भाषा मात्र नेपाली अनि कलाकार र प्राविधिक चाहिँ भारतीय, सुटिङ, सम्पादन र डबिङ पनि भारतमै, श्यामश्वेत प्रविधि, मोनो ध्वनि प्रणाली, सात दशकअघि सत्य हरिश्चन्द्रबाट यसरी शुरू भएको नेपाली फिल्मको बाटोले अब सुविधा सम्पन्न राजमार्गको रूप धारण गरिसकेको छ ।
फिल्मका विभिन्न प्रविधिसँगै हलहरू पनि डिजिटलाइज भएपछि नेपाली फिल्म क्षेत्र अहिले धमिलो चित्र तथा नमिठो गन्ध आउने हलबाट परिस्कृत भई अत्याधुनिक सुविधायुक्त शानदार सिनेमा घरमा परिणत भएको छ ।
आरामदायक र अत्याधुनिक सुविधासम्पन्न हलले नेपाली फिल्मका दर्शकलाई लोभ्याइरहेका छन् । एकतिरबाट मात्र आवाज आउने अस्पष्ट ध्वनि प्रणालीको साटो सोराउन्ड साउन्ड सिस्टमले जीवन्तताको अनुभूति पनि उसैगरी गराइरहेको छ ।
फिल्म निर्माणमा पनि अत्याधुनिक क्यामरा र क्रेनदेखि ड्रोनका साथ भीएफएक्स, कलर ग्रेडिङजस्ता विकसित प्रविधिको समुचित प्रयोगसँगै निर्देशक र कथाकारले कल्पना गरेजस्तै फिल्म बन्न सम्भव भएको छ । सबै पक्षले तयार भई पर्दासम्म पुगेका कथानक दृश्यले दर्शकलाई आकृष्ट गरिरहेको छ । सासु बुहारीको झगडा तथा जमिन्दार र मुखियाको थिचोमिचोमै रुमल्लिएको नेपाली फिल्म केही समययता आएर किशोर किशोरीको मन छाम्न सफल भएको छ भने ग्रामीण परिवेश नै कथानक प्रस्तुतिको आकर्षण मान्ने मानसिकता पनि फेरिएको छ ।
झन्डै पौने शताब्दी लामो इतिहास रचिसकेको स्वदेशी फिल्म वर्तमानमा आएर विदेशी फिल्मको स्तरमा आइपुगेको छ, तर वर्षमै अरबौं लगानी हुने यो क्षेत्रले त्यस अनुपातमा लगानी फिर्ता दिन नसक्नु अहिले पनि चुनौतीकै विषय बनेको छ भने लगानीको अनुपातमा मुनाफा कमाउनु र नेपाली फिल्मलाई विदेशका सार्वजनिक हलसम्म पु¥याई पहिचानमा ल्याउनु अबको लक्ष्यको विषय बनेको छ ।
विदेशी फिल्मले नेपालमा रातो कार्पेटका साथ रातारात सहजै प्रवेश पाइरहँदा नेपाली फिल्मले बल्ल बल्ल अन्तर्राष्ट्रिय बजारको बाटो पहिल्याउन थालेको छ । विश्वका धेरै देशमा नेपाली फिल्मले प्रवेश पाए पनि त्यहीँका नागरिकले समेत हेर्ने र वाह भन्ने वातावरण बनाउन नेपाली फिल्म क्षेत्र अहिले पनि अलमलमा परिरहेको छ। प्रेमगीत ३ ले यसका लागि ढोका खोल्ने काम गर पनि अधिकांश नेपाली फिल्म त्यहाँमात्र पुगिरहेका छन्, जहाँ नेपालीको वसोबास छ । अधिकांश नेपाली फिल्म विदेशसम्म पुगे पनि केवल होटल र रेस्टुराँका सीमित नेपाली दर्शकमाझ खुम्चिरहेको छ । विदेशी फिल्मले नेपालका हलमा पकड जमाए जसरी अत्यन्त न्यून नेपाली फिल्मले मात्र विदेशका हल देख्न पाएका छन् ।
