गौतमबुद्धको अस्तु, धातु, रामग्राम र मावलीस्थल पण्डितपुरको विकास र संरक्षणका लागि कोषद्वारा अवलोकन

0
Shares

बुटवल । गौतमबुद्धको अस्तु, धातु रहेको रामग्राम र बुद्धको मावली स्थलका रूपमा रहेको पण्डितपुरको विकास र पुरात्वातिक महत्वको संरक्षण गर्ने लक्ष्यसहित लुम्बिनी विकास कोषले स्थलगत अनुगमन शुरु गरेको छ ।

लुम्बिनीको विकाससँगै बुद्धसँग सम्बन्धित क्षेत्रको विकास अपरिहार्य रहेको निष्कर्ष निकालेको कोषले बुद्धसँग सरोकार र जोडिएका स्थलको पहिचान गर्दै विकास गर्ने हेतुले स्थलगत अनुगमनलाई तीव्र पारेको छ । हालै कपिलबस्तुको तिलौराकोटको स्थलगत अनुगमन गरेको कोषले बुधबार बुद्धको अस्तु, धातु रहेको रामग्राम स्तुपा र बुद्धस्थल पण्डितपुरको अवलोकन गरेको छ ।

कोषका उपाध्यक्ष भिक्षु मैत्तय अवधेश कुमार त्रिपाठाी, कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण), सदस्य सचिव सानुराजा शाक्य, योजना प्रमुख सरोज भट्टराई, बोर्ड सदस्य तथा परिषद् सदस्यसहितको टोलीले उक्त क्षेत्रको अवलोकन गरेको हो ।

गौतमबुद्धको अस्तु, धातु रहेको रामग्राम बुद्धमार्गीहरूका लागि पत्रिवस्थल रहेकाले यहाँको विकास गर्ने गरि स्थलगत अवलोकन गरिएको उपाध्यक्ष भिक्षु मैत्तयले बताउनुभयो । उहाँ बुद्ध भगवानको जीवनसँग जोडिएको महत्वपूर्ण स्थल रामग्राम भएकाले तत्काल र दीर्घकालिन रूपमा रामग्रामको विकास गरिने बताउनु भयो ।

उपाध्यक्ष मैत्तयले रामग्राममा तत्काल कोषको कार्यालय सञ्चालन गर्न, जग्गाको संरक्षणका लागि तारबार, पर्यटकका लागि खानेपानी, शौचालय र सूचना बोर्डहरू राख्न निर्देशन दिनुभयो । लुम्बिनी पछिको महत्वपूर्ण बुद्धस्थलका रूपमा रामग्रामको विकास गर्नुपर्ने उहाँले औल्याउनुभयो ।

नवलपरासीको रामग्राम नगरपालिका–७ झरही नदीको किनारमा रहेको रामग्रामलाई विश्वका बौद्धमार्गीहरूले पवित्रस्थलका रूपमा पुज्छन् । भगवान् बुद्धको अस्तु, धातु राखि निर्माण गरिएको आठवटा स्तुपामध्ये अहिलेसम्म बाँकी रहेको एकमात्र रामग्राम स्तुपा हो । बौद्धग्रन्थमा सम्राट अशोकले अन्यत्रबाटझैं रामग्राममा पनि अस्तु भिकेर चौरासी हजार स्तुप बनाउन चाहेको तर, त्यसो नगरेको उल्लेख छ ।

यसैगरि लुम्बिनी विकास कोषको टोलीले रामग्राम नगरपालिका–१८ स्थित बौद्धक्षेत्र पण्डितपुरको पनि अवलोकन गरेको छ । पुरातत्व विभागले बौद्धकालिन अवशेषहरू पत्ता लगाएपछि यो क्षेत्रलाई पुरातात्विक स्थलको रूपमा संरक्षण गर्दै आएको छ ।
कोलिय गणराज्यको राजधानी तथा बुद्धको मावली स्थलका रूपमा पण्डितपुर हुनसक्ने भएकाले यसको पुरातात्विक महत्व उजागर गर्नका लागि लुम्बिनी विकास कोषले यो क्षेत्रको अवलोकन गरेको कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण)ले बताउनु भयो ।

पुरातत्व विभागले उत्खन्न गर्दा बुद्धकालिन अवशेषहरू प्रशस्त देखिएकाले यसलाई बुद्धस्थलका रूपमा लुम्बिनी विकास कोषले संरक्षण र विकास गर्ने उहाँले बताउनुभयो । हाल पण्डितपुर क्षेत्र अतिक्रमित हुँदै गएकाले यसको संरक्षणमा कोषले चासो देखाएको हो ।

रामग्राममा तत्तकाल केही निर्माणहरू गर्नुपर्ने र कार्यालयसमेत सञ्चालन गर्नुपर्ने आवश्यकता देखिएकाले त्यसको तयारीमा लाग्ने कोषका सदस्य सचिव सानुराजा शाक्यले बताउनुभयो । रामग्राम स्तुपाको गुरुयोजनासमेत बनेको र तत्तकाल केही आवश्यक पूर्वाधार निर्माण थाल्ने गरि निर्देशन आएको योजना प्रमुख सरोज भट्टराईले बताउनुभयो । अवलोकनमा कोषका बोर्ड सदस्य विश्व पौडेल, परिषद् सदस्य सरोज भट्टराई, अर्का परिषद् सदस्य धनराज कँडेल लगायतको सहभागिता रहेको थियो ।

टोलीले सुनवल ७ तरगौलीस्थित देवदह मध्यमागी बौद्धगुम्बा एवं विहारको समेत अवलोकन गरेको छ । उक्त अवसरमा सुनवल नगरपालिकाका उपप्रमुख सूर्यप्रसाद दुवे, सुनवल–७ का वडाअध्यक्ष नारायण प्रसाद आचार्यले लुम्बिनीसँग जोडेर क्षेत्रको विकास गर्न आग्रह गर्नुभयो ।