विद्युतीय राहदानीमा विश्वास



विद्युतीय राहदानीको सर्भरमा भण्डारण सम्बन्धमा देखिएको समस्याका कारण यसको सेवा अनिश्चित कालका लागि बन्द गर्ने अवस्था सिर्जना भयो । यो समस्या यति जटिल देखियो कि समाधान गर्न फ्रान्सबाट प्राविधिक टोलीलाई बोलाइयो । विद्युतीय पासपोर्ट कार्यान्वयनमा ल्याउँदा सरकारले यस प्रकारको पासपोर्टले विश्वमा नेपालको प्रतिष्ठा उच्च बनाउने सपना देखेको थियो, तर अहिले सिर्जना भएको प्राविधिक समस्याले आफ्नै नागरिकका अगाडि सरकारले लज्जित बन्नुपर्ने अवस्था आएको छ ।

नेपालले जारी गर्ने विद्युतीय राहदानीको सम्पूर्ण जिम्मा पाएको फ्रान्सेली टोली आजसम्म नेपाल आइपुग्ने राहदानी विभागले जनाएको छ । राहदानी सर्भरमा ‘स्टोरेज’ समस्या देखिएको र कुनै पनि व्यक्तिको फोटो, हस्ताक्षर र हातको बायोमेट्रिक लिन समय लागेपछि त्यसको सामाधानका लागि प्राविधिक टोली झिकाउनुपरेको हो । सर्भरमा देखिएको समस्या सुल्झाउने प्रयास भइरहेको, केही सुधार भए पनि पूर्ण रुपमा समाधान नभएकोले फ्रान्सेली विज्ञहरु आउनुपरेको हो ।

सर्भर पूर्णरुपमा सञ्चालन हुन केही समय लाग्ने भएकाले राहदानीका लागि आवेदन दिएका आवेदकलाई मोबाइलमा म्यासेज आएपछि मात्र विभागमा आउन भनिएको छ । विभागले सूचना जारी गर्दै राहदानी विभाग, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगमा ‘अप्वाइन्टमेन्ट’का लागि मिति र समय प्राप्त गर्ने सेवाग्राहीको सोही दिन विवरण रुजु, राजस्व दाखिला र ‘लाइफ इनरोलमेन्ट’ सेवा नियमित सञ्चालन भएको उल्लेख गरेको छ ।

तर, पासपोर्ट बन्ने प्रक्रिया नै अवरुद्ध भएका कारण केही प्रशासनिक प्रक्रियाहरु जनपक्षीय देखाइए पनि सेवाग्राहीमा निराशा कायम छ । ६४ पृष्ठको बायोमेट्रिक पासपोर्ट एसियाकै उत्कृष्टमध्येको एक भएको सरकारको दावी अहिले उसकै लागि व्यंग्य भएको छ । नेपाल औपचारिक रुपमा तेस्रो पुस्ताको ई–पासपोर्टको युगमा प्रवेश ग-यो भन्दै १०२ वर्षीय इतिहासविद् सत्यमोहन जोशीलाई वितरण गरेर यस चरणको शुभारम्भ गरिएको थियो । सरकारले अन्तर्राष्ट्रिय रुपमै राम्रो मानिएको पासपोर्ट ल्याइएको, अब यसको सम्मान गर्ने दायित्व नागरिकले लिनुपर्ने अवस्था सिर्जना भएको उल्लेख गर्दै तेस्रो पुस्ताको आधुनिक र अन्तर्राष्ट्रिय स्तरको राहदानी वितरण गर्नथालेको थियो ।

एकदिनमै पासपोर्ट चाहनेले पालो आएपछि विभागमा १२ हजार रुपियाँ तिरेर पाउने, जिल्ला प्रशासन कार्यालयमा ५ हजार रुपियाँ तिरेर पनि १५ दिनमा पासपोर्ट पाउन सकिने व्यवस्थालाई भने स्वागत गरिएको थियो ।पासपोर्ट छपाइको जिम्मा पाएको फ्रान्सेली कम्पनी आइडिमियालाई गुहार्नुपर्ने आजको समस्या आम नेपालीकै लागि मुख तीतो बनाउने विषय बनेको छ ।

ई–पासपोर्ट लिन चाहने सर्वसाधारणले लाइनमा बस्नु नपर्ने, राहदानी विभागको वेबसाइटमा सर्वसाधारणले मिति र समय बुकिङ गरेर पालो आएपछि विभागबाट पासपोर्ट लिन पाउने व्यवस्था स्वागतयोग्य हो । तर, सरबर नचल्ने र चलेपनि अत्यन्त ढिला चल्ने समस्या सहनु नै परेको थियो । तर पछिल्लो पटक सेवा नै रोक्नुपर्ने गरी यसमा सिथिलता देखियो ।

मुलुकका ७७ वटै जिल्ला, ४० वटा नियोग र १८ वटा इलाका प्रशासन कार्यालयबाट वितरित पासपोटको सेवा रोकिंदा यसको असर ठूलो परिमाणमा पर्ने नै भयो । आशा छ, फ्रान्सेली विज्ञको सहजीकरणपछि यस्ता समस्या दोहोरिने छैनन्, सरकारले नेपालमै विज्ञ बनाउने तयारी पनि थाल्नेछ ।

प्रतिक्रिया दिनुहोस्