जनचेतनाको कमीले मष्तिष्क मृत्युपछिको अङ्गदान कानुनमै सीमित भयो : डा. पुकार



भगवती तिमल्सिना

नेपालकै जेठो वीर अस्पतालमा सन् २००८ मा मिर्गौला प्रत्यारोपण शुरू गर्दा विश्व स्वास्थ्य संगठन (लब्लूएचओ) को अध्ययनमा नेपालमा मिर्गौलाले काम नगर्ने समस्याका ९० प्रतिशतभन्दा बढी व्यक्ति केही महिनामै मृत्युवरण गर्ने अवस्थामा पुग्ने देखाएको थियो । यो अत्यन्तै कहालीलाग्दो र गम्भीर रिपोर्ट थियो ।

कुनै पनि अरू रोग लाग्दा छोटो समयमा यति धेरै संख्यामा मृत्यु भएको हुँदैन । क्यान्सर रोग लाग्दा पनि यस्तो भयावह स्थिति आउँदैन । त्यसबेला डायलासिसको अत्यन्तै न्यून सुविधा थियो, धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरका कार्यकारी डा. पुकारचन्द्र श्रेष्ठ भन्नुहुन्छ ।डायलासिस मेसिन वीर अस्पताल र अन्य केही अस्पतालमा मात्र सीमित थियो । महिनाको ४० देखि ५० हजार रुपियाँसम्म खर्च गरेर बाँच्नसक्ने हैसियत सर्वसाधाराणमा थिएन र धनीमानी व्यक्तिले मात्र डायलासिस सुविधा लिनसक्थे । गरिब जनताले डायलासिस गर्न नसक्ने र नपाउने, प्रत्यारोपण सुविधा नेपालमा छँदै थिएन ।

त्यस अवस्थामा विश्व स्वास्थ्य संगठनको अध्ययन सही थियो । तर, आजको परिस्थिति विलकुल फरक छ । नेपाल सरकारले मिर्गौला प्रत्यारोपण र डायलासिस निःशुल्क गरेको अवस्था छ । यस अवस्थामा नेपाल सरकारलाई आम नेपालीले अत्यन्तै धन्यवाद दिनुपर्छ । सरकारले सहयोग गरेकै कारण व्यापक रूपमा डायलासिस सेवा विस्तार गर्ने कार्यक्रम पनि भएको छ । प्रत्यारोपण पनि धेरै ठाउँमा खुलेको र खुल्ने क्रममा छ । यस केन्द्रले वार्षिक दुई सय जनाको प्रत्यारोपण गर्छ, त्यो पनि ९९ प्रतिशत सफलताका साथ ।

यस अस्पतालमा १० वर्षको अवधिमा २०७९ सालको पौष २५ गते सोमबार सम्ममा १ हजार जनाको मिर्गौला प्रत्यारोपण भइसकेको छ । एकसाता अघिसम्म ९ सय ९२ जनाको मिर्गौला प्रत्यारोपण सफलताका साथ सम्पन्न गरिएको थियो । सेवाको हिसाबले सह्रानीय र उपलब्धिमूलक काम भएको छ तर वर्षेनी ३ हजार जनाको मिर्गौला फेल हुन्छ भने हामीले २ सय जनाको मिर्गौला प्रत्यारोपण गरेर माग पूरा हुनसक्ने कुरैछैन । तर, सुरुआत राम्रो भएको छ ।

विश्व स्वास्थ्य संगठनले त्यतिबेला ९० प्रतिशत मिर्गौला फेल भएका नेपालीको केही महिनामा नै मृत्यु हुन्छ भन्ने जुन प्रतिवेदन थियो अहिले हाम्रो केन्द्रको मूल्याङ्कनले प्रत्यारोपण गरेकामध्ये ९८ प्रतिशत बाँचिरहेका छन् र डायलासिसमा बसेकामध्ये ९० प्रतिशतभन्दा बढीको अवस्था पनि सन्तोषजनक नै छ । भनाइको अर्थ, माइनस ९० बाट प्लस ९८ मा हामी छौं । यो अत्यन्तै राम्रो काम भएको छ । एउटा संस्थाले सानो संख्यामा मिर्गौलाका बिरामीलाई राहत दिएको छ । यो देशभरिका लागि पूर्ण हुन र यसले मात्र माग धान्न सक्दैन । तर, नेपालको सरकारी संस्थाले यो जुन किसिमको उपलब्धि हासिल गरिरहेको छ यसलाई नमुना वा पाइलट प्रोजेक्टको रूपमा लिनुपर्छ ।

देशभरि यसका शाखाहरू खोल्दै सातै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र विस्तार गर्नु आवश्यक देख्छु । अब मिर्गौलाका बिरामीको समयमै उपचार गरे ९० प्रतिशत बचाउन सकिन्छ भन्ने प्रमाणित भइसकेको अवस्थामा सेवा विस्तार गरी सकारात्मक सन्देश जनमानसमा पु¥याउने र प्रमाणित गरेर देखाउने बेला आएको डा. श्रेष्ठ बताउनुहुन्छ ।

