जीवनको सार्थकता खोज्दाखोज्दै हराएका साधु डोरबहादुर

0
Shares

काठमाडौं । आजकै मितिमा ९६ वर्षअघि जन्मिएका मानवशास्त्री प्राध्यापकको नाम हो– डोरबहादुर विष्ट । विश्वका दर्जनौं सुप्रसिद्ध विश्वविद्यालयमा प्राध्यापन र अनुसन्धानको अनुभव सँगालेका, नेपालका सबैजसो नाम चलेका हिमालमा पुगेर तपस्या गर्न भ्याएका, त्रिभुवन विश्वविद्यालयको सुविधासम्पन्न र आकर्षक पारिश्रमिकको जागिर राजीनामा दिएर जुम्लाको चौधबिस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा लागेका आदर्श नेपाल–पुत्रको नाम हो डोरबहादुर विष्ट ।

‘महिना दिनसम्म पनि कुनै क्लास लिन पाउनु छैन, यसरी चुपचाप बसेर म राज्यको ढुकुटीबाट पारिश्रमिक कसरी लिनसक्छु भन्दै उहाँले प्राध्यापक पदबाट राजीनामा दिनुभयो, चौधबिसतिर लाग्नुभयो जहाँका मानिस जीवनमा एकपटक मात्र पनि आफ्नो अनुहार ऐनामा नहेरी मर्ने अवस्था थियो’ विष्टका माइला छोरा केशरबहादुर विष्टले नेपाल समाचारपत्रलाई भन्नुभयो– उहाँले गेरुवा वस्त्र मात्र नलाएको हो, हरेक दृष्टिले उहाँ साधु हो, महान त्यागी र जीवनको सार्थकताका लागि भौतारिइरहने व्यक्ति ।

ललितपुर जिल्लाको झरुवारासीमा जन्मेका विष्टले आफ्नो विषयमा मौलिक र प्रस्ट दिशानिर्देश गर्नसक्ने धेरै पुस्तक र विश्वप्रसिद्ध जर्नलका लागि सयौं आलेख तयार पार्नुभएको छ । अंग्रेजी भाषामा अधिक कलम चलाउने विष्टको ‘पिपुल अफ नेपाल’ पहिलो कृति हो । छोरा विष्टका अनुसार २०२४ सालमा प्रकाशित यस पुस्तकको २६औं संस्करण भइसकेको छ । त्यसपछि आउँछ बहुविवादास्पद् तथा चर्चित पुस्तक ‘फ्याटालिज्म एन्ड डेभलपमेन्ट’ । यसले भाग्यवादका कारण नेपालीहरू पछाडि परेको दर्शन पुष्टि गरेको छ । तिब्बतको ल्हासामा कन्सुलर जनरल हुँदा लेखेको ‘रिपोर्ट फ्रम ल्हासा’ले पनि उत्तिकै चर्चा पायो । त्यस्तै, सबै जातको फूलबारी, हामी किराती–राई र उपन्यास सोताला (साहुजी) ले पनि प्रसिद्धि कमाएका छन् । डोरबहादुर विष्टका कथाहरू नामक किताबमा समेटिएका १२ वटा कथाले पनि आम पाठकलाई प्रभाव पारेका छन् ।

आज नेपालको राजनीतिक व्यवस्था समानुपातिक समावेशितातर्फ लागेको छ । मुलुकका सबै जातजाति, क्षेत्र, धर्म, लिङ्ग, अपाङ्गता आदि समेटिनुपर्छ भन्ने बलियो अडान छ । यस प्रकारको परिवर्तनका लागि विष्टका मानवशास्त्रसँग सम्बन्धित रचनाहरूले योगदान दिएको मानिन्छ । नेपालका आदिवासी जनजाति, मधेसी, दलित, महिला, मुस्लिम, पिछडिएको र उत्पीडित क्षेत्रका अगुवाहरू नेपालमा रहेको जातीय, भाषिक, क्षेत्रीय, लिङ्गीय, धार्मिक, वर्गीय आदि विभेदविरुद्ध आवाज उठाइरहेका छन् ।

वि.सं २०४८ सालमा जुम्ला पुगेका विष्टले चौधबिस क्षेत्रको विकास र सामाजिक रूपान्तरणमा निकै काम गर्नुभयो । डिल्लीचौर गाविसको लासीमा कर्णाली इन्स्टिच्युट स्थापना गरेर विष्टले स्थानीय नागरिकलाई सचेत गराउनुभयो । २०५२ पुस २५ गते काठमाडौं जान्छु भनेर चौधबीसबाट हिँडेका विष्टको स्थिति आजसम्म अज्ञात छ ।

‘तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उहाँलाई खोज्न विशेषज्ञहरू लगाउनुभयो, राजा वीरेन्द्र बाबाका शिष्य नै भएकाले उहाँले पनि सक्दो प्रयास गर्नुभयो, तर कुनै सुराक लागेन’ छोरा विष्ट भन्नुहुन्छ– पाँच–सात वर्षअघिसम्म त उहाँ पाण्डुलिपिको ठेली बोकेर टुप्लुक्क घर आउनुहुन्छ कि भन्ने लाग्थ्यो, तर अब उहाँ हुनुहुन्न कि भन्ने सोचले जित्न थालेको छ । अब त हराएको पनि २६ वर्ष भयो नि !

