गृहमन्त्री रविलाई ‘सल्लाह’



जनता आफू सत्तामा पुग्न नसक्ने भएकाले जनप्रतिनिधिहरूको छनोट गरी आफ्नोजस्तै विचार, व्यवहार र सिद्धान्त भएका व्यक्तिहरूलाई सत्तामा पु¥याउनकै लागि जनप्रतिनिधिमूलक व्यवस्थाको उद्भव भएको हो । शायद यही व्यवस्थालाई संसारभरि नै लोकतन्त्र, प्रजातन्त्र या गणतन्त्र भनेर नामकरण गरिन्छ । प्रसङ्ग विश्वको भए पनि सन्दर्भ नेपालमा गठन भएको माओवादी केन्द्र नेतृत्वको मन्त्रिमण्डल र त्यसमा सामेल नयाँ अनुहारहरूको हो ।

वर्तमान मन्त्रिमण्डलमा पाँचजना नयाँ अनुहारहरू छन् । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने एक हुन् । सोही समूहमा पहिलोपटक मन्त्री भएका राजेन्द्र राई, दामोदर भण्डारी, ज्वालाकुमारी शाह र खानको चर्चा जति हुनुपर्ने हो त्यति भएन, किनकि तिनीहरू पार्टीका कोटामा मन्त्रीमा छानिए । यो माहोलमा गृहमन्त्री रवि लामिछानेको परिचर्चा व्यापक किन भैरहेको छ भने उनमा केही नयाँ काम गर्ने र मन्त्रिपरिषद्भित्र पनि खराब निर्णयहरू हुन आँटेमा ट्याकल गर्ने क्षमता छ ।

नेपालमा उनले गरेको टेलिभिजन पत्रकारिताले जिम्मेवार पत्रकारिताको शुरुआत गरेथ्यो । वैदेशिक रोजगारीमा गएका व्यक्तिहरूले पाएको हन्डर र धोकामा रविले मलहम लगाउने काम गर्दथे । विदेशमा बिचल्नी परेका, मरेका र पाउनुपर्ने सेवा–सुविधाबाट वञ्चितलाई सक्दो सहयोग गरेर नेपाल ल्याउने, पुनस्र्थापना गर्ने र क्षतिपूर्ति दिलाउने गर्दथे ।

उनको यही छवि चुनावमा काम लाग्यो । चौतर्फी लोकप्रियतालाई देखेर आफ्ना पार्टीको भोट खोस्छन् भन्ने रिसमा कांग्रेस, एमाले र माओवादीहरूले उनीप्रति लक्षित गर्दै नाना आरोप लगाए । कसैले उनको पासपोर्ट र नागरिकता फर्जी भने, कसैले उनी अनागरिकसमेत भएको फत्तुर लगाए । कसैकसैले उनी टिभीमा रहँदा सहयोगी पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन मुद्दामा अभियुक्त भएको आरोप लगाए । यद्यपि उनको नागरिकताबारे सर्वोच्च अदालतमा मुद्दा परी विचाराधीन छ, जसको निरोपण अदालतले गर्ने हुँदा सोबारे बोल्नै परेन । रवि लामिछानेले एउटा ‘टक सो’ सञ्चालन गरी संसारमै सबैभन्दा लामो समय बोल्ने पत्रकारमा आफ्नो नाम ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ मा राखे ।

ग्यालेक्सी फोर टिभी स्थापना गरी जिम्मेवार पत्रकारिता गरेकाले उनको चौतर्फी हाइहाइ रह्यो । राम्रो पक्ष उनी स्पष्ट छन्, बोलीमा दम छ, युवा हुन् र सोचमा नूतनपन राख्छन् । यिनै गुणलाई उनले कामयावी राखिरहे भने देश÷नागरिकका लागि केही नयाँ काम गर्छन् । उनको मूल्याङ्कन गर्ने बेला भैसकेको छैन । अहिल्यै मूल्याङ्कन गर्नु उनका हकमा चाँडो हुनेछ । उनलाई मन पराउनेहरूले देवत्वकरण र गाली गर्नेहरूले दानवीकरण गरिरहेका छन् । हामीलाई यी दुवै गर्नु छैन, बरू खुला समाजको सदस्य भएका नाताले स्वस्थ सल्लाह दिनु छ । उनले माने देश र समाजले फाइदा पाउँछ । नसुने त्यो कागजमा फगत सीमित हुन्छ ।

