरहनुभएको थियो ।

दाहालजीको पत्रकारिताप्रति मोह जगाउने शीर्ष व्यक्तित्वहरुमा पहिलो चन्द्रलाल झा हुनुहुन्थ्यो, जसबाट उहाँले पत्रकारिताको प्रारम्भिक ज्ञान पाउनुभएको थियो । त्यसपछि होमनाथ दाहाल, जसले सैद्धान्तिक पत्रकारिताको प्रतिबद्ध यात्राको शुभारम्भ गराउनुभयो । त्यस्तै किशोर नेपाल, जसले विकास र व्यावसायिक पत्रकारिताको मान्यता सिकाउनुभयो । यी तीनै जनाप्रति लेखक आभारी देखिनुहुन्छ । यसरी विगतमा लगाएको गुन सम्झने दाहालजी अरुका लागि पनि प्रेरणादायी हुनुहुन्छ ।

यसमा लेखकले आफ्नो पत्रकारिता यात्रा र नेपालको राजनीतिको चिरफार गर्न प्रयत्न गर्नुभएको छ । पत्रकार तथा राजनीतिशास्त्रको प्राध्यापक दाहाल सोझो र सरल देखिनु पनि गौरवको विषय हो । पत्रकारितामा सत्यको खोजी गर्नु दाहालको दिनचर्या हो । उहाँले पत्रकारितामा सत्यमात्र होेइन त्यहाँ सुन्दरता पनि थपिरहनुभएको छ । ‘मेरो पत्रकारिता’मा दाहालजी आफ्नो विचारमात्र नभएर व्यवहार पनि हो भन्ने वास्तविकताको डिलसम्म पुग्नुभएको छ । व्यक्तिगत वा व्यावसायिक कामले स्वदेश वा विदेश घुम्दासमेत जानेबुझेका विषयवस्तुलाई समेत समावेश गर्नुभएको छ, यस कृतिमा ।

लेखकले आफ्नो पुस्तकमा आम नागरिकको हक, अधिकार र कल्याणका लागि लोकतन्त्र नै ठूलो माध्यम ठम्याउनुभएको छ । यो पुस्तक पत्रकारिता र राजनीतिक विचारको कोरा सिद्धान्त नभएर वास्तविक जीवनको अनुभव र अन्वेषणको निचोड हो । तत्कालीन राजनीतिक अवस्थामा देशमा भइरहेको अत्याचार, कुशासन, विभेद, गैरजिम्मेवारिताप्रति चिन्ता प्रकट गर्नुभएको छ लेखकले । राज्यको शासन प्रणालीमा रजगज गरिरहेका सीमित व्यक्तिको हालिमुहालीप्रति त्यत्तिकै असन्तोष प्रकट गर्नुभएको छ ।

लोकतन्त्रपश्चात् पनि राजनीतिक दलहरुमा देखिएको विचलन, विकृति र गलत पद्धतिमाथि चोटिलो प्रहार गर्न चुक्नुभएको छैन । जनताले पीरमर्का र दुःखको बिसौनी ठानेका नेता स्वयं आफ्नो स्वार्थमा तल्लीन देख्दा लेखकलाई चिन्ता लागेको छ ।

पत्रकारिता गर्दै गर्दा स्वतन्त्रताको आन्दोलनका क्रममा भद्रगोल जेलको यातना पनि भोगेका दाहालजीले कठिन दिनका स्मरणहरु पनि उल्लेख गर्नुभएको छ । जेठको भत्भती पोल्ने घाम होस् वा पुस–माघको कठ्याङ्ग्रिँदो जाडो किन नहोस्, सबै सहन गरी काठमाडौँका गल्लीगल्लीदेखि देशका कुनाकाप्चासम्म पत्रिका पु¥याउने अभिभारासहित नेपाल टाइम्स दैनिकको रिपोर्टिङको अभिभारा बोकेका दाहालजीका अनेक संघर्षशील क्षणको स्मरण यस पुस्तकले गराउँछ ।

