आचार संहितामा कडाइ गरिँदै

0
Shares

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको आचारसंहितामा कडाइ गर्ने भएको छ । निर्वाचन हुनु करिब डेढ महिनाअघि कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आचारसंहिता तयारी गरिरहेको छ ।

त्रिविको सिनेटको २०७३ सालमा बसेको सिनेटको बैठकले स्ववियु निर्वाचनको आचारसंहिता तयार गरेको थियो । चैत ५ गते हुने निर्वाचनमा पनि सोही आचारसंहिता लागु गर्ने तयारी भएको छ ।

‘सामान्य हेरफेर होला, बाँकी सबै स्ववियु निर्वाचनकै आचारसंहितासम्बन्धी निर्देशिका–२०७६ अनुसार कार्यान्वयन हुनेछ’ –केन्द्रीय निर्वाचन अनुगमन तथा समन्वय समितिका सदस्यसचिव पशुपति अधिकारीले भन्नुभयो ।

निर्वाचनमा भाग लिएका विद्यार्थी संगठनले क्याम्पसको बाहिर, भित्र र क्याम्पस परिसरमा वालपेन्टिङ गर्न नपाइने, निर्वाचनसम्बन्धी तुल, फ्लेक्स र कुनै प्रकारको पोस्टर टास्न नपाइने, त्रिवि वा क्याम्पसलाई हानि नोक्सानी हुने कुनै प्रकारको प्रचारप्रसार गर्न नपाइने, क्याम्पसको निर्वाचन समितिमा दर्ता भएका संघ, संगठन, समूह वा स्वतन्त्र उम्मेदवारलाई निर्वाचन समितिले सञ्चालन गर्ने परिचयात्मक कार्यक्रमलाई एउटै मञ्चमा राखी परिचयात्मक कार्यक्रम गर्ने र उक्त कार्यक्रममा एक अर्काप्रति आक्षेप वा आरोप लगाउने वाक्यहरू बोल्न नपाइने आचारसंहितामा उल्लेख छ ।

‘हामीले आचारसंहिताका हरेक बुँदालाई कडाइका साथ लागु गराउन सबै पक्षसँग आग्रह गरिरहेका छांै’, समितिका सदस्य सचिव अधिकारीले भन्नुभयो– ‘सबै संघ संगठनलाई आचारसंहितालाई पूर्ण रूपमा पालना गर्न आग्रह गरेका छौं ।’ समितिले आचारसंहितालगायत निर्वाचनको विषयमा विद्यार्थी संगठनसँग अन्तिम छलफल गर्न बाँकी रहेको जनाएको छ ।

आचारसंहितामा सबै उम्मेदवारले निर्वाचन घोषणापत्र र उम्मेदवारको नामावली एफोर साइजको एक रङ भएको पर्चा मात्रै प्रचारप्रसार गर्न पाइने, क्याम्पस हाताभित्र माइकबाट कुनै पनि प्रकारको प्रचारप्रसार गर्न नपाइने आचारसंहितामा उल्लेख छ ।

त्रिविले मतदान हुनुभन्दा ३२ घण्टा अघिदेखि कुनै पनि प्रकारको प्रचारप्रसारमा रोक लगाउने तयारी गरेको छ । यसअघिको निर्देशिकामा ४८ घण्टा अघिदेखि कुनै पनि प्रकारको प्रचार गर्न नपाइने उल्लेख थियो । ४८ घण्टा समय लामो भएकाले ३२ घण्टा बनाउने तयारीमा लागेको समितिले जनाएको छ । स्ववियु निर्वाचन सम्पन्न गर्न क्याम्पस प्रमुखले एक जना निर्वाचन अधिकृत र आवश्यकताअनुसार सदस्य थपेर निर्वाचन समिति गठन गर्नुपर्ने निर्देशिकामा उल्लेख छ ।

‘हाल विभिन्न तहको परीक्षा सञ्चालन भइरहेको कार्यतालिका सार्वजनिक गर्दा परीक्षामा बाधा पुग्ने भएकाले सकेसम्म डेढ महिनाअगाडि मात्रै तालिका सार्वजनिक गर्ने तयारी गरेका हांै’ –स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समिति सदस्यसचिव एवं त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक पशुपति अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार निर्वाचन तालिका प्रकाशित गरेको मितिबाटै सम्पूर्ण क्याम्पसमा स्नातक तह प्रथम वर्षको विद्यार्थी भर्ना बन्द हुनेछ । साथै, दोस्रो, तेस्रो र चौथो वर्ष एवं दोस्रो सेमेस्टरदेखि अन्तिम सेमेस्टरको भर्ना क्याम्पसले मिति तोकेर गर्नुपर्नेछ ।

त्यसै गरी सेमेस्टर प्रणालीमा सञ्चालित कार्यक्रममा प्रवेश परीक्षा उत्तीर्ण भइसकेका कोटाभित्र पहिलो सेमेस्टरमा भर्ना हुनेको हकमा भने मतदातासूची प्रकाशित हुने मितिभन्दा दुई दिन अघिसम्म नियमअनुसार भर्ना गर्न पाइने व्यवस्था निर्देशिकामा छ ।

यसअघि त्रिविले निर्वाचनको तयारी गर्न सबै क्याम्पसलाई निर्देशन दिइसकेको छ । त्रिविको ६२ आंगिकसहित करिब ७ सय सामुदायिक र सम्बन्धन प्राप्त क्याम्पसमा स्ववियुको निर्वाचन हुनेछ । त्रिविको तथ्यांकअनुसार देशभर १ हजार ४० सम्बन्धन प्राप्त क्याम्पस छन् ।

यसअघि २०७३ सालमा ६२ मध्ये २६ क्याम्पसमा मात्र निर्वाचन भएको थियो । २०७३ सालमा उपत्यकाका ९ र उपत्यका बाहिरका १७ गरी २६ वटा क्याम्पसमा निर्वाचन भएको थियो । देशभर ६२ आंगिक क्याम्पस सञ्चालित छन् । त्रिविले २८ वर्ष उमेर हद र मिश्रित निर्वाचन प्रणाली लागु भएपछि विसं २०७३ मा निर्वाचन भएको थियो ।

मिश्रित प्रणालीअनुसार सभापति, सचिव तथा कोषाध्यक्ष प्रत्यक्ष निर्वाचन तथा उपसभापति र सहसचिव समानुपातिक एवं ५० प्रतिशत सदस्य समानुपातिकबाट चयन हुने गरी निर्वाचन हुनेछ । २०७६ सालमा जारी निर्देशिकामा समानुपातिक निर्वाचन प्रणाली, स्ववियु सदस्यलगायतका विषयमा केही त्रुटि भएकाले सच्याउन लागिएको समितिले जनाएको छ ।

‘हामी निर्वाचनमा होमिइसकेका छौं, सोहीअनुसार सबै क्याम्पसले तयारी गरिसकेको छ । अब केही दिनभित्र निर्वाचन तालिका जारी गरी निर्वाचनको गतिविधि शुरू हुनेछ’ –समितिका सदस्यसचिव अधिकारीले भन्नुभयो ।