दादुरा खोपको कागजी कभरेज छताछुल्ल


बाँके ।

नेपालगञ्जमा हरेक महिना ६ देखि ११ गतेसम्म दादुराको खोप लगाइन्छ । दादुराको खोप बच्चालाई दुईपटक लगाउनुपर्छ, ९ महिना र १५ महिनामा । यो अवधिमा छुटेका बच्चालाई ५ वर्षभित्रमा खोप लगाइन्छ । नेपालगञ्जलाई गत वर्ष नै पूर्णखोप सुनिश्चित घोषणा गरिसकिएको छ । यहाँको खोपको कभरेज ९७ प्रतिशत बढी छ ।

सरकारी निकायको यो झन्डै शतप्रतिशत कभरेजलाई अहिले देखिएको दादुरा संक्रमणले ‘कागजी कभरेज’ का रूपमा पुष्टि गरेको छ । किनकि, त्यही सरकारी निकायले अहिले देखिएका दादुराका संक्रमितले नियमित खोप नलगाएको बताइरहेका छन् । एकातिर ९७ प्रतिशत कभरेज देखाएर पूर्ण खोप घोषणा गर्ने अर्कोतिर खोप नलगाएका व्यक्तिमा दादुरा संक्रमण देखिएको पुष्टि गर्ने सरकारी अधिकारीको भनाइले खोपको कभरेजमा ठूलो प्रश्न उब्जिएको छ ।

सरकारी निकायले निर्धारण गर्ने लक्ष्य र कभरेज प्रतिशत पनि नमिलेको देखिएको छ । जस्तै, नेपालगञ्ज–५ मा १ हजार ४ सय ७४ जना लक्षित गरिएको छ । पुस २२ गतेदेखि २९ गतेसम्ममा यो वडामा १ हजार ६ सय ५७ जनाले खोप लगाइसकेका छन् । नेपालगञ्ज–७ मा ८ सय ९४ जना लक्षित भनिएकोमा १ हजार १ सय १५ जनाले खोप लगाएका छन् । वडामा लक्षितभन्दा धेरै कहाँबाट आइपुगे ? छिमेकी वडाबाट आए भन्ने हो भने पनि त्यहीँ पनि खोप सञ्चालन भएको छ । सरदर बढ्ने आँकलन गरेर लक्षित संख्या निर्धारण गर्दा यस्तो गडबड देखिने गरेको छ ।

स्वास्थ्य कार्यालय, बाँकेका खोप सुपरभाइजर नरेश श्रेष्ठले नियमित खोपमा कभरेज राम्रो भए पनि यहाँको रैथानेको उपस्थिति कम हुने बताउनुभयो । ‘बाहिरबाट आएर बसेका व्यक्तिले लगाइदिएको खोप प्रतिशतलाई किन यहाँको भनेर घोषणा गरिन्छ ?’, खोप सुपरभाइजर श्रेष्ठ भन्नुहुन्छ– ‘लक्ष्य निर्धारण हुन्छ ।

वडाबाट त्यो लक्ष्य पूरा हुन्छ । अनुसन्धान गर्दा रैथाने छुट्ने र बाहिरबाट आएकाले लगाइएको पाइएको छ ।’ पुस १२ गते नेपालगञ्जमा दादुरा देखियो । काठमाडौं पठाएर परीक्षण गर्दा १९ गते एकै घरका चार जनाको पोजिटिभ रिपोर्ट आयो । त्यसपछि आसपास, छिमेकी हुँदै अरू वडामा खोजतलास गर्दा संक्रमित धेरै रहेको पत्ता लाग्यो । नयाँ संक्रमित फेला पर्ने क्रम दिनप्रतिदिन बढ्दो छ । पुस २९ गते २६ जना नयाँ संक्रमित फेला परेका थिए ।

संक्रमित थपिँदै जाँदा नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य महाशाखा र स्वास्थ्य कार्यालयले विशेष खोप अभियान चलाएका छन् । पुस २२ गतेदेखि चलाइएको अभियानमा १० वटा वडामै १२ हजार ८ सय ४५ जनाले खोप लगाइसकेका छन् । अझै ५ हजार ५ सय ४५ जनालाई खोप लगाउन बाँकी छ । नियमित अभियानमा खोप नलगाएकाहरूमा अहिले दादुरा संक्रमण देखिएपछि खोप लगाउने बढेका छन् ।

संक्रमणको देशभर नै चर्चा भएपछि र दादुराबाट बालकको मृत्युसमेत भइसकेकाले खोप नलगाएर बसेकाहरू धमाधम खोप लगाउन आएका छन् । संक्रमण फैलिएपछि डरले खोप लगाउन आउन थालेपछि सम्बद्ध निकायले खोपको कभरेज बढाइरहेको छ । यसले नियमित खोप अभियानमा पनि सकारात्मक प्रभाव पार्ने आशा गरिएको छ । अहिले लगाएको खोपलाई नियमितमा जोड्न मिल्दैन । यो एक प्रकारले बुस्टर डोज मात्रै हो ।

६ महिनादेखि १५ वर्षसम्मका लागि खोप लगाइएको छ । अहिलेको १ डोज ८५ प्रतिशत प्रभावकारी हुने खोप सुपरभाइजर श्रेष्ठको भनाइ छ । अहिलेको विशेष अभियानलाई नेपालगञ्जको २३ वटै वडामा पु¥याउने तयारी भएको छ । दादुरा संक्रमण देखिएपछि खोप लगाउन आउनेको संख्या बढेकाले यही बेलामा खोप अभियानलाई सबै वडामा फैलाएर कभरेज बढाउने दाउमा छन्, अधिकारीहरू ।

खोप लगाउनेको संख्या बढ्दै गएपछि प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले ३० हजार डोज खोप पठाइदिएको छ । यहाँ ६ हजार ५ सय डोज स्टक नै थियो । नेपालगञ्जमा अहिलेसम्म १ सय ५६ जनामा दादुरा संक्रमण देखिएको छ । त्यसमा १ सय ७ जनालाई सन्चो भइसकेको छ । ४९ जना उपचारमा छन् ।