नेपालजस्तो थोरै जनसंख्याले मात्र फिल्म हेर्ने तथा फिल्म हेर्ने संस्कृति विस्तारै फर्कंदै गरको पक्षलाई हेर्दा यो घडी र यात्रामा धेरै खुशी हुनुपर्ने ठाउँ पाईंदैन । नेपाली भाषामा भारतमा बनेको सत्य हरिशचन्द्र होस् या नेपाली भूमिमा नेपाली कलाकारलाई नै लिएर निर्माण गरिएको आमा किन नहोस्, जसलाई नेपाली फिल्मको पहिलो कडी माने पनि एक प्रतिशत जनताले पनि नहेर्ने नेपाली फिल्म क्षेत्रले उद्योगका रूपमा सरकारी मान्यता नपाउनुका बाबजुद करिब करिब उद्योगकै रूपमा आजको घडीसम्म आइपुग्नु उल्लेखनीय र महत्वपूर्ण विषय मान्न सकिन्छ ।
केही दशक अघिसम्म पनि धेरैजसो प्राविधिक कार्य पूरा गर्न भारतकै भर पर्नुपर्ने नेपाली फिल्म क्षेत्रका सम्पूर्ण कार्य अहिले स्वदेशमै सम्पन्न हुन सक्नु पक्कै पनि उत्साहजनक विषय भएको छ । यद्यपि, अहिले पनि नेपाली फिल्म केवल प्रयोगका हिसाबले निर्माण भइरहेका छन् । थोरै प्रयोगले सफलता हासिल गरेका छन्, धेरैजसो प्रयोग केवल प्रयोगमै खुम्चिएका छन् । प्रदर्शनमा आएका धेरैजसो फिल्म व्यापारिक रूपमा असफल भएपछि अरबौंको लगानी बालुवामा पानी हालेसरह भइरहेको छ ।
नेपाली फिल्म क्षेत्र यो उमेरमा आइपुग्दा पनि फिल्म निर्माण, वितरण र प्रदर्शनको क्षेत्रमा उत्तिकै अन्योल छ विदेशी फिल्म फस्टाउनुका धेरै कारणमध्ये एउटा प्रमुख कारण सम्बन्धित देशले फिल्म क्षेत्रका लागि बनाउने बलियो नीतिनियम हो । तर, नेपाली फिल्मको क्षेत्रमा बल्ल बल्ल राष्ट्रिय फिल्म नीति बने पनि त्यसलाई सरकारले कार्यान्वयनमा ल्याएको छैन । स्वदेशी फिल्मको प्रवद्र्धन र संवद्र्धन तथा विकास र विस्तारका लागि चलचित्र विकास बोर्डको स्थापना गरिए पनि बोर्ड स्थापनाकालदेखि नै सामान्य प्रशासनिक कार्यमै सीमित बनेको छ ।
फिल्मको निर्माण, वितरण र प्रदर्शन कतिसम्म अव्यवस्थित छ भने एउटा फिल्मले २ करोड कमाए पनि निर्माताको हिस्सामा भने १ करोड रुपियाँ पर्न मुस्किल छ । फिल्मको कुल कमाइमध्येबाट निर्माताको हातमा बढीमा ३८.९५ प्रतिशत र नभए ३४.८५ प्रतिशत मात्र परिररहेको छ । अझ दुःखदायी विषय त यो छ कि निर्माता र प्रदर्शकबीचको कमाइ बाँडफाँट असमान भएकाले फिल्म जति धेरै दिन चल्यो, निर्माताको हातमा त्यति नै थोरै प्रतिशत कमाइ पर्ने अवस्था छ ।
फिल्मले ५१ दिनकै रेकर्ड राखेको अवस्थामा समेत निर्माता आर्थिक रूपमा खुशी हुन सक्ने अवस्था समेत यहाँ बन्न सकेको छैन । विभिन्न साना ठूला बाटो हुँदै धेरै चरण पार गरिसकेको फिल्म क्षेत्र अब भने राजमार्गकै गतिमा दौडिनु अबको लक्ष्य बन्नु पर्ने भएको छ। कथा, प्रस्तुतिदेखि प्राविधिक स्तरसम्म, आन्तरिक बजारदेखि बाह्य बजारसम्म विस्तार तथा पहुँचको बाटो भएर अघि बढे यो क्षेत्रले पूर्णरूपमा उद्योगको आकार ग्रहण गर्न लामो समय लाग्ने छैन।
सरकाले खेलकुद क्षेत्रलाई जस्तै फिल्म क्षेत्रलाई पनि प्राथमिकताको विषय बनाएर यसलाई प्रोत्साहित गर्न अब ढिला गर्नुहुन्न । कुनै देशमा गएर खेल जिते त्यही देशका सीमितले मात्र नेपाल चिन्नेछन्, तर नेपाली फिल्मकै पहुँच र पहिचान स्थापित भए त्यो सिंगो देशले नेपाल चिन्नेछ र यसको लाभ सिंगो देशले लिन सक्छ भन्ने राज्य सञ्चालकले बुभ्mनु जरुरी छ । बलिउडकै कारण भारत विश्वभरि चिनिएको यथार्थलाई उदाहरण मानेर निजी क्षेत्र तथा सरकार दुवैले मिलेर यो क्षेत्रलाई होस्टेमा हैसे गरे सिंगो मुलुकले नै यसको फाइदा लिन सक्छ भन्ने यथार्थालाई मनन गर्नु जरुरी भएको छ ।
