कठ्याङ्ग्रीदो जाडोमा आगो तापेर रात काट्दै चेपाङ समुदाय, संघ र स्थानीय सरकार मूकदर्शक

0
Shares

धादिङ । गरिबीको रेखामुनी रहेको चेपाङ मात्र बसोबास भएको क्षेत्र बेनिघाटरोराङ गाउँपालिका–२ को मासखर्क, पृथ्वीराजमार्गको मलेखुबाट १५ किलोमिटर दक्षिणतर्फ पर्ने भिरालो गाउँमा सबैको समस्या ज्युँका त्युँ छन् ।

आफ्नो उत्पादनले कमाइले वर्षभरी खान नपुग्ने चेपाङ समुदायको बसोबास भएको मासखर्कमा अभावले घेरिएको भए पनि गाउँमा विद्यालय भने सञ्चालनमा रहेको छ । ज्याला मजदुरी पाइएको समय पेटभरी खान र बचत भएको पैसाले कपडा किन्ने गरेका चेपाङ समुदाय वर्षौँदेखि अभाव र गरिबीबाट उठ्न सकेका छैनन् ।

आमाले घर छाडेर हिँडेपछि बाबुले दोश्रो विवाह गरेका कारण वृद्ध हजुरआमाको आश्रय लिएर बसिरहेका १० वर्षीया शान्ति चेपाङ, ८ वर्षीय शुशिल चेपाङ र ६ वर्षीय ईशाख चेपाङ विद्यालयमा न्यानो लुगा लगाएर आजसम्म गएका छैनन् । उनीहरु सधैँ पुरानो फाटेको कपडा लगाएर विद्यालय जाने गर्छन् ।

दिउँसो घाम लाग्छ अनि जब रात पर्छ दिउँसो जम्मा गरेको दाउरा बालेर रात कटाउनु उनीहरुको दैनिकी भएको छ । यो चेपाङ परिवारको मात्र होइन, यस क्षेत्रका ४२ घर चेपाङ घरपरिवार न्यानो कपडाको अभावमा आगो तापेर रात कटाउनुपर्ने बाध्यता छ ।

एउटा चेपाङ परिवार मात्र होईन । यश क्षेत्रमा सबै चेपाङ समुदायको अवस्था उस्तै छ । खाना खानकै लागि समस्या छ भने लगाउने कपडा अभावमा आगो बालेर रात कटाउनु पर्ने अवस्था रहेको स्थानीय कृष्णबहादुर चेपाङ बताउनुहुन्छ । पञ्चकन्या आधारभूत विद्यालयमा यस वर्ष भर्ना भएका ६९ जना विद्यार्थी सबैको समस्या खाना र नाना रहेको विद्यालयका शिक्षक श्री चेपाङले बताउनुभयो ।

विद्यालय दिवा खाजा कार्यक्रम लागू भएपछि विद्यार्थीहरु गाउँमा नबसेर सबै विद्यालय आउँछन् । आधा जति विद्यार्थी बिहान खाना नखाइ आउने र खाजाको भरमा गुजारा गरिरहेको शिक्षक श्रीको भनाइ छ । तर, लगाउने लुगा अभाव भने सबैलाई उस्तै छ ।

यहाँका प्रतिनिधिहरुले निर्वाचित हुनु पहिले चेपाङ समुदायमा पुगेर गरिबी निवारण गरिदिने आश्वासन बाँड्दै भोट मागे र निर्वाचित भए पश्चात् आउनै छोडेको चेपाङहरुको गुनासो छ ।

स्थानीय, प्रदेश र संघ सरकारले हालसम्म चेपाङ समूदायका लागि खास योजना ल्याउन सकेको छैन । ग्रामीण क्षेत्रको अवस्थामा परिवर्तन आउन नसकेको मासखर्कका कृष्ण चेपाङले बताउनुभयो ।