सुन-चाँदी व्यवसाय विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त



काठमाडौं । नेपाली कांग्रेसका नेता एवं काठमाडौं १ बाट प्रतिनिधिसभा सदस्य प्रकाशमान सिंहले सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्ने विधेयकलाई पारित गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । काठमाडौं सुन-चाँदी व्यवसायी संघले बिहीबार साँझ राजधानीमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै सांसद सिंहले यस्तो प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।

२०७५ सालको भदौं ४ गते मन्त्रिपरिषद् बैठकले सुन-चाँदी व्यवसायीलाई व्यवस्थित गर्ने विधेयक–२०७५ को मस्यौदा स्वीकृत गर्न अन्तरिम मामिला तथा कानून मन्त्रालयलाई जिम्मेवारी दिएको भए तापनि अझै उक्त विधेयक पारित हुन सकेको छैन ।

सांसद सिंहले भन्नुभयो– ‘तपाईंहरुले सुन-चाँदी ऐन ल्याउन जोड दिनुभएको धेरै वर्ष भइसक्यो । अहिले नयाँ संसद् आएको छ । हामी तपाईंहरुसँग परामश गरेर त्यसलाई पारित गराउन लाग्नेछौं ।’

कार्यक्रममा संघका अध्यक्ष सुरेशमान शाक्यले नयाँ सरकारले देशमा शान्ति र सुशासन कायम गराउन सफल हुने विश्वास व्यक्त गर्दै सुन-चाँदी व्यवसायीहरुलाई काम गर्ने वातावरण सिर्जना गर्न आग्रह गर्नुभयो ।

कार्यक्रममा काठमाडौंबाट निर्वाचित भएका प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यहरुलाई संघका उपाध्यक्ष मुक्तिरत्न बज्राचार्य र सचिव रोहिनादेवी शाक्यले फूलमाला र खादा ओदाएर सम्मान गर्नुभएको थियो भने संघका सदस्य निर्मला शाक्यले नेवारी परम्पराअनुसार सगुन दिनुभएको थियो । नवनिर्वाचित सांसदहरुलाई फूलमाला र सगुनदिंदै गर्दा संघका कोषाध्यक्ष दशरत्न बज्राचार्यले स्वस्ती वाचन गर्नुभएको थियो ।

 संघका सहसचिव लेखरत्न शाक्यले संयोजन गर्नुभएको कार्यक्रममा प्रतिनिधिसभा तथा प्रदेशसभाका सांसदहरु प्रकाशमान सिंह, कृष्णगोपाल श्रेष्ठ, बिराजभक्त श्रेष्ठ, गणेश पराजुली, शैलेन्द्र बज्राचार्य, दिनेश श्रेष्ठ, नुरज बज्राचार्य र हरिप्रभा खड्गीलाई अध्यक्ष सुरेशमान शाक्यले मायाको चिनो प्रदान गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्