तत्कालीन अवस्थामा पत्रकारिताले जीवन धान्न निकै कठिन थियो । दाहालजी जस्ता लोकतन्त्रको विरुद्ध सम्झौता नगर्नेले झनै दुःख झेल्नुबाहेक के हुन्थो र ? तर पनि उहाँले पत्रकारितालाई नै लक्ष्य बनाएर यसैको माध्यमबाट लोकतन्त्रको मिर्मिरे उज्यालो हेरिरहनुभएको थियो । साना भाइहरुलाई पढाउन नसकेको आहत भावमा पनि संयमतापूर्वक आफ्नो आदर्शतर्फ निरन्तर लागिरहनुभयो । नयाँ कार्यक्रमको खोजीमा प्रसंगवश डा. सौभाग्यजंग कार्की र प्रा. कौशलराज रेग्मीले त्रिचन्द्र क्याम्पसमा आंशिक शिक्षक भएर पढाउने मौका दिई केही राहत मिलेको कुरा पनि उहाँले ‘मेरो पत्रकारिता’मा उल्लेख गर्नुभएको छ ।

रेडियो नेपालको चर्चित कार्यक्रम घटना र विचार स्थापना गरेर संयोजक भई काम गर्दाको अनुभव पनि पठनीय, सुसंस्कृत र उन्नत देखिन्छ । त्यसमार्फत राष्ट्रका महत्वपूर्ण विचार, आचरण र सोचहरुलाई उजागर गराउने काम गराउनुभयो । दाहालजी प्राध्यापन, साहित्य र पत्रकारिता क्षेत्रका एक जाज्वल्यमान् पात्र हुनुहुन्छ, जो आफ्ना अनेक पीडाहरु बिर्सेर भए पनि अरुको आदर गर्न पछि पर्नुहुन्न । उहाँ भन्नुहुन्छ, ‘पत्रकारिता सिक्ने अवसर मैले पाएँ । आज पनि मेरो दृढ विश्वास छ, चन्द्रलाल झा जत्तिको तीखो, खरो र सूक्ष्म विश्लेषण क्षमता नेपालको पत्रकारितामा देखा पर्न सकेको छैन ।’ यस्तै अन्य सहयोगी मित्रहरु होमनाथ दाहाल, किशोर नेपालप्रति पनि उहाँ त्यत्तिकै आभारी देखिनुहुन्छ । यसै क्रममा अन्य वरिष्ठ पत्रकारहरु गोपालदास श्रेष्ठ, मणीन्द्र श्रेष्ठ, गोविन्द वियोगी, मणिराज उपाध्याय, मदनमणि दीक्षित आदिको समेत आफ्नो पुस्तक ‘मेरो पत्रकारिता’मा उच्च सम्मानका साथ आदरभाव प्रकट गर्नुभएको छ ।

दाहालजी एउटा वरिष्ठ राजनीतिक विश्लेषक पनि हुनुहुन्छ । कुनै पनि लोकतान्त्रिक देशमा मिडियाले राज्यको चौथो अंगका रुपमा मान्यता पाउनुपर्छ भन्दै निरंकुश निर्दलीय पञ्चायतकालदेखि नै उहाँले बहस गर्दै आउनुभएको छ । २०४७ सालकोे संविधानले मिडियालाई प्रेस र प्रकाशन नामको सुरक्षाको संवैधानिक प्रत्याभूति दिएको थियो भने यता २०७२ को गणतान्त्रिक संविधानले मिडियाका सम्बन्धमा उदारता देखाउन नसकेको कुरा पनि दाहालले आफ्नो पुस्तकमा उल्लेख गर्नुभएको छ ।

