मेयर साहका १० असफलता

0
Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति जनअपेक्षा कायम छ । तर, विगत आठ महिना लामो उहाँको कार्यकाल सफल देखिएको छैन । एकल निर्णय गरी एकलौटी पाराले अघि बढ्दा सफलताभन्दा असफलता बढी देखिएको छ ।

मेयर साहले वैज्ञानिक तरिकाले फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो, तर अहिले वैज्ञानिक फोहोर व्यवस्थापनको कुरा त परै जाओस् स्रोतमै फोहोर वर्गीकरण गर्ने विषय नै सेलाएको छ । बन्चरेडाँडा ल्यान्डफिल साइटमा जथाभावी फोहोर फाल्ने काम रोकिएको छैन ।

मेयर साह र उपमेयर सुनिता डंगोलसहितको टोली उपत्यकाको गोकर्णेश्वर र भक्तपुर नगरपालिकाले गरेको नमुना फोहोर व्यवस्थापन आवलोकन गर्न जाँदा नगरवासीमा ठूलो उत्साह थपिएको थियो । तर, फोहोर व्यवस्थापन हुन सकेन ।

महानगरका जनता मात्र होइन, साहकै कार्यालयका कर्मचारी उहाँको काम देखेर असन्तुष्टि पोखिरहेका छन् । उहाँले मेयर हुनुभन्दा करिब एक महिना पहिला राजधानीको होटल, रेस्टुरेन्टको शौचालयलाई सार्वजनिक शौचालयका रूपमा प्रयोग गर्नदिने निर्णय गर्नुभयो । तर, त्यो पनि प्रभावकारी कार्यान्वयन हुनसकेन । अहिले मेयरको सो योजना अलपत्र भएको छ ।

महानगरको स्वामित्वमा भएका शौचालयलाई व्यवस्थित गर्न नसकेको कामपाले व्यवसायीको शौचालय प्रयोग गराउन सकेन ।अनधिकृत संरचना हटाउने मेयरको अर्को योजना पनि सुस्ताएको छ । आफ्नो एकल निर्णय गर्दै केही दिन डोजरसहित संरचना भत्काउन पुगेका मेयर साह अहिले थाक्नुभएको छ । हामीलाई अवैध संरचना भत्काउने विषयमा कुनै कुरै गर्नुभएको छैन– एक कर्मचारीले भने, ‘शुरूमा त उहाँको जोश र जाँगर फरक थियो, अहिले सबै सेलाएजस्तो छ ।’

त्यस्तै, खुलामञ्चमा भूमिगत पार्किङ बनाउने योजना पूर्ण रूपमा असफल भएको छ । स्थानीय र सम्पदा संरक्षणमा जुटेका अभियन्ताले महानगरमै प्रदर्शन गरेपछि मेयर अहिले रोकिनुभएको छ ।

राजधानीका ठूला र व्यावसायिक भवनको बेसमेन्टमा पार्किङ गर्नुपर्ने भन्दै बेसमेन्ट खाली गराउन हिडेका मेयर साह अहिले चुपचाप हुनुहन्छ । विभागीय प्रमुखसँग भेट्ने र सम्बन्धित विभागको गुनासो र सुझाव सुन्ने काम ठप्प भएको छ । बोलेका कुरा पूरा गर्न नसकेकै कारण सबैको गाली खानुपर्ने अवस्था छ– महानगरपालिकाका एक विभागीय प्रमुखले नेपाल समाचारपत्रलाई भने ।

तर, कामपाका प्रवक्ता नवीन मानन्धरले मेयरले घोषणा गरेको काम महानगरपालिकाको हो, सबै कार्यान्वयन भइरहेको छ भन्नुभएको छ । सबै काम एकै पटक गर्नेभन्दा पनि तोकिएको समयमा पूरा हुदै गइरहेको दाबी गनुभयो ।

यद्यपि, महानगरका कर्मचारी मानन्धरको विचारमा सहमत छैनन् । एक प्राविधिक कर्मचारीले भने, ‘हामी प्राविधिक कर्मचारीसँग भेटघाट छैन, कर्मचारीसँग कुनै पनि विषयमा छलफल गरेको पाइँदैन, एकल निर्णयले गर्दा हामीले स्वामित्वको अनुभूति गर्न पाएका छैनौं ।’

कामपाले केही टेन्डर वडाबाटै गर्ने व्यवस्था गरेको छ । आर्थिक वर्ष शुरू भएको चारमहिना नाघिसक्दा पनि खरिद र टेन्डरको काम हुनसकेको छैन ।

काठमाडौं महानगरभित्र सबै सेवा अनलाइन बनाउने निर्णय कार्यान्वयन भएको छैन । सार्वजनिक स्थलमा धुम्रपान तथा सुर्ती सेवन गर्न निषेध गरिएको सूचना भदौ १ मा जारी भएको थियो । असोज १ बाट कार्यान्वयन गर्ने भनिएको थियो, सबै सूचनामै सीमित भएको छ ।

जयनेपाल हल छेउमा टुकुचा उत्खनन गर्न डोजर चलाए पनि अहिले खुला छ । पुरातत्व विभागले टुकुचालाई पहिलाकै अवस्थामा पुनर्निर्माण गर्नुपर्ने गरी प्रतिवेदन तयार पारेपनि साहमा सिथिलता शुरू भएको छ ।

अहिले टुकुचाको भत्किएको भाग खुला छ । गन्हाएर हिड्न नसक्ने अवस्था छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले ऐतिहासिक क्षेत्र भएका कारण टुकुचा नभत्काउन आग्रह गरेको बताउनुभयो ।

मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्ती हटाउन खोज्दा महानगर पछि हट्नुप¥यो । सुरक्षा निकायसँग समन्वयन नगरी बस्ती हटाउन पुग्दा कामपा प्रहरी प्रमुखसहित ३६ जना घाइते भए । यसको सम्पूर्ण दोष मेयर साहकै काँधमा गएको छ । उहाँले वडा कार्यालयसँग समेत समन्वयन नगर्दा समस्या देखिएको अधिकांशको भनाइ छ ।