रवि को हुन् ? कसरी पत्रकारिता हुँदै राजनीतिमा छिरे ? त्यसका पछि नजाऊँ । हामीलाई उनको व्यक्तिगत जीवनबारे लिनुदिनु छैन । मात्र उनले र उनको पार्टीले पाएको राष्ट्रिय महत्वबारे निष्पक्ष चर्चा गर्दै उनलाई देश र नागरिकका लागि जनमुखी काम गर्न हौसला दिई मार्ग देखाउनु हो ।प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिइसकेपछि रविका दलबाट विज्ञहरूलाई मन्त्री बनाउने कुरो आइरहेको छ, त्यो एकदमै राम्रो छ । डा. तोसिमा कार्की, सोभिता गौतम र शिशिर खनालजस्ता युवाहरूलाई उनीहरूको विज्ञता अनुसारका मन्त्रालय दिँदा पुरानो शैलीमा मन्त्री भएर मन्त्रीका लागि मन्त्री हुने परम्परामा पहिलोपल्ट ‘आइस ब्रेक’ हुन्छ ।

यो किन आवश्यक छ भने, नेपालमा अहिलेसम्म पार्टीको क्याडर, गुटको नेता र लबीको मानिस योग्य हुने परम्परा हाबी छ । यो परम्परामा बुजो लगाउन सकियो भने मात्र समाजमा राम्रा कामहरू गर्न सकिन्छ भन्ने कुराका राम्रा जानकार हुन्– रवि ।अतः वर्तमान गृहमन्त्री रवि लामिछानेलाई केही व्यावहारिक सुझावहरू सुझाउन खोजिएको छ । कति उनका मन्त्रालय सम्बन्धित र कति उनका मन्त्रालयसँग सम्बन्धित नहोलान् । जे–जस्ता भए पनि उनले ती कुराहरू क्रमशः मन्त्रिपरिषद् बैठकमा राखी सुधारका लागि प्रयत्न गरेमा त्यो उनको राजनीतिक भविष्यका लागि लाभदायक हुन्छ, साथै उनी सफल गृहमन्त्रीका रूपमा चित्रित हुन्छन् ।

पद बहाली गरेको केही घन्टामै उनले पूर्वअधिकारी या नेताहरूका सुरक्षामा अनावश्यक खटाइएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षा कर्मचारीहरूलाई ४८ घन्टाभित्र फिर्ता पठाउने निर्णय गरेर राज्यको वार्षिक अर्ब रुपियाँ बचाउने सिर्जनात्मक काम गरे । साथै राहदानी विभागको अनुगमन गरी त्यहाँ लाग्ने भीड कम गर्न के गर्न सकिन्छ भनी सो विभागसँग राय मागे ।

अर्को कुरा, चालू आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारी तथा सम्पूर्ण जनप्रतिनिधिहरूको तलब भत्तामा सरकारले १५ प्रतिशत वृद्धि गरेको र खाइपाइ आएको स्केलमा नेपाल सरकारका मन्त्रीहरूले सो वृद्धि भएको स्केल नलिने स्वघोषणा गर्दै मन्त्रिपरिषद्बाटै निर्णय भएकोमा सोको जशसमेत मन्त्रिपरिषद्मार्फत रविलाई नै गएको छ । साथै गृहमन्त्रीमा पद बहाली गर्दै उनले अनुसन्धानकै दायरामा रहेको निर्मला पन्तको हत्याकाण्डको फाइल खोलेर अनुसन्धान शुरु गर्ने भने । लोकप्रियता कमाउन र स्टन्टबाजी गर्न नभएर हृदयको भित्री कुनादेखि नै भनेका भए यो मुद्दाले उनैका पालामा सदाका लागि पार पाऊला । यदि यसो हुन सक्यो भने उनी जनताका मनमा चिरकालपर्यन्त रहिरहने छन् ।

