सभामुखको निर्वाचन आज : एमालेका घिमिरे र कांग्रेसका न्यौपानेको उम्मेदवारी

0
Shares

काठमाडौं । संघीय संसद्को सभामुख पदका लागि आज बिहीबार निर्वाचन हुने भएको छ । संघीय संसद्को सभामुखका लागि दुई जनाको उम्मेदवारी परेको छ ।

सभामुख निर्वाचनका लागि सत्तारुढ गठबन्धनबाट नेकपा एमालेका स्थायी समिति सदस्य तथा झापा क्षेत्रनम्बर २ वटा निर्वाचित सांसद देवराज घिमिरेले उम्मेदवारी दर्ता गराउनुभएको छ । घिमिरेको प्रस्तावकमा एमालेका नेता सुवास नेम्वाङ रहनुभएको छ भने समर्थकमा नेकपा माओवादी केन्द्रका नेता हितराज पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन रहनुभएको छ ।

यसअघि सरकारलाई समर्थन गरेको जनता समाजवादी पार्टीले भने सभामुखमा सत्ता गठबन्धनका उम्मेदवार घिमिरेलाई समर्थन नगर्ने संकेत गरेको छ । सरकारमा सामेल हुन राखेको सर्त पूरा नगरेको भन्दै जसपाले सरकारमा जान अस्वीकार गरेको छ । दुईवटा मन्त्रालय र उपराष्ट्रपति तथा उपसभामुख खोजेको जसपालाई सत्ता गठबन्धनका अन्य दलले बेवास्ता गरेपछि सरकारमा नजाने निर्णय गरेको हो ।

जसपाले नेपाली कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिनुभएकी ईश्वरी न्यौपानेलाई समर्थन गर्ने संकेत देखिएको छ । सो पार्टीले सभामुखको निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने विषयमा आज बिहीबार निर्णय गर्ने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो ।

संसदीय दलको बैठकले सभामुख निर्वाचनका लागि नेपाली कांग्रेससँग पनि छलफल गर्ने निर्णय गरेको सो पार्टीका संसदीय दलका नेता रामसहायप्रसाद साहले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो । यस विषयमा सो दलका अध्यक्ष उपेन्द्र यादव र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो । तर, सो पार्टीले सभामुख निर्वाचनमा कुन उम्मेदवारलाई सघाउने भन्ने विषयमा भने निर्णय गरिसकेको छैन ।

सरकारमा सामेल अर्को दल जनमत पार्टीले भने सत्तारुढ दलका उम्मेदवारलाई समर्थन गर्ने संकेत गरेको छ । सो पार्टीबाट मन्त्री भएका बिनाविभागीयमन्त्री अब्दुल खानले आफूले भनेको मन्त्रालय नपाएको भन्दै मन्त्रालयमा हाजिर गर्नुभएको छैन ।

सोमबार बसेको सत्तरुढ गठबन्धन दलको संयुक्त बैठकले जनमत पार्टीलाई उद्योग तथा वाणिज्य मन्त्रालय दिने सहमति गरे पनि अन्तिममा आएर खानेपानी तथा सरसफाइ मन्त्रालयको जिम्मेवारी दिएपछि सो पार्टीले उक्त मन्त्रालय नलिने निर्णय गरेको थियो ।

तर, सो पार्टीले सभामुख निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई भोट हाल्ने निर्णय गरेको छ । सत्तारुढ गठबन्धनका उम्मेदवार घिमिरेको पक्षमा नेकपा एमालेका ७९, नेकपा माओवादी केन्द्रका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राष्ट्रिय प्रजातन्त्र पार्टीका १४, जनमत पार्टीका ६ र नागरिक उन्मुक्ति पार्टीका ३ गरी १ सय ५३ मत प्राप्त हुने सम्भावना रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपतिशमशेर राणाले प्रतिनिधिसभाको अध्यक्षता गरिरहेकाले उहाँले मतदान प्रक्रियामा सहभागिता जनाउनुहुने छैन ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुखमा उम्मेदवारी दिनुभएकी न्यौपानेको समर्थकमा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा प्रस्तावक र समर्थकमा नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला समर्थक रहनुभएको छ ।

सभामुखकी उम्मेदवार न्यौपानेलाई नेपाली कांग्रेसको ८८, एकीकृत समाजवादीको १० र लोकतान्त्रिक समाजवादी पार्टीको ४ सांसदको समर्थन रहेको छ । न्यौपानेको पक्षमा १ सय २ भोट पाउने पक्कापक्कीजस्तै देखिएको छ ।

सत्तारुढ गठबन्धनका सभामुख पदका उम्मेदवार घिमिरेले आफ्नो जित सुनिश्चित रहेको बताउँदै सभामुखमा निर्वाचित भएपछि सन्तुलित ढंगले संसद्लाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेकपा एमालेका पुराना नेता घिमिरेले यसअघि कुनै पनि राजकीय पद पाउनुभएको थिएन । पार्टी अध्यक्ष केपी ओलीका समकालीन नेता घिमिरे एमालेभित्र शालीन नेताका रूपमा चिनिनुहुन्छ ।

त्यस्तै, नेपाली कांग्रेसको तर्फबाट सभामुख पदमा उम्मेदवारी दिएकी न्यौपाने कांग्रेसभित्र जुझारु नेताका रूपमा चिनिनुहुन्छ । उहाँले निर्वाचनमा जाँदा कोही पनि हार्छु भनेर जाँदैन भन्दै लोकतान्त्रिक विधिअनुरूप एउटाले जित्ने र अर्कोले हार्ने काम हुने भन्दै आफू हार्छु भनेर निर्वाचनमा सहभागी नभएको प्रतिक्रिया दिनुभयो ।