टेबलटेनिसको साथी सरोज टेबलटेनिस फर अल क्लब

0
Shares

काठमाडौं । 

अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघको “खेलबाट सामुदायिक विकास“ भन्ने नाराका साथ स्ट्याग सरोज टेबलटेनिस फर अल क्लबले बालबालिकालाई टेबलटेनिस ब्याट र बल वितरण गरेको छ । क्लबले खेलबाट सामुदायिक विकास कार्यक्रमअन्तर्गत बालबालिकालाई शुक्रबार टेबलटेनिस ब्याट र बल वितरण गरेको हो ।

स्ट्यागका आधिकारिक प्रशिक्षक नरेश रावलले क्लबको वार्षिक कार्यक्रम भएको र वर्षभरि विभिन्न कार्यक्रममार्फत झण्डै १ सय बालबालिकाले ब्याट र बल लिने जानकारी दिनुभयो । अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्द राजवैद्यले सहभागीहरूलाई खेलकुद सामग्री हस्तान्तरण गर्दै टेबलटेनिस खेल्न उत्प्रेरित गर्नुभयो ।

अध्यक्ष राजवैद्यले टेबलटेनिस खेल्ने मात्रै होइन यसले बालबालिकाको लागि लड्न, कसरी अनुशासित हुने र कसरी टिम वर्कमा काम गर्ने भन्ने पनि सिकाउने बताउनुभयो । उहाँले पहिले खेलेर बिग्रने मनस्थितिमा रहेका अभिभावकहरूमा रहेको बताए । उहाँले भन्नुभयो—‘पहिलेको तुलनामा अहिले घरमा बसिनराख्न अभिभावकहरूले आफ्ना बालबालिकालाई खेलमा लाग्न प्रेरणा दिइरहनुभएको छ ।’

रावल अन्तर्राष्ट्रिय टेबल टेनिस प्रशिक्षक, अन्तर्राष्ट्रिय अम्पायर तथा विश्व टेबल टेनिस दिवस २०२१ र २०२२ का आधिकारिक प्रवर्द्धकले यस कार्यक्रमको मुख्य उद्देश्य बच्चाहरूलाई टेबलटेनिस खेल्नको लागि रुची, प्रोत्साहन र उत्प्रेरित गर्नु रहेको जानकारी दिनुभयो । उहाँले कार्यक्रममा टेबलटेनिसका केही अभ्यास पनि देखाउनुभयो ।

क्लबले विगत ३ वर्षदेखि आर्थिक कमजोरीको पृष्ठभूमिमा रहेका बालबालिकालाई टेबलटेनिस कोचिङ, खेल सामग्री र उपकरणहरू निःशुल्क उपलब्ध गराउँदै आएको छ ।

क्लबको स्थापना

सरोज टेबलटेनिस फर अल क्लब तीन वर्षअघि शुरु भएको हो । नरेश रावलले आफ्नी मुमाको नाममा यो क्लब स्थापना गर्नुभएको हो । क्लबका अध्यक्ष रावलकी धर्मपत्नी सञ्जु थापा रहनुभएको छ भने रावल स्वयंले बालबालिकालाई कोचिङ गर्नुहुन्छ । यो क्लबले विगत तीन वर्षदेखि नै आर्थिक पृष्ठभूमि कमजोर भएका बालबालिकाको लागि सहयोग गर्दै आएको पनि छ । सामाखुसीमा रहेको यो क्लबमा बालबालिका टेबलटेनिस सिक्न आउनेक्रम जारी रहेको रावलले बताउनुभयो ।

विशेषगरी, आर्थिक कमजोर बालबालिकालाई क्लबले लगातार प्रशिक्षण दिइरहेको छ । प्रशिक्षणका लागि आवश्यक ब्याट, बलको पनि सहयोग भइरहेको छ । रावल अन्तर्राष्ट्रिय टेबलटेनिस महासंघअन्तर्गत् आईटीटीएफ लेभल टू स्टार अन्तर्राष्ट्रिय प्रशिक्षकसमेत हुनुहुन्छ ।