चलचित्र विकास बोर्डका अध्यक्ष, निर्माता, निर्देशक तथा अभिनेता भुवन केसी नेपाली फिल्मको अबको लक्ष्य भनेको नेपाली फिल्मले नेपालको सीमा नाघ्नु हुनुपर्ने बताउँछन् । ‘नेपाली फिल्म नेपालमै देखाएर मात्र हुँदैन । नेपालमै पनि पर्याप्त मात्रामा सिनेमाघर छैनन् ।
गाउँबस्तीमा अहिले पनि सिनेमाघरको अभाव छ। गाउँबस्तीमा फिल्मको पहुँच पु¥याउनु अबको लक्ष्य हुनैपर्छ भने अन्तर्राष्ट्रिय रूपमै नगई अपेक्षाकृत छलाङ मार्न सकिन्न’ भुवनको भनाइ छ ‘हामीले विदेशी फिल्मसँग प्रतिस्पर्धा गर्न र इन्टरनेसनल मार्केटमा जानका लागि कमसकेम सबै इन्डोर सुटिङ गर्न मिल्ने र त्यहीँ बसेर पोस्ट प्रडक्सनको समेत काम गर्नसक्ने गरी स्टुडियो निर्माण गर्नु जरुरी छ।
आउटडोर त नेपालको जुनसुकै ठाउँमा गए पनि प्राकृतिक रूपमै सुन्दर स्टुडियो बराबर छ । त्यसैले पोस्ट प्रडक्सनको कामसमेत गर्न सकिने गरी इन्डोर सुटिङ स्टुडियो निर्माण गर्ने कार्यलाई पहिलो प्राथमिकतामा राखेर बोर्डले काम गरिरहेको छ । इन्टरनेसनल लेभलमा नेपाली फिल्म पठाउनका लागि प्राविधिक दृष्टिकोणले पनि बलियो बनाउनुपर्छ भने नेपालमा नेपाली भाषामै र अन्य देशमा इन्टरनेसनल ल्याङ्वेजमा फिल्म बनाएर संसारभर फैलाउनु आवश्यक छ । स्वदेशमै विदेशी भाषामा नेपाली फिल्म ल्याए भविष्यमा नेपाली भाषा संस्कृतिप्रति के असर पार्ला भन्ने विचार पु¥याएर अघि बढ्नु जरुरी छ ।’
अभिनेता पुष्प खड्का नेपाली फिल्मको क्षेत्रमा कोरोना र त्यसपछिको समय सा¥है कठिन भए पनि कबड्डी ४ पछि भने यसले राम्रो छलाङ मारेको अनुभव सुनाउँछन् । भन्छन् ‘त्यसपछिको झिंगेदाउदेखि थुप्रै फिल्मले सुखद व्यापार गरेका छन् । अर्कोतिर प्रेमगीत ३ विश्वका विभिन्न देशमा प्रदर्शन भई नेपाली दर्शक कहाँ कहाँ छन् भनेर खोजी गर्न सफल भएको छ । संसारभर छरिएर रहेका नेपालीलाई यसैगरी बाँध्न सकियो भने नेपाली फिल्मको व्यापार अभैm फैलन सक्छ ।’
पुष्प थप्छन् ‘प्रेमगीत ३ ले नेपाली रहेका थुप्रै देशमा नेपाली फिल्म पु¥याएर उनीहरूलाई फिल्मप्रति आकर्षित गर्न सकिन्छ भन्ने देखाएको छ । अबको लक्ष्य भनेको अरूले पनि यसलाई फलो गरेर नेपाली फिल्मलाई विश्व बजारमा फैलाउनु हो । हाम्रो पहिलो प्राथमिकता भनेको संसारभर रहेका नेपाली नै हुन् ।
