चिसो बढेसँगै राउटेको जीवन कष्टकर बन्दै

0
Shares

दैलेख ।

फरक भेषभूषा, रहन–सहन, आधुनिक जीवन शैलीसँग त्यति घुलमिल नरहेको परम्पराको निरन्तरता चाहने समुदाय हो, राउटे समुदाय । नेपाल सम्पदा र कर्णाली प्रदेशको गहनाका रूपमा चिनिने यो समुदाय लुम्बिनी प्रदेशको दाङ र कर्णाली प्रदेशको दैलेख, सल्यान, जाजरकोट, कालिकोट जिल्लाका जंगलमा भ्रमणशील जीवनयापन गर्दै आएको छ ।

प्राकृति ज्ञानको भण्डार मानिने यो जातिमा कल्याल रास्कोटी, सोमवंशी गरी तीन जाति छन् । राउटेमा एक–आपसमा गोप्यता छैन, जातीय र वर्ग विभाजन छैन । धन सम्पत्ति कमाउने लोभ पनि छैन । यही विशिष्ट पहिचान बोकेको लोपोन्मुख अवस्थामा रहेको जाति यति बेला चिसोले कष्टकर जीवन जिउन बाध्य छ ।

‘अन्य जातिलाई कोटको, आफूलाई बोटको राजा हुँ’ भनेर गर्व गर्ने यो समुदाय यति बेला चिसोका कारण कष्टकर जीवन बिताइरहेको छ । कपडाको त्रिपाल बाहिरबाट हेर्दा सबै चिज छर्लङ देखिने हरियो घाँसको छाप्रोमुनि बसोबास गर्दै आएका राउटे समुदायमा अत्यधिक चिसोले गर्दा जनजीवन कष्टकर बन्दै गएको हो । चिसोको मारमा सबैभन्दा बढी वृद्ध, बालबालिका र सुत्केरी परेका छन् ।दक्षिण एसियाको एकमात्र भ्रमणशील जीवनयापन गर्दै आएका राउटे आजभोलि दैलेखको नारायण नगरपालिका–८ को जंगलमा बसोबास गरिरहेका छन् । १ सय ४३ जनसंख्या रहेको यो समुदाय हाल दैलेखको गुराँस गाउँपालिकाको स्थानियबासीको रूपमा रहेको छ । गुराँस गाउँपालिकाबाट परिचयपत्र पाएको राउटे समुदायले सोही पालिकाबाटै सामाजिक सुरक्षाबापतको रकम लिइरहेको छ । यति बेला तीन महिनादेखि सामाजिक सुरक्षाको भत्ता नआउँदा आउने माघे संक्रान्ति कसरी मनाउने भन्ने चिन्ता रहेको राउटे युवा हरिबहादुर शाही बताउनुहुन्छ ।

जंगलको फिरन्ते जीवन र जंगलको बास सँगै बाँदर र गुना मारेर शिकार गर्ने अनि जंगलकै खिरो, खोलिपीपल, टुनीबाट काठका भाँडाकुँडाहरु कोशी, मधुस, खुर्पाटे बनाएर गाउँ–गाउँमा डुलेर अन्नसँग साटने गरेका छन् ।दिनमा घाम लागे पनि राति अत्यधिक चिसो हुँदा आगो तापेर रात बिताउने गरेको राउटे युवा खगेन्द्रबहादुर शाही बताउनुहुन्छ । ‘पालमुनि पानी चुहिन्छ, दिउँसो त घाम तापिन्छ, राति जुन मात्र आउँछ त्यो ताप्न मिल्दैन, दाउरा बालेरै बस्नुपरेको छ ।’ –उहाँले भन्नुभयो ।

चिसो हटाउनका लागि अधिकांश राउटे समुदायमा ओढ्ने–ओछ्याउनेको समस्या रहेको शाहीेको भनाइ छ ।
काठमाडौं रहेका आफ्ना मित हरिबहादुर थापालाई समेत फोन गरेर त्रिपाल, चामलको समस्या भएकाले पठाइदिन आग्रह गरेको हरिबहादुरको कथन छ । एकातिर हातमुख जोर्न समस्या छ भने अर्कोतिर कपडा अभावले पिरलो । अधिकांश राउटे समुदाय बस्ती नजिक दाउरा छैन । काठका भाँडाकुँडा बनाउने कुकाठ छैन । गाउँघरमा कोशी बेचेर कमल किन्ने काम चिसोले गर्दा यो समुदायले सास्ती खेप्नुपर्ने बाध्यता रहेको उनीहरुको भनाइ छ ।

आफ्नो त्रिपालअगाडि कोशी बनाउँदै गरेका राउटे मुखियाले अन्य राउटेको जस्तै सास्ती खेप्नुपरेको चिसोको पीडा सुनाए । ‘हजुरहरुले पनि माघी मनाउनुहुन्छ होला, यो राउटेले पनि त माघि मनाउँछ, तर कसरी मनाउने, पैसा छैन’, उहाँ भन्नुहुन्छ– ‘मागेर कसैले दिँदैनन् । खसी पनि किन्नुपर्छ, भत्ता आएको छैन । सबै राउटेले चिन्ता मानेका छन् ।’

अरूले दिएको कुरा सित्तैमा नलिने, उपहार ठान्ने, पैसा छोए पाप लाग्छ भन्ने यो समुदाय आजभोलि कसैले फोटो खिचेमा पैसा माग्ने गर्छन् । गैरसरकारी संस्थाको मनपरी सहयोग र नेपाल सरकारले दिने सामाजिक सुरक्षा भत्ताले गर्दा राउटे समुदाय अल्छी पनि बन्दै गएका छन् । संघ–संस्थाले सामाजिक सुरक्षा भत्ताको आसमा पहिले जसरी काठ काटेर भाँडाकँुडा बनाउँदैनन् । तर, केही व्यक्ति गैरसरकारी संघ–संस्थाको अनुरोधमा भाँडाकँुडा बनाए पनि दुःखअनुसारको रकम पाउँदैनन् ।

दिउसो नजिक रहेको बजारक्षेत्रमा जाने र माग्ने प्रचलन एकातिर बढ््दै गइरहको छ भने अर्कोतिर उनीहरुसँग पैसा भयो भने मदिरा सेवन गर्ने प्रचलन पनि बढ्दै गइरहेको छ । आफ्नो पेशा र मेहनेतमा रम्ने राउटे समुदाय यति बेला बजारक्षेत्रमा मदिराले लठ्ठ भएको समेत देख्न पाइन्छ । विभिन्न संघ–संस्थाहरुले दिएको महँगो कपडा र वस्तु राउटेले मदिरामा साटेको समेत देख्न र सुन्न पाइन्छ ।