अन्तर्राष्ट्रिय अम्पायर समेत रहेका उहाँलाई अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउन्डेसन, जर्मनीबाट नेपालका लागि सन् २०२१ र २०२२ को लागि विश्व टेबल टेनिस दिवस मनाउने प्रवद्र्धकको रूपमा छनोट गरिएको थियो । उहाँले रिमोट ट्रेनिङ, महिला सशक्तिकरण कार्यक्रम, मेरो लैङ्गिक शक्ति जस्ता धेरै अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना गर्नुभएको छ । स्ट्याग इनर्नल टेबल टेनिस प्रशिक्षक रावल एक अन्तर्राष्ट्रिय खेलाडीसमेत हुनुहुन्छ । अझै पनि एक अनुभवी खेलाडीको रूपमा टेबल टेनिस प्रतियोगितामा सक्रिय भइरहनुभएको छ । धेरै उपाधि पनि हासिल गर्नुभएको छ ।

खेलरत्न पुरस्कार पाएको

सन् २०२० मा उत्तर प्रदेश सरकारले रावललाई खेलरत्न पुरस्कार दिएको थियो । यो भनेको नेपालकै गौरवमय विषय भएको र अझ टेबलटेनिसमा लाग्न उत्प्रेरित गरेको भन्दै रावलले नेपाल समाचारपत्रलाई बताउनुभयो— यो पुरस्कारले मलाई यो क्षेत्रमा राम्रो गर्न प्रेरणा दिएको छ । मेरो उद्देश्य भनेको नेपालका बालबालिकालाई खेल्न सिकाउनु हो । यसबाटै मैले अन्तर्राष्ट्रिय खेलाडीको रूपमा परिचित गराउन सक्ने लक्ष्य पनि लिएको छु । मेरो खास उद्देश्य भनेको बच्चाहरूलाई मोबाइल गेमबाट माइन्ड डाइभर्ट गर्नु हो । खेलेर बच्चाहरूले साथी बनाउन सक्छ, अनुशासन सिक्छन्, टिम वर्क के हो सिक्छन्, सहयोग गर्ने भावना सिक्छन् ।

अभिभावकको भूमिका प्रमुख

कुनै पनि क्षेत्रमा राम्रो गर्ने हो भने बच्चाहरूका लागि अभिभावकले जिम्मेवारी निर्वाह गर्नुपर्ने रावलले बताउनुभयो । उहाँले भन्नुभयो—यदि बच्चाहरूलाई राम्रो खेलाडी वा कुनै पनि क्षेत्रमा राम्रो गर्नु छ भने अभिभावकले राम्रो भूमिका खेल्नुपर्छ । त्यसपछि मात्रै बच्चाहरूले जे क्षेत्रमा पनि राम्रो गर्छ । मैले सिकाइरहेका बच्चाहरूको अभिभावक पनि बच्चाहरूले मन लगाएर खेलेको देखेर खुसी छन् ।

सरकारबाट अपेक्षा

रावलले बताउनुभयो कि, अहिलेसम्म नेपाल सरकारले सहयोग गरेको छैन । उहाँले भन्नुभयो—‘मैले कसैसँग सहयोग माँगेको छैन । मैले व्यक्तिगतरूपमा नै खर्च व्यहोरिरहेको छु । मलाई गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले केही सहयोग गर्नुभएको छ ।

त्यस्तै, जर्मनीको सहयोग प्राप्त भारतीय कम्पनी स्ट्यागले मलाई यसको लागि प्रायोजन गरेको छ । यो प्रायोजन पाउने म मात्रै हो नेपालमा, सहयोग भनेको यति नै हो । सरकार र संघले विदेशमा हुने प्रतियोगितामा सहभागी गराउन पहल गरेका छन् । यो सहयोग पनि धेरै नै हो । अहिले क्लबमा २५ जना बालबालिकाहरू आउँछन् । उनीहरूलाई दुई सिफ्ट प्रशिक्षण दिइरहेको छु ।’