एमसीसीअन्तर्गत अमेरिकी सेना नेपाल आउने हल्ला निराधार- अमेरिकी राजदूत थम्पसन

0
Shares

काठमाडौं । अमेरिकी राजदूत डीन आर थम्पसनले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत अमेरिकी सेना नेपाल आउने भन्ने हल्ला निराधार भएको बताउनुभयो ।

राजदूत थम्पसनले बुधबार संचारकर्मीहरू छलफल गर्ने क्रममा एक प्रश्नको उत्तर दिंदै उहाँले एमसीसी परियोजना नेपालीको लागि नेपालले नै रोजेको र यसको कार्यान्वयन पनि नेपालले नै गर्ने भएकोले अमेरिकी सेना नेपाल आउने कुनै सम्भावना नै नरहेको दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘एमसीसी परियोजनामा काम गर्न आउने अमेरिकी नागरिकहरूको सुरक्षाका लागि अमेरिकी सेना आउने भन्ने हल्ला सरासर निराधार हो । म स्पष्ट पार्न चाहन्छु, जसरी नेपालस्थित हाम्रा दूताबासका कर्मचारीहरू र यहाँ कार्यरत् अमेरिकी पीस कोरअन्तर्गत यहाँ कार्यरत् अमेरिकी नागरिकहरूको सुरक्षा नेपाल सरकारले गरिरहेको छ, एमसीसी परियोजनामा काम गर्ने अमेरिकी नागरिकको सुरक्षा पनि नेपाल सरकारले नै गर्छ ।’

एमसीसीअन्तर्गत नुवाकोटको रातमाटेमा निर्माण गर्न लागिएको विद्युत सबस्टेशनबारे स्थानीयले विरोध गरेको र दाङमा बन्न लागको सडकका लागि स्थानीय प्रशासनको जानकारी विना नै सयौं रुख काटिएको भन्ने खबरका बारेमा सोधिएका प्रश्नको जवाफमा उहाँले एमसिए नेपालका अधिकारीहरूले सम्बन्धित ठाउँमा गएर ती घटनाहरूबारे सत्यतथ्य बुझिरहेको बताउनुभयो । राजदूत थम्पसनले भन्नुभयो–‘अनावश्यक रुपमा वातावरण विनास गर्ने काम हामीलाई कदापी स्वीकार्य छैन । ती रुखहरू किन र कसले काटेको हो भन्ने बुझ्ने काम भइरहेको छ । त्यस्तै स्थानीयसँगै सरसल्लाह गरेर काम अघि बढाउने हाम्रो नीति हो । नुवाकोटमा पनि किन विरोध भएको हो, त्यो बुझेर समस्या समाधान गर्न एमसीएले लागिपरेको छ ।’

कुराकानीका क्रममा राजदुत थम्पसनले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने नेपालको निर्णयलाई अमेरिकाले शतप्रतिशत सम्मान गरेको बताउँदै नेपालको उक्त निर्णयले दुई देशबीचको मैत्री सम्बन्धमा कुनै असर नगर्ने स्पष्ट पार्नुभयो । उहाँले नेपालले आफ्नो आर्थिक, राजनीतिक वा अन्य कुनै पनि नीति लिँदा नेपालीको सर्वोत्तम हित, आर्थिक उन्नतिका साथै विकासका लागि ध्यान दिनुपर्ने हुन्छ, त्यसमा अरुले हस्तक्षेप गर्ने सवाल नै नरहने बताउनुभयो ।

त्यस्तै अमेरिकाले नेपाललाई भारतको आँखाबाट हेर्ने गरेको भन्ने सम्बन्धमा राजदूत डीन आर थम्पसनले भन्नुभयो– ‘अमेरिका र नेपालबीच ७५ वर्षभन्दा लामो मित्रवत् सम्बन्ध छ । अमेरिकाले नेपाललाई अरु कसैको नजरबाट हेर्नु आवश्यक छैन, द्विपक्षिय सम्बन्धकै आधारमा हेर्ने गरेको छ ।’