सेयर सदस्यलाई भेडाबाख्राको व्यवहार

ठूला बैंकको सानो छाती

0
Shares

काठमाडौं । 

यसपटक ठूला बैंक भनिएका नबिल बैंक र हिमालयन बैंकको साधारणसभामा विगतको भन्दा फरक दृश्य देखियो । नबिल बैंकको साधारण सभास्थल नक्सालको सिल्भर ब्याङ्केट र हिमालयन बैंकको सोल्टी होटलको गेटमा लगानीकर्ताको नाराबाजी र आयोजकद्वारा गेटमा ताला लगाइएको देखियो ।

विगतका साधारणसभाको बन्द सत्रमा सेयर सदस्यहरूले सञ्चालक र व्यस्थापनसँग कम्पनीका वित्तीय सूचक र नीतिका विषयमा प्रश्न उठाउँथे । यसपटक सेयर सदस्यले सभामा प्रवेश पाउनुपर्ने भन्दै गेटमा नाराबाजी गरे । ठूला बैंकले सानो छाती बनाउँदा लगानीकर्ता आफ्नै कम्पनीविरुद्ध विरोधमा उत्रिएका हुन् ।

शुक्रबार नबिल बैंकको ३८औं र बिहीबार हिमालयन बैंकको ३०औं साधारणसभा थियो । साधारणसभामा भाग लिन आएकालाई ढिला भएको, भित्र ठाउँ नभएको लगायतका बहाना बनाएर प्रवेश नदिएकोे लगानीकर्ताको आरोप छ ।साधारणसभा स्थलमा प्रवेश पाएका सेयर सदस्यले पनि आफूहरूमाथि गरिएको व्यवहार लगानीकर्तालाई होइन भेडाबाख्रालाई जस्तो भएको बताए । ‘बैंकको वार्षिक प्रतिवेदन पर्याप्त छ, न त बस्ने ठाउँ, खाजा खानाको कुरै छोडौं । भद्रगोल नै भयो । लाखौंमा तलब सुविधा लिने व्यवस्थापन र अर्बाै रुपियाँ नाफा गर्ने बैंकको हालत बिर्सनलायक रहेको छ’ –साधारण सभा स्थलमा भेटिएका लगानीकर्ता विनोद उपाध्यायले बताउनुभयो ।

बैंकको व्यवस्थापन पक्षको लापरबाहीका कारण समस्या देखिएको लगानीकर्ताको गुनासो छ । लाखौंको संख्यामा सेयर सदस्य रहेको कम्पनीले सीमित व्यक्ति आउने आँकलन गरेर कार्यक्रम आयोजना गर्दा समस्या निम्तिएको प्रत्यक्षदर्शीको भनाइ छ । यस कुरालाई नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाको भनाइले पनि प्रमाणित गरेको छ । नेपाल समाचारपत्रसँग कुरा गर्दै ढुंगानाले भन्नुभयो– ‘नबिल बैंकका सेयर सदस्य लाखौंको संख्यामा छन् ।

यसपटक १५ सय जनाका लागि तयारी गरिएको थियो । त्यो संख्याका लगानीकर्ताले सभामा हस्ताक्षरसमेत गर्नुभएको छ ।’लाखको संख्यामा सेयर सदस्य हुने सयको मात्र तयारी गर्दा समस्या भएको लगानीकर्ताले बताए । बैंकको आकार प्रत्येक वर्ष बढ्दै छ । मर्जर र एक्जिनसनपछि बैंकको आकार ठूलो हुँदै जाँदा सेयर सदस्य पनि धेरै भएका छन् । साधारणसभामा भाग लिन पाउने लगानीकर्ताको अधिकार हो ।

तर, व्यवस्थापनको मन सानो हुँदै जाने र परम्परागत सोचका कारण सेयर सदस्यहरू साधारणसभामा भाग लिनबाट वञ्चित हुनुपर्ने स्थिति उत्पन्न भएको लगानीकर्ता सूर्य बुढाथोकीले बताउनुभयो । ‘अन्य दिनमा बैंकका सञ्चालक र उच्च कर्मचारीले बैंकमा मस्ती गर्छन् । साधारण लगानीकर्ताले एक दिन साधारण सभामा आफ्ना कुरा राख्ने हो । त्यस दिन नै लगानीकर्तालाई प्रवेश गर्नबाट रोक्नु गलत छ’, बुढाथोकीले भन्नुभयो–‘कि साधारणसभामा भाग लिनका लागि कुनै मापदण्ड बनाउनुप¥यो । अन्यथा लाखौंको संख्यामा रहेका सेयर सदस्यलाई भेडाबाख्राको व्यवहार गर्न हुँदैन ।

