सहिदको नाममा पक्राउ पुर्जी

0
Shares

दोलखा । धनकुमारी रिमाल, जसको तीन सन्तान (दुई छोरा र एक बुहारी) १० वर्षे सशस्त्र जनयुद्धका क्रममा सहिद भए । उनै धनकुमारी अहिले राज्यको अनावश्यक प्रश्नले पटक–पटक झस्किने गर्नुभएको छ ।

पुस २५ गते दिउँसो दोलखाको बैतेश्वर गाउँपालिका–७ मार्वुस्थित घरमै रहेकी धनकुमारीलाई गाउँमा आफ्नो छोरा खोज्दै आएको प्रहरीले झस्काइदियो । सशस्त्र जनयुद्धमा जेठा छोरा राजश्वराज रिमाल (केशवराज रिमाल), माइला छोरा केशरराज रिमाल र कान्छी बुहारी निरज्वालालाई गुमाएकी धनलक्ष्मीलाई एक मात्र जीवित कान्छा छोरा रेशमराज रिमाल (नवीन) लाई समेत प्रहरीले पक्रन्छ भन्ने चिन्ता भयो ।

सामाजिक न्यायको आन्दोलनमा सधैं अगुवाइ गर्ने परिवारको अभिभावक धनलक्ष्मी प्रहरीको आगमनले झस्किए पनि भयभीत भने बन्नुभएन र छोरालाई किन खोजेको भन्दै प्रहरी भएको ठाउँमा पुग्नुभयो । प्रहरीले जब आफूहरूले सशस्त्र जनयुद्धका क्रममा सहिद भइसकेको ठानेको छोराको नाम लिएर उनलाई लिन आएको बतायो धनलक्ष्मीको मनमा नयाँ कुतूहल र आक्रोश देखियो ।

छोरा सहिद भएको ठाने पनि शव देख्न नपाएको धनलक्ष्मीलाई कतै छोरा जीवितै छ कि भन्ने कुतूहल भएको थियो । अनि, राज्यले नै सहिद बनाएको छोरोलाई मृत्युपछि पनि पक्राउ गर्न प्रहरी पठाएर जीवित परिवारको सदस्यलाई समेत आतंकित बनाउन खोज्ने राज्यसँग आक्रोश पनि थियो । धनलक्ष्मीले भन्नुभयो– ‘प्रहरीले शुरूमा सहिद भइसकेको आफ्नो जेठो छोरा राजश्वराज रिमाल (केशवराज रिमाल) लाई खोज्न आएको भन्यो । पछि नाम सच्चाएर केशरराज रिमाललाई खोज्न आएको भन्यो ।’ ‘आफूले सहिद भइसकेको ठानेको छोराको नाम लिएर खोज्न आउँदा कतै छोरा जीवितै पो रहेछ कि भन्ने पनि लाग्यो’, धनलक्ष्मीले भन्नुभयो– ‘अनि मैले उसलाई भेट्नुभयो भने मेरोमा ल्याइदिनु होला भनेर जवाफ दिएँ ।’

‘उनीहरूले सहिदको अपमान गरेका हुन्, राज्यले नै पक्राउ गरेर हत्या गरेको आफ्ना छोराहरूलाई फेरि अनेक बहानामा पक्राउ गर्ने भन्दै हामी जीवितलाई समेत आतंकित बनाएको छ’ –धनलक्ष्मीले आक्रोश पोख्नुभयो । आफूले कलिलै उमेरमा सामाजिक न्यायमा सक्रिय श्रीमान्लाई समेत गुमाउनु परेको उहाँले बताउनुभयो ।

काठमाडौं जिल्ला अदालतको फैसला कार्यान्वयन इकाइले २०५९ सालमा विस्फोटक पदार्थसम्बन्धी मुद्दाको फैसला कार्यान्वयन गराउन दोलखा प्रहरीलाई उनको नाम उपलब्ध गराएपछि इलाका प्रहरी कार्यालय मैनापोखरीबाट सहिद केशरको खोजीमा पुस २५ गते दिउँसो प्रहरी टोली धनलक्ष्मीको घरमा पुगेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायब उपरीक्षक गंगा पौडेलले अदालतको फैसला कार्यान्वयन इकाइबाट पत्र आएपछि उपलब्ध नामका व्यक्तिको खोजीमा प्रहरी त्यहाँ पुगेको उल्लेख गर्दै उपलब्ध नामको मानिसको मृत्यु भइसकेको जानकारी पाएपछि सोहीअनुसारको विवरण लिएर प्रहरी फर्किएको बताउनुभयो ।

धनलक्ष्मी रिमालको जेठा छोरा राजश्वराज रिमाल (केशव रिमाल) लाई सशस्त्र जनयुद्धकै क्रममा २०५७ साल मंसिर १ गते ओखलढुङ्गामा राज्यपक्षले पक्राउ गरी हत्या गरेको थियो । त्यसै गरी माइला छोरा केशरराज रिमाललाई २०६० साल मंसिर १९ गते दोलखाको लामिडाँडा बन्चरे क्षेत्रमा राज्यपक्षले हत्या गरेको नेकपा माओवादीका तत्कालीन दोलखा जिल्ला सेक्रेटरी एवं मृतकहरूको कान्छा भाइ रेशमराज रिमाल (नवीन) ले बताउनुभयो ।