त्यसका लागि विदेशी फिल्मको नक्कलभन्दा हाम्रो अफ्नै कथावस्तु, आफ्नै मौलिकता, हाम्रै नीति नियम, हाम्रै देशको परिस्थिति अनुसारको घटना समेट्नुपर्छ। अर्को लक्ष्य भनेको हलिउड बलिउडका फिल्मको भीएफएक्सजस्तो प्रविधिसँग कम्पिटिसन गर्नु हो ।’अभिनेत्री तथा निर्मात्री केकी अधिकारी नेपाली फिल्मलाई विश्व व्यापारीकरण गर्नु जरुरी रहेको देख्छिन् । ‘केही अघिसम्म उथलपुथल भएको फिल्म उद्योगको अवस्था अहिले सन्तोषजनक छ।
केही अघिसम्म बक्स अफिस रिजल्ट राम्रो नहुने र फिल्म निर्माणको संख्या पनि कम अनि उत्साह पनि कम थियो । अहिले भने नेपाली फिल्मले राम्रो व्यापार र उन्नति गरेका कारण यस क्षेत्रमा उत्साह बढेको छ । सँगसँगै अबको दिनमा व्यावसायिकीकरण हुनुपर्ने लक्ष्य राख्नुपर्छ । व्यवस्थापनमा पनि हाम्रो निकै ठूलो कमजोरी छ । त्यसमा पनि काम गर्नुपर्ने छ । चलचित्र विकास बोर्डले यसको लागि बलियो भूमिका निर्वाह गर्नु जरुरी छ । बोर्डले नेपाली फिल्मको उत्थान र समृद्धिको लागि नयाँ कार्यक्रम र योजना ल्याउनुपर्छ । साथै नेपाली फिल्मको विश्व व्यापारीकरण कसरी गर्न सकिन्छ भन्नेमा अब चाहिँ हामीले सोच्ने बेला आएको छ’ केकी भन्छिन् ।
अभिनेता तथा निर्माता दीपकराज गिरी नेपाली फिल्म क्षेत्रलाई अब उद्योगको रूपमा स्थापित गर्ने लक्ष्य बनाउनुपर्ने देख्छन् ।
‘यो क्षेबलाई पूर्णरूपमा उद्योगको रूपमा स्थापित गर्ने कार्यलाई अबको हाम्रो लक्ष्य बनाउनु पर्छ । निर्माताहरूमा यसलाई केवल व्यापारको रूपमा मात्रै हेर्ने वा कलाको रूपमा मात्रै हेर्ने दुई फरक प्रकारका सोच पाइन्छ । त्यसलाई त्यागेर मनोरञ्जन र कलाको सम्मिश्रण गर्दै दर्शकको चाहनाअनुसारको फिल्म बनाउने तथा पैसामुखी मात्रै नहुने हो र प्रतिद्वन्द्वीतालाई बिर्सेर समग्र उद्योगको लागि हातेमालो गरेर अघि बढ्ने हो भने यसको भविष्य राम्रो छ ।
हाम्रा लक्ष्य सधैं एकै प्रकारका छन्। पहिलो चुनौती भनेकी प्राविधिक रूपमा सशक्त विदेशी फिल्मसँगको प्रतिस्पर्धा हो । यसका बाबजुद नेपाली फिल्मलाई हेर्ने सरकारी दृष्टिकोण अहिले पनि पुरानै प्रकारको छ । नेपाली फिल्मलाई कला र संस्कृतिको जगेर्ना गर्ने महत्वपूर्ण माध्यम नसोची केवल मनोरञ्जनको विषय सम्झेर प्राथमिकतामा नराख्ने परम्परा कायम छ । त्यसको अतिरिक्त हाम्रै अस्वस्थ प्रतिस्पर्धा चुनौती बनेको छ । यी सबलाई चिर्दै अघि बढाउनु अबको लक्ष्य हुनुपर्छ’ –दीपकराज भन्छन् ।
निर्माता, लेखक तथा निर्देशक दीपेन्द्र कुमार खनाल इमान्दारीका साथ काम गरे नेपाली फिल्म क्षेत्रले छिट्टै लक्ष्य हासिल गर्ने देख्छन् । ‘यो वर्ष कलात्मक र व्यावसायिक दुवै पाटोमा नेपाली फिल्मले राम्रो पकड राखेका छन् । नेपाली फिल्मलाई अझै सशक्त बनाउन फिल्मको सबै विधामा सबैले इमान्दारीतका साथ काम गर्दै अघि बढ्नुपर्ने देखिन्छ’– उनको भनाइ छ । नेपाल चलचित्र संघका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ नेपाली फिल्म क्षेत्रमा अर्काको अस्तित्व नस्वीकार्ने समस्या भएको बताउँछन् । ‘नेपाली फिल्म क्षेत्रले पछिल्लो समयमा प्रगति गरिरहेको छ ।
