घरदैलोमा घुम्ती शिविर : गाउँले खुसी !

0
Shares

धाइरिङ । धाइरिङको रोचा गाउँमा स्थानीय दर्जी समूहलाई जलजला गाउँपालिकाले पञ्चेबाजाका लागि वजेट विनियोजन गरेको छ ।

वजेट निकासाका लागि सम्झौत ागर्न गाउँबाट गाउँपालिका केन्द्रमा पुग्न समय बढी नै लाग्ने भएकाले जाने समय व्यवस्थापन गरिएको थिएन । तर, गाउँमा नै घुम्ती शिविरमा योजना सम्झौता गर्न पाउँदा समूहका सचिव शुक्रराज दर्जी खुसी देखिनुभयो । ‘पालिकाको केन्द्रमा जान समय मिलाउन सकेका थिएनौँ’ उहाँले भन्नुभयो– ‘गाउँमा नै सेवा पाउँदा सजिलो भएको छ ।’

जलजला गाउँपालिकाले नागरिकले लिनुपर्ने सेवालाई सहज बनाउन वडा–वडामा नै पुगेर घुम्ती शिविर सञ्चालन गरेको छ । धाइरिङमा भएको घुम्ती शिविरमा नै मालपोत कर तिरेपछि बृद्ध लालबहादुर थापाले भन्नुभयो– ‘लामाखेतमा पुगेर तिर्न गाह्रो थियो, गाउँमै तिर्न पाउँदा खुसी छु ।’

गाउँपालिकाको कार्यालयबाट प्रवाह गरिने सेवा लिन गाउँपालिकाको केन्द्रमा नै आउनुपर्ने बाध्यता अन्त्य गर्न तथा नागरिकलाई सेवा प्रदानमा सहज बनाउन शिविर अभियान सञ्चालन गरेर सेवा दिन थालिएको हो ।

गाउँपालिकामा आएर सेवा लिँदा सेवाग्राहीले धेरै यात्रा गर्नुपर्ने तथा सेवाग्राहीको समय धेरै खर्च हुने भएकाले शिविर अभियान शुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताउनुभयो ।

गाउँपालिकाको कार्यालयबाट खटिएर गएका कर्मचारी नौवटै वडामा पुग्ने र गाउँपालिकाको कार्यालयमा पुगेर लिनुपर्ने विभिन्न सेवा शिविरबाटै उपलब्ध गराईरहेका छन् । शिविरमा सम्पत्ति तथा भूमि कर, सम्बन्धित वडाका योजना सम्झौता गर्ने, अपाङ्गता परिचयपत्र वितरण तथा निवेदन संकलन, व्यवसाय नवीकरण, ८० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक र ‘क’ वर्गको अपाङ्गता भएका व्यक्तिलाई जाडो छल्ने न्यानो कम्बल वितरण, निःशुल्क स्वास्थ्य परीक्षण लगायतका सेवा प्रदान भइरहेको शिबिरमा भेटिनुभएका उपाध्यक्ष आचार्यले बताउनुभयो ।

जीपकाे यात्रा गरेर गाउँपालिकाको केन्द्रमा आउँदा नागरिकलाई सास्ती हुने भएकाले जनतालाई सहज होस् भनेर शिविर सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताउनुभयो ।

‘गाउँपालिकाको केन्द्र नजिकै रहेका सेवाग्राहीलाई समस्या नहोला । सेवा लिनकै माथि माथिबाट बेँसीमा आउनुपर्ने अवस्थामा नागरिकलाई सास्ती हुन्छ । गाडीमा आउँदा खर्च हुने, उहाँहरुको पूरै दिन जाने अवस्था छ’, उहाँले भन्नुभयो । ‘सबै प्रकारका सेवा दिने गरी कर्मचारी र जनप्रतिनिधिहरु शिविरमा भेला भएपछि एकै दिनमा सयौँ जनालाई सेवा दिन सकिन्छ । हाम्रो काम नै जनताको अवस्थामा सकेसम्म सजिलो पार्ने हो, उहाँहरुलाई सघाउने हा े।’ गत पुस १४ गते बसेको कार्यपालिकाको बैठकअनुसार शिविर सञ्चालन भईरहेको छ ।

भूमि कर तिर्नकै पुग्नुभएका बृद्ध बेदानन्द आचार्यले आफूहरुलाई सजिलो भएको बताउनुभयो । ‘माझफाँटबाट लामाखेत पुग्न त कठिन हुन्छ नि ! गाडीमा जाऊ गाडीमा आऊ ।

तिर्नुपर्ने करभन्दा गाडीको भाडा धेरै जान्थ्यो’, उहाँले भन्नुभयो ‘अब सधैँभरि यसरी नै वडाबाट काम गरिदिए हामीलाई किन गाह्रो हुन्थ्यो र ? गाउँकै छोरा नातिले जितेपछि हामीलाई त सजिलो हुनैपर्छ ।’