सेवा विस्तारका विषयमा नेपाल सरकारको कार्यक्रममा पनि उल्लेख भएको र मानव अंग प्रत्यारोपण केन्द्रले पनि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुर्खेतको प्रादेशिक अस्पताल, धनगढीको प्रादेशिक अस्पताल र हेटौंडाको मदनभण्डारी प्रतिष्ठानमा पनि शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले समझदारी पत्रमा हस्ताक्षर गरेर पोखरामा ६ जनाको मिर्गौला प्रत्यारोपण गरिसकेको अवस्था छ । सुर्खेतमा यही महिनाभित्रै मिर्गौला प्रत्यारोपण शुरू गर्दैछौं । क्रमशः धनगढी, हेटांैडा, भरतपुर हुँदै पूर्वमा पनि हामी जाने योजना छ डा. श्रेष्ठ भन्नुहुन्छ ।

छुट्टै अस्पताल खोलेर अघि बढ्दा धेरै खर्च हुने भएकाले विस्तारित कार्यक्रमअन्तर्गत चलिरहेको अस्पतालमा एउटा कार्यक्रम थप गर्नेगरी हामीले सम्झौता गरेका छांै । सरकारी अस्पतालमा सहकार्य गरेर त्यहाँको र यताको जनशक्तिको संयोजनमा कार्यक्रम शुरू गर्ने र विस्तारै आवश्यक तालिम दिएर सम्बन्धित अस्पताललाई नै कार्यक्रम हस्तान्तरण गर्ने योजना छ । एकै रातमा यो सम्भव छैन विस्तारै गर्दै जाने कार्यक्रम हो ।
शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्र रहेको स्थान अपुग भइरहेको अवस्था छ । मिर्गौलाका बिरामी धेरै छन् । दक्ष

जनशक्ति, उपकरण स्थान अभाव सबै ठाउँमा त्यतिकै छ । त्यसैले, यो अस्पताल १ सय ५० बेडबाट ५ सय बेड बनाउन आवश्यक देख्छु । नयाँ अस्पताल खोल्दै जानुभन्दा चलिरहेको अस्पतालमै सेवा विस्तार गरौं र बलियो जानको लागि पूर्वाधारहरू थप्ने कार्यक्रम बनाउनुपर्छ । ‘एकैपटक नयाँ–नयाँ भवन बनाएर मात्र सेवा दिन्छु भन्यो भने धेरै वर्ष लाग्छ । अहिले स्थापित अस्पतालमै यो सेवा विस्तार गर्नु नै सबैभन्दा राम्रो उपाय हो भन्ने लाग्छ’– निर्देशक श्रेष्ठ भन्नुहुन्छ ।

मिर्गौलाका बिरामीको स्क्रीनिङ गर्ने काम शुरू भएको छ, यसलाई व्यापक बनाउनु जरुरी छ । रोकथाम नै सबैभन्दा जरुरी कुरा हो । स्क्रीनिङ गर्दा रोगको सुरुआतको अवस्था थाहा हुनसक्छ । समयमै रोग पत्ता लाग्यो भने सही उपचार गर्न पाइयो र निको पार्न सकियो ।

स्क्रीनिङ जति हुनुपर्ने त्यति भएको छैन । सबैभन्दा महत्वपूर्ण हामी आफ्नो स्वास्थ्यका विषयमा सचेत नै छैनौं, उहाँ भन्नुहुन्छ, ‘हामी मलाई के भएको छ र, म त स्वस्थ छु भन्छौं । मिर्गौला ९० प्रतिशत फेल भएपछि मात्र बल्ल लक्षण देखापर्छ, यतिबेला धेरै ढिलो हुन्छ । फेल भएपछि प्रत्यारोपण र डायलासिस गर्नुको विकल्प छैन । त्यो अवस्था नपुग्दै शुरूकै अवस्थामा थाहा पाउनका लागि मेरो मिर्गौला ठीक छ कि छैन भनेर कम्तीमा वर्षमा एकपटक जाँच गर्नैपर्छ । त्यसो गर्दा रोगको अवस्था थाहा हुन्छ, रोग छैन भने फेरि एकवर्ष ढुक्क भएर बस्न पाइयो । रोग पत्ता लाग्यो भने त्यसको विस्तृत अनुसन्धान गरेर उपचार गरेर निको पार्न सकिन्छ ।’

