केही सेकेन्डले निम्तिएको दुर्घटना

0
Shares

काठमाडौं । 

काठमाडौंबाट पोखराका लागि उडेको यती एयरलाइन्सको एनवाईटी ६९१, ९ एन–एएनसी कल साइनको एटीआर–७२ विमान पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा आइतबार विहान १०ः५० बजे दुर्घटनामा परेको छ ।

उक्त विमानमा चालक दलका ४ सदस्य र ६८ जना यात्रुसहित ७२ जना सवार थिए । सो विमानले काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहान १०ः३२ बजे पोखराका लागि उडान गरेको थियो । रनवेमा पुग्न केही सेकेन्ड बाँकी रहँदै सो विमान पोखराको पुरानो एयरपोर्ट र नयाँ एयरपोर्टको बीचमा रहेको पोखरा महानगरपालिकाको नयाँगाउँस्थित सेतीको खोंचमा दुर्घटनामा परेको थियो । दुर्घटनाको कारण खुल्न सकेको छैन ।

विमान अवतरणका लागि चालकले विमानस्थलस्थित एयर ट्राफिक कन्ट्रोल (एटीसी) सँग अनुमति लिइसकेका थिए । शुरूमा एटीसीले पूर्वतिरको (रनवे ३–०) बाट अवतरण गर्न चालकलाई अनुमति दिएको थियो । तर, पछि चालकले पश्चिमतर्फको (रनवे १–२) बाट अवतरण गर्ने जानकारी पोखरा अन्तर्राष्ट्रिय विमाननस्थलस्थित एटीसीलाई दिएपछि एटीसीले क्लिरेन्स दिनेबित्तिकै दुर्घटनामा परेको स्रोतको भनाइ छ ।

विमान पुरानो विमानस्थलमाथिबाट घुमेर जाने क्रममा दुर्घटनामा परेको छ । स्रोतका अनुुुसार (रनवे ३–०) फेवातालतर्फ विमान जान्छ । यसरी जाँदा पुरानो विमानस्थलतर्फ जान्छ भने नयाँ विमानस्थलमा अवतरण गर्नका लागि रुट ३–० भएर (रनवे १–२) मा अवतरण हुन्छ । दुर्घटनाग्रस्त विमान सराङकोटबाट मोडिएर विन्ध्यवासिनी मन्दिर हुँदै गएको जनाइएको छ ।प्रत्यक्षदर्शीका अनुसार अनियन्त्रित विमानलाई चालकले बस्तीबाट जोगाएर सेतीको खोंचमा पु¥याएका थिए । दुर्घटनास्थल र बस्ती नजिकै रहेको छ ।

बस्तीको बीचमा दुर्घटना भएको भए अझ ठूलो धनजनको क्षति हुन सक्ने अनुमान गर्न सकिन्छ ।यती एयरलाइन्सका प्रशिक्षक पाइलट कमल केसी २०औं वर्षको अनुभव भएका र को–पाइलट अञ्जु खतिवडाले विमान उडान गर्नुभएको थियो । आइतबार बिहान भएको उक्त जहाज दुर्घटना नेपालको हवाई इतिहासमा आन्तरिकतर्फको सबैभन्दा ठूलो दुर्घटना रहेको नेपाल नगरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिनुभयो । साथै, एटीआर–७२ विमान र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन आएपछिको यो पहिलो दुर्घटना पनि हो । पोखरामा व्यावसायिक उडानअन्तर्गत भएको यो दोस्रो दुर्घटना हो । यसअघि २०५९ भदौ ६ गते सांग्रिला एयरको ट्वीनअटर दुर्घटना हुँदा चालक दलका सदस्यसहित १८ जनाको मृत्यु भएको थियो ।

पछिल्लो ८ महिनामा यती ग्रुपको विमान दोस्रोपटक दुुर्घटनामा परेको छ । यसअघि जेठ १६ गते यतीको सहायक कम्पनी तारा एयरको विमान मुस्ताङ जाने क्रममा दुर्घटनामा परेको थियो । दुर्घटनामा चालकदलसहित २२ जनाको निधन भएको थियो ।
दुर्घटनामा परेको विमान सन् २००७ मा निर्माण भएको थियो । यसमा क्यानेडियन मोडलका दुई इन्जिन रहेका थिए । शुरुमा यो विमानलाई भारतको किङफिसर कम्पनीले सञ्चालन गरेको थियो । किङफिसरले सन् २०१२ फिर्ता गरेपछि अप्रिल २०१३ मा मर्मत गरी थाइल्यान्डको नोक एयरले सञ्चालनमा ल्याएको थियो ।

