६० वर्षीया बृद्धाको हत्या गर्ने भारतीय नागरिक पक्राउ

0
Shares

अर्घाखाँची । जिल्लाको शितगंगा नगरपालिका–१० बस्ने ६० वर्षीया राधा थापाको हत्या अभियोगमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । अस्ति (आइतबार) बिहान दूध लिन गएकी ती बृद्धाको सुनका गहना लुटेर हत्या गरेको अभियोगमा भारतीय नागरिक सुशान्त सिंहलाई ईलाका प्रहरी कार्यालय ठाडाले पक्राउ गरेको हो ।

सोही नगरपालिका–१० बोरखोर बस्ने भारत नई पालम बिहार गुडगाँव हरियाणा घर भएका २३ वर्षीय सिंहलाई आइतबार प्रहरीले पक्राउ गरेको छ । शितगंगा नगरपालिका–१० सिद्धारा बोखोरस्थित जंगलमा आइतबार बिहान टाउकोमा गहिरो चोट लागेको अवस्थामा राधा थापाको शव फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धानको क्रममा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरीले घटनामा संलग्न सिंहलाई शितगंगा नगरपालिका–११ मुन्द्रीबासस्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

प्रारम्भिक अनुसन्धानको क्रममा राधाले लगाएको सुनका गरगहना लुट्ने योजना बनाई सिंहले आइतबार बिहान महिला दूध लिन गएको अवस्थामा ढुंगा र हँसिया प्रहार गरी हत्या गरेको खुल्न आएको छ ।

उनी उपर जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिन म्याद थप अनुमति लिई यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।