कोभिड– १९ जस्ता महामारीले विश्वलाई नै असर पा¥यो र मिर्गौलाका बिरामीलाई मात्र असर पारेन यस्तो बेलामा पहिला कोभिडबाटै बच्ने र बचाउने, त्यसपछि मात्र अन्य उपचार गर्ने भयो । कोभिडका बेला निकै कठिनाइका बाबजुद, सावधानीका बाबजुद पनि चिकित्सक, स्वास्थ्यकर्मी, बिरामीको ज्यान सुरक्षित राख्न गाह्रो परेकै हो । त्यसैले पहिलो प्राथमिकता यथेष्ट मात्रामा सुरक्षा अपनाएर प्रत्यारोपण सेवा दिने अवस्थाबाट विमुख चाहिँ हुनुहुन्न ।

कोभिडको बहानामा यो सेवा ओझेलमै पारेर बस्छु भन्न पाइन्न, प्राथमिकता कोभिडलाई नै दिनुपर्र्छ । कोभिडका कारण मात्र नभई अन्य कारणले पनि मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बिरामी निकै पछि परेको अवस्था छ । यही संस्थामा ७ सयको हाराहारीमा प्रतीक्षामा छन् । विभिन्न कारणले यस संस्थामा केही वर्षअघि प्रत्यारोपणमा कमी आएको थियो ।

डा. श्रेष्ठका अनुसार हालसम्म नेपालका मानव अंगप्रत्यारोपण केन्द्र सहित अन्य हस्पिटलहरू समेतले गरी नेपालभरि वीर, त्रिवि शिक्षण अस्पताल र ४ वटा निजी क्षेत्रबाट सञ्चालित अस्पतालहरूमा गरी २ हजार १ सय जनाभन्दा बढीको मिर्गौला प्रत्यारोपण कार्य भइसकेको छ । शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रले नेपालमै पहिलोपटक शुरू गरी ९ जनाको कलेजो प्रत्यारोपण पनि सफलतापूर्वक सम्पन्न गरिसकेको छ भने ३ जनाको प्रत्यारोपणका लागि तयारी भइरहेको छ । यसका साथै, मुटुको स्तरीय कार्डियोलोजी सेवा सञ्चालन भइरहेको छ ।

यस संस्थाका चुनौतीका विषयलाई नियाल्ने हो भने नेपाल सरकारकै नीति तथा कार्यक्रमअन्तर्गत यस केन्द्रलाई दुईवटा विषयमा महत्व दिएको छ । पहिलो ७ वटै प्रदेशमा सेवा विस्तार गर्ने र सेवा विस्तारका लागि आवश्यक पर्ने विशिष्ट खालको जनशक्ति उत्पादन गर्नका लागि प्रतिष्ठानका रूपमा विस्तार गर्ने पनि घोषणा भएको छ ।

यस कामका लागि प्रशासनिक कामहरू अगाडि बढेर मन्त्रालयमा पुगिसकेको छ र छिटै नै टुंगो लाग्छ भन्ने मलाई विश्वास छ, डा. श्रेष्ठ भन्नुहुन्छ– यो देशको लागि अति नै आवश्यक छ, अंग फेल हुने, नसर्ने रोगको अवस्था अति नै भयावह छ । ७२ प्रतिशत मृत्यु नसर्ने रोगबाट हुन्छ । अंग फेल हुने, क्यान्सर, मुटुको रोग आदि प्रमुख रहेको छ । त्यसैले सरकारले विशेष प्राथमिकताका साथ कार्यक्रम अगाडि ल्याएको छ । यो अत्यन्तै सराहनीय र उपयोगी छ, आशा गरौं यसको कार्यान्वयन चाँडै हुँदैछ ।

ब्रेनडेथ (मष्तिष्क मृत्यु) को नियम, कानुन जुन अवस्थामा बनेको छ, त्यसको तुलनामा उपलब्धि हुन नसकेको वा लागु हुन नसकेकै मान्नुपर्छ । कानुन बनेको ६ वर्षमा ४ जना मष्तिष्क मृत्यु भएका व्यक्तिबाट ८ जनाको मात्र मिर्गौला प्रत्यारोपण र २ जनाको कलेजो प्रत्यारोपण भएको छ ।

जबकि, एक वर्ष वर्षमा १ हजार जनाको मष्तिष्क मृत्यु हुन्छ । यति ठूलो संख्यामा मष्तिष्क मृत्यु भए पनि अंगदान चै अत्यन्त न्यून मात्रामा हुने गरेको छ । यसको प्रमुख कारण जनचेतनाको अभाव नै हो । ‘व्यापक जनचेतनाको खाँचो छ, जनचेतना भएको खण्डमा खरानी या माटोमा मिल्ने अंग सबैले दान दिनुहुन्थ्यो र धेरै नेपाली दाजुभाइ दिदीबहिनीले पुनर्जीवन पाउनुहुने थियो । अंग नपाएकै कारण बिरामीहरू डायलासिसमा बस्न बाध्य छन्’– डा. श्रेष्ठ भन्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्