नियमक निकायको ध्यान जानुपर्छ ।’साधारणसभामा सञ्चालक र व्यवस्थापनका कमजोरीहरू ढाकछोप गर्नका लागि केही व्यक्तिलाई पैसा दिएर पक्षमा बोल्न लगाउने र कतिपय सदाबहार विरोधीलाई पैसा दिएर चुप लगाउने परम्परा रहेको अर्का लगानीकर्ता इन्द्र सुवेदीको भनाइ छ । ‘केही यस्ता पेसेवर लगानीकर्ता पनि छन् ।

जो अधिकांश कम्पनीको साधारणसभामा गएर बोल्नैपर्छ । त्यस्ता लगानीकर्तालाई व्यवस्थापनले चिनेको छ । उनीहरूलाई खुसुक्क प्रवेश गराउने खाम दिने गर्छन् ।

अरुको मतलब नै राख्दैनन्’ –उहाँले भन्नुभयो । गेटमा सेयर सदस्यहरूको नाराबाजीका बाबजुद नबिल बैंकले सेयरधनीलाई कुल ३० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले सेयरधनीलाई १८ दशमलव ५ प्रतिशत बोनस सेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

त्यस्तै, हिमालयन बैंकले ८ प्रतिशत बोनस, ११ दशमलव ११ प्रतिशत नगद लाभांश र सिभिल बैंकलाई १ सय बराबर ८० दशमलव २८ सेयर स्वाप अनुपातमा एक्वाएर गर्ने प्रस्ताव पारित गरेको छ ।

उजुरी आए कारबाही हुन्छ

डा. गुणाखर भट्ट
प्रवक्ता, नेपाल राष्ट्र बैंक

साधारण सभामा सेयर सदस्यहरूलाई प्रवेश गर्न नदिएको भन्ने विषयमा केन्द्रीय बैंकलाई कुनै जानकारी आएको छैन । यो घटना बैंकिङ नीतिभन्दा पनि बैंकको आन्तरिक व्यवस्थापनसँग सम्बन्धित विषय हो ।
साधारणसभामा सेयर सदस्यहरूलाई प्रवेश गर्न नदिएको हो भने उहाँहरूले राष्ट्र बैंकको गुनासो शाखामा उजुरी गर्न सक्नुहुन्छ । प्राप्त आधारसहित उजुरी आएको खण्डमा केन्द्रीय बैंकले अध्ययन गरी आवश्यक कारबाही अगाडि बढाउँछ ।

ढिला आउँदा समस्या भयो


ज्ञानेन्द्र ढुंगाना
सीईओ, नबिल बैंक

यो नबिल बैंकको ३८औं साधारण सभामा हो । यसपटक केही सेयर सदस्यहरू ढिला आएका कारण समस्या देखिएको हो । १५ सय जनाभन्दा बढी सेयर सदस्यले साधारणसभामा भाग लिनुभएको छ । विगतमा हजार÷ बाह्र सय जना सहभागी हुन्थे । यसपटक हामीले १५ सय जनाका लागि तयारी गरेका थियौं । त्यहीअनुरूप सेयर सदस्यहरू आउनुभएको छ ।
बिहान १० बजे साधारणसभा बोलाइएको थियो । तर, दिउँसासम्म उहाँहरू आउँदै हुनुहुथ्यो । त्यस बेला साधारणसभा सकिइसकेको थियो । म नै १ बजेसम्म त्यहाँ थिएँ । बिहान आउनेलाई गेट बन्द गरिएको थिएन । शुक्रबार १०÷१५ वटा कम्पनीको साधारणसभा थियो । त्यो भ्याएर आउँदा सायद उहाँहरूलाई ढिला भएको हुन सक्छ ।