जनमत संग्रहको समयमा जननायक बी.पी.को जहाँ–जहाँ आमसभा भए, त्यहाँ–त्यहाँ रिपोर्टिङ गर्न आफैँ पुग्नुहुन्थ्यो दाहालजी । समय–समयमा उहाँले राजनीतिक यथार्थ विश्लेषण गर्ने गरेका घटनाले पनि उहाँ राजनीतिमा अदम्य साहसी भएको पुष्टि गर्दछ । राजनीतिक दलहरु प्रतिबन्धित अवस्थामा रहेका बेलामा पनि कतिपय पक्षधर पत्रकारितामा सम्लग्न थिए । कांग्रेस र कम्युनिस्ट विचारधाराका पक्षपाती पत्रपत्रिका पनि थिए । त्यस अवस्थामा पुरुषोत्तम दाहाल नेपाली कांग्रेस पक्षधर पत्रिका नेपाल टाइम्स, राष्ट्र पुकारलगायतमा आबद्ध हुनुहुन्थ्यो । प्रजातन्त्र पुनस्र्थापनापछिका कार्यमा प्राध्यापन, पत्रकारिताका साथै समसामयिक राजनीतिक विश्लेषणका प्रखर वक्ताका रुपमा देखा पर्दै आउनुभएको छ दाहालजी ।

मुलुकको स्थिति, गतिविधि र समस्याहरुको गहन अध्ययन–अनुसन्धान गरी विवेचना, विश्लेषण गर्न सक्ने क्षमतावान् दाहालजी आफ्नो शक्ति र सामथ्र्यको आडमा चार दशकका यावत् घटनाहरु फिल्मी रिलजस्तै फरर दिमागमा आएर यत्रो गहन पुस्तक लेख्न सफल हुनुभएको छ । उहाँले यसपूर्व पनि २०४३ सालमा संयुक्त कविता संग्रह, २०५९ मा साँध कविता संग्रह, २०६१ मा राजनीति विश्लेषण निबन्ध संग्रहजस्ता महत्वपूर्ण कृतिहरु लेखिसक्नुभएको छ । उहाँले मानव अधिकार तथा शान्ति समाजको लामो समयसम्म नेतृत्व लिनुभएको थियो । उक्त समयमा दाहालजीकै प्रेरणामा म पनि आजीवन सदस्य छु । लोकतन्त्र शान्ति र अहिंसाकोे आधारमा सहलेखन कार्य धारावाहिक लेखिनै रहेको पाइन्छ । उहाँले नै लेख्नुभएको बहुचर्चित सामाजिक उपन्यास ‘शान्ता’ २०७० सालमा प्रकाशित गर्नुभएको छ ।

दाहालजीको कलम र अध्ययन निरन्तर धाराप्रवाह चली नै रहेको छ । पत्रकारिताको क्षेत्रमा उहाँ निर्भिग्न र कठोर ध्यानले सिद्धि प्राप्त गर्नुभएको छ । आफ्नै शक्ति र सामथ्र्यको बलमा चार दशकका हरघटनालाई उनेर मालारुपी ‘मेरो पत्रकारिता’ पुस्तक प्रकाशन गर्नुभएको छ । यो पुस्तक पत्रकारिता क्षेत्रमा मात्र नभएर राजनीतिक, सामाजिक, शैक्षिक क्षेत्रमा पनि त्यत्तिकै उपयोगी छ । बहुप्रतिभावान् पत्रकार, विश्लेषक र प्रवक्ता पुरुषोत्तम दाहालजीबाट भविष्यमा अझ सशक्त कृतिहरु प्रकाशित हुने नै छन् ।

हरेक लेखकको सोचाइ र लेखाइमा आफ्नो मात्र नभएर अन्यको भोगाइ र पे्ररणासमेत समावेश भएको हुन्छ । यसर्थ दाहालजीको यस पुस्तकमा उहाँले लेखेका भोगाइ उहाँकै मात्र एकोहोरो भोगाइ देखिँदैनन् । यसमा हरपत्रकार र लेखकका सोचाइ, भोगाइका अनुभूतिहरु छचल्किएका छन् । दाहालजीले यस पुस्तकमा आफ्ना निजी विचार, भोगाइ र अनुभवलाई सर्वव्यापक र सर्वकालीन बनाउनुभएको छ । यो नै उहाँको सफलता हो ।

            (लेखक गौतम काठमाडौंस्थित पद्मोदय मा.वि.को पूर्वप्रधानाध्यापक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्