सम्पादकीय : निद्रा उपचार



निद्रा स्वस्थ जीवनका लागि अनिवार्य हुन्छ । विज्ञहरु निदाउनुलाई मोबाइल फोनजस्ता विद्युतजन्य सामग्री चार्ज गर्ने कार्यसँग तुलना गर्दछन् ।

जसरी चार्ज भएपछि मात्र मोबाइल फोनले काम गर्छ, त्यसरी नै मस्त सुतेर बिउँझिएको मान्छेले पूर्ण क्षमताका साथ काम गर्नसक्तछ । नेपालको जेठो र आम नागरिकको पँहुचमा रहेको वीर अस्पतालले निद्राको महत्व बुझेको देखिएको छ । छाती रोग विभाग अन्तर्गत ‘स्लिप ल्याब’ उपचार प्रविधि सञ्चालनमा ल्याएर वीर अस्पतालले सरकारी स्तरमा यो सेवा सुरु गरेको छ ।
निद्रा नलाग्ने व्यक्ति अनेकौं समस्याको शिकार हुन्छ ।

निद्राले शरीरको तौल सन्तुलन राख्न, रोग प्रतिरोधात्मक शक्ति बढाउन, मधुमेह र डिप्रेसन हुनबाट जोगाउन भूमिका खेल्ने विज्ञहरुको भनाइ छ । निधाउन नसक्ने व्यक्तिमा काम र दृष्टिकोणप्रति एकाग्रता हराउँछ । त्यस्ता व्यक्तिले शारीरिक श्रम, खेलकुदजस्ता काम गर्नसक्तैनन् । उनीहरुको मुटु सबल हुँदैन । रक्तचापको समस्या भोग्न बाध्य हुन्छन् । पाचन प्रक्रियामा समस्या र सूजन वा जलनको अवस्था भोग्नपुग्छन् ।

झडङ्ग रिसाउने, भावनात्मक सम्बन्ध कायम राख्न र सामाजिक सम्बन्ध बढाउन नसक्ने हुनपुग्छन् । आम नागरिकको स्वास्थ्य समस्यालाई सहज र सरल ढंगले कसरी सम्बोधन गर्ने भन्ने राज्यको चासोको विषय बन्नु निकै सराहनीय छ । मंगलबार सार्वजनिक समारोहका बीच उद्घाटन गरिएको स्लिप ल्याबसँगै ब्रोन्कोस्कोपी र इबस सेवा पनि सुरु गरिएको छ ।

सरकारी निकायमा भित्रिएका यति महत्वपूर्ण उपकरणहरुको सञ्चालन, संरक्षण र सदुपयोग नहुने हो कि भन्ने चिन्ता भने छ । सामान भित्रिएको केही समय नबित्दै बिग्रने, सञ्चालनका लागि तालिम प्राप्त व्यक्ति नहुने, मर्मतसम्भारका लागि उपकरण नपाइने, खास उत्पादक तथा विक्रेतामै निर्भर हुनुपर्नेजस्ता समस्यालाई समयमै ध्यान दिनुभने आवश्यक छ ।

विश्वभर करिब ६.६ प्रतिशत मानिसलाई निद्रा सम्बन्धी समस्या भएको विभिन्न अनुसन्धानले देखाएको छ । तर नेपालमा यस सम्बन्धी कुनै तथ्यांक नभएको स्वास्थ्य मन्त्रालयका अधिकारीहरुले बताएका छन् । यद्यपि, नेपालमा कम्तिमा १८ लाख मानिसहरुमा निद्रासँग सम्बन्धित समस्या हुने अनुमान गरिएकोछ ।

श्वासप्रश्वास र निद्रा सम्बन्धी बिरामीहरु बढिरहेको अवस्थामा स्लिप ल्याब धेरै महत्वपूर्ण भएको विज्ञहरुको ठम्याइ छ । स्लिप ल्याब निद्रा र घुराइ सम्बन्धी समस्या भएका बिरामीहरुको उपचार गर्ने प्रविधि हो । यो प्रविधि नेपालका केही नीजि अस्पतालले भित्र्याएका भएपनि सर्वसाधारणको पँहुचमा नभएकाले खासै चर्चा पाएको छैन ।

वीर अस्पताल एउटा त्यस्तो स्वास्थ्यसंस्था हो जहाँ देशभरिका सर्वसाधारण नागरिकको पँहुच हुन्छ । त्यसैले उच्च गुणस्तरिय प्रविधि, विशेषज्ञ लगायत सबैको उच्च मूल्यांकन गर्दै राज्यले भित्रिएका प्रविधि र प्रयोगका बारेमा समय–समयमा अध्ययन–अनुसन्धानका साथै दक्ष जनशक्ति उत्पादनमा समेत ध्यान दिनु जरुरी हुन्छ ।

उपकरण भित्रिनुलाई मात्र महत्वपूर्ण नमानी त्यसलाई सही रुपमा सदुपयोग गर्नु महत्वपूर्ण हुनआउँछ । निद्रासम्बन्धी तालिम मात्रै लिनलाई पनि भारत जानुपर्ने अवस्थामा स्लिप ल्याब सञ्चालन वीर अस्पतालमै हुनुले बिरामीलाई सहज हुने विश्वास आम जनताको छ । यस विश्वासमा तुषारापात हुनुहुन्न । यसको पूर्ण सदुपयोग हुनुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्