भनिन्छ, सफल मानिसहरू कुनै नयाँ काम गर्दैनन् तर त्यही काम नयाँ शैलीमा गर्छन् । अहिले नेपालमा यही नयाँ शैलीका मानिसहरूको मन्त्रिपरिषद्मा प्रवेश र परिणाम दिने गरी काम गराइको खाँचो छ । यो कुरा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र तथा राप्रपाजस्ता पुराना पार्टीका चर्चित युवानेताहरू क्रमशः गगन थापा, विश्वप्रकाश शर्मा, धनराज गुरुङ, प्रदीप पौडेल, गोकर्ण विष्ट, सूर्य थापा, गोकुल बास्कोटा, शक्ति बस्नेताहरूलाई समेत हेक्का छ भने पछिल्लोपटक नयाँ इसु र नयाँ शैलीमा जबर्जस्त नेपाली राजनीतिमा उदाएको रास्वपाका नेताहरूमा झन् बढी नै बर्करार देखिन्छ । यही मन्त्रिमण्डलबाट रवि लामिछानेले परिणामुखी काम गरेर देखाउन सकेमा जनताको मनमा क्लिक हुन्छ ।

एकपटक राम्रो काम गरेर राखेको छवि हम्मेसी कसैले जति आरोप लगाएर पनि खुइल्याउन सक्दैन । इतिहासमा नेकपा एमालेले २०५१ सालतिर नेता मनमोहन अधिकारीको नेतृत्वमा बनेको एमाले अल्पमतको सरकारका अर्थमन्त्री भरतमोहन अधिकारीले ल्याएको ‘आफ्नो गाउँ आफैँ बनाऊँ’ र वृद्धवृद्धाहरूलाई ‘सामाजिक सुरक्षा भत्ता’ दिनेतर्फ प्रतिमहिना एक सयका दरले दिइएको रकमलाई अझै एमालेले सामाजिक ब्रान्डका रूपमा लिइरहेकै छ ।

त्यसै गरी माओवादी नेता डा. बाबुराम भट्टराई अर्थमन्त्री भएका बेला उनले ल्याएको सामाजिक सुरक्षा कोषको अवधारणामा १ प्रतिशत कर र एमालेका लालबाबु पण्डित सामान्य प्रशासन मन्त्री हुँदा डीभी र पीआरधारीहरूलाई उताको कागज छाडेको प्रमाण पेस नगरून्जेलसम्म यता नेपाल सरकारबाट दिइने पेन्सन र राज्य कोषबाट उपलब्ध गराइने सेवा–सुविधाहरूमा कटौती गरेको कार्यले उनलाई आफ्नो क्षेत्रका सफल मन्त्रीका रूपमा चिनाइरहेकै छ । विज्ञापन गरेर अरूले चिनाइरहनुभन्दा आफैँले केही राम्रा कामहरू गरेर चिनिनु नै राजनीतिमा अब्बलपना हो ।

अहिले उनीसहित नवगठित मन्त्रिपरिषद्मा तीनजना उपप्रधानमन्त्री रहेका छन् । वरियताका हिसाबले पहिलो वरियताका उपप्रधानमन्त्रीमा एमालेका तर्फबाट अर्थमन्त्री विष्णु पौडेल छन् भने सोपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा दोस्रो वरियतामा उपप्रधानमन्त्री रवि लामिछाने नै हुन् । तेस्रो वरियताका उपप्रधानमन्त्रीमा माओवादी केन्द्रका नेता तथा भौतिक योजना मन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन् । यतिखेर नारायणकाजी श्रेष्ठ आफ्ना अध्यक्ष प्रचण्डसँग रिसाएर आफ्नो मानर्मदन हुने गरी तेस्रो वरियताको उपप्रधानमन्त्री बनाएकाले अध्यक्षलाई घुक्र्याउँदै बसेका छन् भन्ने कुरा बाहिर आएको छ ।