यती भने सन् २०१९ देखि भाडामा लिएर चलाउन थालेको हो । विमानले आइतबार पोखराका लागि ३ उडान गरेको जनाइएको छ । बिहान ७ बजे काठमाडौंबाट पोखरा र ७ः४५ मा पोखराबाट काठमाडौं फर्केर पुनः १०ः३२ मा काठमाडौंबाट पोखराका लागि उडान गरेको थियो ।

सरकारले यती एयरको विमान दुर्घटनापछि छानविन गर्न पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा पाँच सदस्य समिति गठन गरेको छ । समितिमा नेपाली सेनाका अवकाश प्राप्त उपरथी दीपक प्रसाद बाँस्तोला, अवकाशप्राप्त क्याप्टेन सुनील थापा, हवाई मेन्टिनेन्स इन्जिनियर एकराजजंग थापा र सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने रहनुभएको छ ।

सरकारले गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरेको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।यसैबीच, सरकारले हवाई दुर्घटना हुन नदिन आन्तरिक उडानतर्फका सबै वायुसेवा कम्पनीलाई उडानअघि अनिवार्य प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । मन्त्रिपरिषद्को आकस्मिक बैठकले विमान परीक्षण गरे÷नगरेको अनुगमन गर्न नागरिक उड्डयन प्राधिरकणलाई निर्देशन दिएको उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिनुभयो । दुर्घटनाको शोकमा यती एयरले सोमबारका सबै उडान रद्द गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरले के कारणले दुर्घटना भयो भन्ने प्रस्ट नभएको बताउनुभएको छ । उहाँले मौसम र विमानस्थलमा कुनै समस्या नभएको भन्दै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारीका क्रममा विमान दुर्घटनामा परेको जानकारी दिनुभयो । चालकले विमानमा समस्या देखिएको बारे टावरलाई कुनै जानकारी दिएको देखिँदैन । पोखराको मौसम पनि बिहानदेखि राम्रो थियो ।

उता, विमान मौसमका कारणभन्दा पनि प्राविधिक त्रुटिको कारण दुर्घटना भएको हुन सक्ने प्रारम्भिक आँकलन गरिएको छ । प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले उडिरहेको विमानमा आगोको झिल्को देखिएको जानकारी आएको सरकारी सञ्चारमाध्यमहरुमा बताउनुभएको छ ।

पाइलट बन्ने धोको अधुरै
दुर्घटनामा परेको यती एयरको को–पाइलट अञ्जु खतिवडाको पाइलट बन्ने धोको अधुरै रहेको छ । खतिवडालाई क्याप्टेनको लाइसेन्स दिलाउने अन्तिम उडान नै दुर्घटना प-यो । कम्तीमा एक सय घण्टा उडान भरेपछि पाइलटको सर्टिफिकेट पाइने भएकाले त्यो उडानपछि खतिवडाको सय घण्टा पूरा हुने थियो ।

२०६३ असार ७ गते सुर्खेतबाट जुम्लाका लागि उडेको यती एयरलाइन्सको ट्विनअटर विमान दुर्घटनामा अञ्जुका श्रीमान् दीपक पोखरेलको निधन भएको थियो ।भारतबाट प्लस टु गरेकी विराटनगरकी अञ्जुले श्रीमान्को निधनपछि पाइलटको कोर्स गर्नुभएको थियो । अञ्जुका एक छोरा र एक छोरी रहेका छन् ।

राष्ट्रिय झन्डा आधा झुकाइने

पोखरामा आइतबार भएको यती एयरलाइन्स विमान दुर्घटनामा परी निधन भएकाहरुप्रति दुःख व्यक्त गर्दै सरकारले आज सोमबार सार्वजनिक बिदा दिएको छ ।

सरकारले विमान दुर्घटनाप्रति दुःख व्यक्त गर्दै आज सोमबार राष्ट्रिय झन्डा आधा झुकाइने भएको छ । विमान दुर्घटनालगत्तै बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार माघ २ गते शोक बिदा दिनुका साथै राष्ट्रिय झन्डा आधा झुकाउने तथा अत्यावश्यकबाहेकका सेवा र कार्यक्रम स्थगित गरिएको गृह मन्त्रालयका मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।