सल्यानी खुकुरी विश्व बजारमा ब्राण्डिङ गरिँदै

0
Shares

सल्यान । सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि विश्व बजारमा पहिचान स्थापित गराउन शारदा नगरपालिकाले योजना अघि सारेको छ ।

पछिल्लो समय युवा पुस्ताको जागर हराउँदै गएको र सल्यानी खकुरी पनि लोप हुने डरले नगरपालिकाले खुकरी ब्राण्डिङ गरि विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यले योजना अघि सारेको हो ।

सल्यानी खुकुरीको माग दिन प्रतिदिन बढ्दो छ । खुकुरी उपहार दिनेक्रम बढेसँगै यसको माग पनि बढेको जिल्लाको शारदा नगरपालिकामा विश्वकर्मा परिवारलाई भ्याइ नभ्याइ हुन्छ ।

तर, खुकुरी बनाउने काममा युवा पुस्ता भने संलग्न छैन । देशमै प्रसिद्ध सल्यानी खुकुरीलाई ब्राण्डिङ गरि विश्व बजारमा पहिचान स्थापित गराउने उद्देश्यका साथ नगरपालिकाले योजना अघि सारी खुकुरी व्यवसायीसँग छलफल गरि समिति गठन गरेको छ ।

उनीहरूलाई नगरपालिकामै बोलाएर ११ सदस्यीय समिति गठन गरिएको नगरप्रमुख प्रकाश भण्डारी बताउनुभयो । उहाँका अनुसार– ‘समितिले खुकुरी व्यवसायीलाई एकीकृत गरि सीप, तालिम र उत्पादनको कामलाई अगाडि बढाउने छ । त्यसका लागि नगरपालिकाले उचित कार्यक्रम, बजेट व्यवस्थापन र माथिल्लो निकायसँग पहल गर्नेछ ।’

अहिलेसम्म व्यवसायिकभन्दा पनि निर्वाहमूखी खुकुरी बनाउने पेशा अङ्गालेका स्थानीयलाई प्रोत्साहित गर्दै व्यावसायिक खुकुरी उत्पादनमा लाग्ने वातावरण सिर्जना गर्न खुकुरीको प्रवद्र्धन, ब्राण्डिङ र बजारीकरणको योजना अघि सारिएको नगरप्रमुख भण्डारीले बताउनुभयो ।

जिल्लामा सल्यानी, सिरुपाते, ओखोला, टोरा दुईचिरा, हवल्दार, क्षेत्रीलगायत नामका खुकुरी व्यवसायीहरूले उत्पादन गरिरहेका छन् । खुकुरी, उपहारस्वरूप दिनेक्रम बढेकाले माग बढे पनि उनीहरूले मागअनुसार उत्पादन गर्न सकेका छैनन् ।

खुकरी बनाएर एक जनाले मात्रै मासिक २० हजार रूपियाँभन्दा बढी कमाउने गरे पनि युवा पुस्ता यो पेशामा संलग्न नभएको खुकुरी व्यवसायी विष्णु विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार– ‘जनशक्तिको अभावका साथै कोइला पनि पर्याप्त मात्रामा नपाइने समस्या छ । देशभित्र मात्र होइन, देश बाहिर जानेहरूले पनि उपहारका रूपमा खुकुरी रोज्ने गरेका छन् । यहाँ उत्पादन हुने खुकुरी सल्यानकै चिनारी बनिसकेको छ । तर, नयाँ पुस्ताले रुचि नदेखाएकाले पुरानो पुस्ताबाटै पुख्र्यौली पेशा हराउने त होइन भनेरमा चिन्ता छ ।’

प्रमुख भन्डारी भन्नुहुन्छ– ‘सल्यानी खुकुरीको प्रवद्र्धन र ब्राण्डिङ गरेर बजारीकरणका लागि नगरपालिकाले काम गरिरहेको छ । ‘खुकुरी बनाउने तालिम दिने, आधुनिक उपकरण प्रदान गर्ने, खुकुरीको ब्राण्डिङ गरेर बजारीकरण गर्ने कार्यका लागि नगरले समन्वय तथा सहजीकरणको काम गरिरहेको छ । आरन व्यवसायीहरूलाई एकै ठाउँमा राखेर खुकुरी उत्पादन गर्ने उद्योगको रूपमा विकास गर्ने लक्ष्य रहेको छ ।’

सल्यानी खुकुरी उपहारका रूपमा काठमाडौं, नेपालगञ्ज, बुटवल, विराटनगर, झापादेखि अमेरिका, अस्टे«लिया, युरोप, जापानलगायत देशमा पठाउने गरिएको छ । एउटा खुकुरीको एक हजारदेखि सात हजार पाँच सय रुपैयाँसम्म बिक्रि हुने गरेको खुकुरी व्यवयसायी बताउँछन् ।