यदि उनले वरियताको कुरा उठाएर त्यसो भनेका हुन् भने उनलाई फिर्ता बोलाएर माओवादीबाट अर्को व्यक्ति मन्त्री बनाए हुन्छ । अब विस्तार हुने मन्त्रिमण्डलमा माओवादीबाट मन्त्री हुनका लागि मुख मिठ्याइरहेका नेताद्वय वर्षमान पुन र शक्ति बस्नेतहरूसमेत वर्तमान दोस्रो वरियताका उपप्रधानमन्त्री रवि लामिछानेभन्दा मुनिको वरियतामा कुनै हालतमा मन्त्री हुन नजाने कुरा अड्डी लिएर बसेका छन् भन्नेसमेत बाहिर आयो । कुराहरू जे–जस्ता भए पनि रास्वपाका अध्यक्ष रवि लामिछानेको मन्त्री इन्ट्रीलाई लिएर तर्क उठेका हुन् भने विश्वासको मत लिएपछि मन्त्रीका वरियता हेरफेर हुन सक्ने देखिन्छन् ।

यतिखेर जनताले चाहेको सुशासन र ‘सिस्टम डेलिभरीमा फास्टशैली’ हो । आफूलाई मन पर्ने या नपर्ने को व्यक्ति कुन वरियतामा कुन मन्त्री भएको छ भन्ने किमार्थ होइन । जनतालाई फुल स्पिडका साथ काम गर्ने योग्य जनप्रतिनिधिहरू मन्त्री भएको हेर्न औधी मन छ । विश्वासको मत नलिएका अवस्थामा धेरै गुनासा गर्नुभन्दा केही सपाट सल्लाह दिनु उपयुक्त ठानेर यहाँ गृहमन्त्री रवि लामिछानेसमेत सम्मिलित सरकारलाई पाँच थान सजिला सल्लाह दिइएका छन् । ती सल्लाहहरू ठीक-बेठीक के छन् ? अन्तर्यमा पुगेर काम गरेमा जनताले केही राहत अवश्य पाउने छन्:

१. सवारी लाइसेन्स एक हप्तामै देऊ । (बैँकले त्यस्तै एटीएम १ हप्तामा दिन्छ)

२. किसानलाई धान, मकै र गहुँ खेतीको बेलामा ट्याक्कट्याक्क मिलाएर मल देऊ ।

३. शिक्षा ऐन जारी गर्न भारत र चीनले छेक्या छन् कि ? देशभित्रकै शैक्षिक माफियाले ? जनतालाई भरपर्दो जवाफ देऊ ।

४.राष्ट्रिय परिचय पत्र र पासपोर्टसमेत १ हप्तामा देऊ ।

५. देशका आधाजसो विद्यालयहरू कि व्यावसायिक कि खेलकुद विद्यालयमा रूपान्तरण गर ।
‘ओलीका ठाउँमा देउवा, देउवाका साटो प्रचण्ड आउनु कुनै बदलाव हैन, बरू झन् ठूलो जडता हो । यसले राज्यसत्ताको चरित्र, शासन प्रशासनको गुणस्तर, अर्थतन्त्रको ढाँचा र विभेद्पूर्ण सामाजिक संरचनामा कुनै परिवर्तन गर्दैन । रवि ‘नयाँ’ भनेर, ‘पुरानै’ मा सजिलै ‘कोअप्ट’ भए तसर्थ साँचो परिवर्तन र प्रतिपक्षको राजनीतिक स्पेस पूरै खालि छ ।

हामीलाई चाहिएको सभ्यता, संस्कृति र विकासको स्तरलाई नै मोड दिन सक्ने एक नयाँ र उल्लेखनीय परिवर्तन हो, सरकारमा आउरेबाउरेहरूको आदानप्रदान हैन ।’ –विश्लेषक डम्बर खतिवडाको विश्लेषण छ । अब जनताले अनुहार नभएर परिणाम हेर्ने गरेका छन् । यो कुरा रविले जति चाँडो बुझ्छन् अन्य नयाँ या पुराना दलका नेताले लामोसँग बुझ्नेछन् भन्ने जनताको सोच रहेको छ ।

प्रतिक्रिया दिनुहोस्