जीटूजी माध्यमबाट कागज ल्याउने तयारी

0
Shares

काठमाडौं । 

कागज अभाव झेलिरहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई कागज उपलब्ध गराउन सरकारले दुई मुलुक बिचको सरकारी स्तर (जीटूजी) बाट प्रक्रिया अघि बढाउने भएको छ । ठेकेदार कम्पनीले पटकपटक टेन्डर गर्दासमेत कागज ल्याउन नसकेर म्याद थप गर्न थालेपछि सरकारले जीटुजीे प्रक्रिया अघि बढाउन लागेको हो ।

शैक्षिक सत्र २०८० मा पाठ्यपुस्तकको अवस्थाको बारेमा राष्ट्रिय सभाको दीगो विकास तथा सुशासन समितिले मंगलबार सरोकारवाला निकायसँग गरेको छलफलमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले यस्तो जानकारी दिनुभएको हो । उहाँले टेन्डर पाएर पनि कागज ल्याउन नसक्ने ठेकेदारलाई कारबाही गर्दा र अन्यले पनि कागज ल्याउन नसक्दा केन्द्रलाई समस्या परेको बताउँदै त्यसको विकल्पको रूपमा जीटूजी माध्यमबाटै कागज ल्याउने प्रक्रिया अघि बढाइएको बताउनुभयो ।

उहाँले अघिल्ला शिक्षा मन्त्री देवेन्द्र पौडेलले सो विषयमा छलफल गर्नुभएको जानकारी दिँदै अब बन्ने शिक्षा मन्त्रीले सो विषयमा मन्त्री परिषद्मा प्रस्ताव लग्नेगरी तयारी भएको बताउनुभयो । बैठकमा बोल्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका प्रबन्ध सञ्चालक अनिलकुमार झाले पछिल्लो समयमा कागज अभाव नभएको भए तापनि ठेक्का पाएकामध्ये अझै दुईवटा कम्पनीले कागज ल्याउन नसकेको बताउनुभयो ।

झण्डै २ करोड ५० लाख थान पाठ्यपुस्तक छपाइ गर्न करिब ८ हजार टन कागज आवश्यक पर्छ । प्रबन्ध सञ्चालक झाले एक महिनायता कागज आउन थालेपछि २४ सै घण्टा मेसिन सञ्चालन गरिरहेको जानकारी दिँदै भन्नुभयो– ‘आवश्यकताको आधारमा कागज पाए फागुनभित्र सबै पाठ्यपुस्तक छपाई पूरा गर्नेछौं ।’ रुस र युक्रेन युद्धका कारण कच्चा पदार्थ आउन नसकेर कागजको अभाव भएको प्रबन्ध सञ्चालक झाको भनाइ थियो ।

उहाँले समयमै ठेकेदार कम्पनीले कागज ल्याए छपाईमा कुनै समस्या नहुने दाबी गर्दै हालसम्म ३५ लाख थान पाठ्यपुस्तक छपाई पूरा भएको बताउनुभयो । उहाँले २४ सै घण्टा मेसिन सञ्चालन गरेर वैशाख १ गते सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पु¥याइने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।

बैठकमा शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक चुडामणि पौडेलले पाठ्यपुस्तकको लागि आवश्यक पर्ने बजेटको कुनै समस्या नभएको जानकारी दिँदै भन्नुभयो– ‘आगामी शैक्षिक सत्र २०८० को लागि ३ अर्ब ४० करोड रुपियाँ बजेट व्यवस्था भएको छ, सबै विद्यालयमा पुग्नेगरी स्थानीय तहलाई पु¥याउनेछौं ।’समितिका सभापति प्रकाश पन्तको अध्यक्षतामा भएको बैठकमा पाठ्यपुस्तकको अवस्थाबारे सरोकारवालासँग छलफल भएको थियो । छलफलमा बोल्दै पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक बैकुण्ठ अर्यालले समयमै पाठ्यपुस्तक पुग्ने गरी प्रिन्ट रेडी कपी (पीआरसी) तयार भइरहेको जानकारी दिनुभयो । उहाँले कागजको समस्या नआए पुस मसान्तभित्र सबै कक्षाको पीआरसी तयार गरी वैशाख १ गते सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेगरी काम भइरहेको बताउनुभयो ।

अभिभावक महासंघका अध्यक्ष शुप्रभात भण्डारीले समयमै पुस्तक नपुग्नुमा सबै दोषी रहेको आरोप लगाउनुभयो । शिक्षा मन्त्रालय, पाठ्यक्रम विकास केन्द्र, जनक शिक्षा, शिक्षा तथा मानवस्रोत विकास केन्द्रले समयमै पुस्तक पुग्नेगरी काम गर्नुपर्नेमा जोड दिनुभयो । बैठकमा बोल्दै राष्ट्रिय सभा सदस्य वामदेव गौतमले सरकारले भृकुटी कागज कारखानालाई कौडीको मोलमा बेचेको कारण हरेक वर्ष पुस्तक छपाई गर्न कागजको समस्या आएको टिप्पणी गर्दै भन्नुभयो– ‘नेपालका कारखाना नबेचेको भए कागजको समस्यै हुँदैन थियो, यस्तो विषयमा छलफल गर्नु आवश्यक नै हुने थिएन ।’

बैठकमा सभापति पन्तले यो विषयमा नयाँ मन्त्रीले पदबहाली गरेपछि पुनः छलफल गर्ने निर्णय सुनाउनुभयो ।यसैबीच पाठ्यपुस्तक छपाइको अवस्थाको बारेमा मंगलबार पाठ्यक्रम विकास केन्द्रमा छलफल भएको थियो । केन्द्रका महानिर्देशक बैकुष्ठ अर्यालको अध्यक्षतामा भएको बैठकमा जनक शिक्षाले छपाइ गर्न नसके मुद्रण विभाग वा अन्य निकायलाई पनि दिन सकिने सिफारिस गरिएको थियो । केन्द्रले उक्त सिफारिसलाई मन्त्रालयमा पेस गर्नेछ ।