डोरबहादुर विष्टले कर्णाली इन्स्टिच्युटका सचिव पूर्णबहादुर बोहोरालाई संस्था जिम्मा लगाई २०५२ पुस २५ मा चौधबिस छोड्नुभएको हो । त्यसको दुई दिनपछि पुस २७ गते नेपाल वायु सेवा निगमको जहाजबाट नेपालगन्ज पुगेको तर घर नगई बर्दिया हुँदै कैलाली चिसापानी गएको अनुमान गरिएको थियो ।

डोरबहादुर विष्टको बाटोमा उहाँका जेठा छोरा हिक्मत विष्ट लाग्नुभयो । उहाँले पनि मानवशास्त्रमै विद्यावारिधि गर्नुभयो । माइला केशरबहादुर विष्ट राजनीतितिर लाग्नुभयो । एक्ली छोरी आशा र कान्छो छोरा दीपक भिन्न क्षेत्रमा हुनुहुन्छ । त्यसो त परिवारमा डोरबहादुरका भाइ खेमबहादुर पनि मानवशास्त्रकै विद्वान् हुनुहुन्छ ।

राजधानीको आरामदायी जीवन भोगेका विष्टलाई सीमान्तकृत र कठोर सामाजिक विभेदले पछाडि पारिएका वर्गप्रति किन मोह जाग्यो भन्ने सम्बन्धमा केशरबहादुर विष्ट भन्नुहुन्छ, ‘बुबालाई नेपालीले म सानो, म कमजोर भन्ने गरेको कत्ति मन पर्दैनथ्यो । हो, उत्तर द दक्षिण हेर्दा भूगोलका आधारमा हामी सानो हौंला, विश्वका १ सय ३४ देशभन्दा हामी ठूलो छौं । ५० देखि डेड सय किलोमिटर हिँडेपछि आँपदेखि स्याउ–सुन्तला फल्ने विविधतायुक्त जलवायु छ, अरू मुलुकमा ७४७ जहाजमा घण्टौं उडेपछि मात्र यस प्रकारको विविधता पाइन्छ । नेपालीमा अन्तरनिहित म सानो भन्ने मनोदशालाई हटाउन उहाँ भौंतारिइरहनुहुन्थ्यो ।’

हामी नेपालीको विज्ञता हेर्दा पनि हामी सानो छैनौं । कुन मितिमा कुन बाली लाउने, कसरी रोप्ने, कसरी गोड्ने यी आदि नेपालीले कुनै तालिका नहेरी गर्छन् । केशरबहादुर भन्नुहुन्छ, ‘नेपाललाई सबै जातको फूलबारीका रूपमा ३०० वर्षअघि पृथ्वीनारायण शाहले देखे, त्यही बाटोमा मेरो बुबा लाग्नुभयो । एकले अर्कालाई होच्याउने कामले मुलुक ध्वस्त हुन्छ । बसेर खाने ठूला र काम गर्नेहरू साना भन्ने सोचले मुलुकमा विभाजन ल्याएको छ । आफूलाई ठूलो र अरूलाई सानो ठान्ने प्रवृत्तिले देश ध्वस्त बनाएको छ । काम गर्ने मान्छेलाई इज्जत गर्ने प्रवृत्तिका लागि बाबा लाग्नुभयो । मानसिक सम्मान र एकीकरण उहाँको लक्ष्य बन्यो ।’

आज डोरबहादुरका नाममा पीएचडी गर्नेहरूको संख्या बढिरहेको छ । विश्वका कतिपय विश्वविद्यालयमा उहाँको विचार पढाइन्छ । उहाँकै नाममा विश्वविद्यालयले पुरस्कार पनि राखेका छन् । आज डोरबहादुरको स्मृति दिवस पारेर डा. सचिन घिमिरेलगायतको टिमले १२ वर्ष अनुसन्धान गरेर तयार पारेकोडोरबहादुर विष्ट डकुमेन्ट्री साँझ ५ बजे ललितपुरस्थित सिबिल मलमा देखाइँदैछ । आजै कर्णाली इन्स्टिच्युटलाई समेत समायोजन गरेर डोरबहादुर विष्ट फाउन्डेसन स्थापना भएको पनि घोषणा गरिँदै छ । फाउन्डेसनले अध्ययन अनुसन्धान गर्ने, डोरबहादुरका कामलाई अघि बढाउने, शैक्षिक, प्राज्ञिक काम गर्ने उद्देश्य रहेको केशरबहादुर विष्टले बताउनुभयो ।

वरिष्ठ पत्रकार ध्रुवहरि अधिकारी डोरबहादुर विष्टलाई स्मरण गर्नुहुन्छ, ‘म गोरखापत्रमा रिपोर्टर हुँदाको कुरा हो, विष्टजीले अध्यक्षता गरेको गोष्ठीको कार्यक्रम थियो । ‘अपुताको धन प्यारो कोडीको जिउ प्यारो’ भन्ने उखानलाई उहाँले छोरा नभएपछि बुढेसकालमा हेरचाह गर्न सम्पत्ति चाहियो, कुष्ठरोग लागेका मानिस नजिक कोही आउँदैनथे, शरीर जोगाएर राख्नुप¥यो, स्वाभाविकै त हो– उहाँ सामान्य व्यक्तिको पनि मन पगाल्ने आख्यानकार पनि हुनुहुन्थ्यो ।’