राम्रा र उत्कृष्ट फिल्म बनिरहेका छन् भने व्यावसायिक सफलता पनि हासिल गरिरहेका छन् । यसमा फिल्ममा अभिनय गर्ने, फिल्म निर्माण गर्नेदेखि लिएर वितरण गर्ने तथा प्रदर्शन गर्ने फिल्मकर्मीको ठूलो मेहनत र भूमिका छन् । यसरी समग्रमा हेर्दा नेपाली फिल्मको भविष्य सुमधुर देखिन्छ । यद्यपि, नेपाली फिल्म क्षेत्रमा एक अर्काको अस्तित्व नस्विकार्ने ठुलो समस्या छ । नेपाली फिल्म क्षेत्रको व्यावसायिक विकास र अन्तर्राष्ट्रिय पहुँच अबको हाम्रो लक्ष्य हुनुपर्छ । यसका लागि सरकार र फिल्म क्षेत्रबीच गहिरो सहकार्य जरुरी छ । साथै सरकारको प्राथमिकतामा नेपाली फिल्म क्षेत्र पर्नु नै वर्तमानको आवश्कता हो’ –विरेन्द्र भन्छन् ।
नेपाल चलचित्र निर्माता संघका महासचिव सुनीलकुमार थापा नेपाली सिनेमाको आन्तरिक बजारलाई व्यापकता प्रदान गर्नका लागि नीतिगत रूपमै सरकारी तवरबाट व्यापक गृहकार्य गर्नु अबको लक्ष्य हुनुपर्ने बताउँछन् । ‘कोभिडपछिको केही वर्ष फिल्म क्षेत्रको लागि कठिन समय भए पनि विश्वव्यापी प्यानेमिकले गर्दा दर्शकको उपस्थिति न्यून थियो भने फिल्म निर्माता पनि सिनेमा प्रदर्शन गर्न हिचकिचाइरहेका थिए ।
सिनेमा वृत्तमा समेत अब वैकल्पिक बाटोको खोजी गर्नुपर्ने आवाज उठिरहेको थियो । पछिल्ला केही महिना यता भने नेपाली फिल्मले एकपछि अर्को गर्दै व्यावसायिक सफलता हासिल गर्दै गएका छन् । जुन यो उद्योगको लागि हर्षको कुरा हो । यसले के पनि पुष्टि गर्दछ भने सिनेमा चल्नको लागि त्यसको कथावस्तु उत्कृष्ट हुनै पर्दछ । एउटा उत्कृष्ट विषयवस्तु बोकेको सिनेमाले व्यावसायिक रूपमा सफलता हात पार्न सक्छ भन्ने पछिल्ला सिनेमाले पुष्टि गरिसकेका छन् ।
तथापि, यति सिनेमा सफल भए भनेर खुसी भइहाल्नु पर्ने अवस्था भने छैन । नेपाली सिनेमाको आन्तरिक बजारलाई व्यापकता प्रदान गर्नका लागि नीतिगत रूपमै सरकारी तवरबाट व्यापक गृहकार्य गरिनु पर्दछ’ सुनील सुनाउँछन् –‘उत्कृष्ट कथावस्तु बोकेका सिनेमालाई राज्यबाटै सेवा सुविधा उपलब्ध गराइनु, एउटा मल्टिप्लेक्समा कम्ती एउटा स्क्रिन अनिवार्य रूपमा नेपाली फिल्मलाई छुट्याउनु, कर तथा राजश्वमा नेपाली फिल्मलाई प्राथमिकता प्रदान गर्नु, नेपाली सिनेमालाई अन्तर्राष्ट्रिय स्तरमा लैजानको लागि सर्वप्रथम व्यावसायिक दृष्टिकोणबाट नीतिमार्फत बाक्लो नेपाली समुदाय रहेका देशमा एकसाथ प्रदर्शन गर्ने वातावरण तयार पार्नुजस्ता व्यावसायिक पाटोलाई राज्यस्तरबाटै सम्बोधन भएको खण्डमा नेपाली फिल्मको स्तर अझै माथि पुग्ने छ । वर्तमान अवस्थालाई सांगोपांगो रूपमा पर्गेल्ने हो भने हामी व्यावासायिक रूपमा माझिने चरणमै छौं’। हामीले सिनेमा सफलताको त्यति ठूलो स्वाद नै चाखेको छैनौं । यसबाट माथि गएर नेपाली फिल्मलाई अघि बढाउनु अब हाम्रो लक्ष्य हुनुपर्छ ।’
प्रतिक्रिया