कोरोनाको नयाँ भेरियन्टबाट जोगिन जिल्ला प्रशासन कार्यालयको आग्रह



भक्तपुर ।

जिल्ला प्रशासन कार्यालय, भक्तपुरले कोरोनाबाट जोगिन जिल्लावासीलाई आग्रह गरेको छ । छिमेकी भारत,चीन सहित अन्य मुलुकमा फैलिएको कोरोना संक्रमणलाई मध्यनजर गर्दै प्रशासनले सतर्क रहन आग्रह गरेको हो ।

कोरोना संक्रमणको नयाँ भेरियन्ट छिमेकी मुलुकमा देखिएको हुनाले सजग रहन आग्रह गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेबी शर्माले बताउनुभयो ।यसको असर नेपालमा पनि पर्नसक्ने अवस्थाप्रति सजग रहन आवश्यक रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम तथा असरबाट सुरक्षित रहन र बढी भीडभाड हुने स्थानमा नजान पनि आज एक सुचना मार्फत अपिल गरेको छ ।सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद शर्माले सूचना जारी गर्दै सार्वजनिक यातायात तथा बढी भीडभाड हुने स्थानहरुमा मास्क तथा स्यानिटाइजरको प्रयोग गर्न, एकअर्काबीच भौतिक दूरी कायम राख्न,व्यक्तिगत सरसफाइ र स्वास्थ्य प्रोटोकल पालना गर्न–गराउन सुसुचित गराउनुभएको छ ।

साथै हालसम्म बुस्टर डोज लगाउन छुटेका सबैलाई नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गरी खोप लगाउन प्रशासनले सुसुचित गराएको छ ।छिमेकी भारतसहित अन्य मुलुकमा कोरोनाको नयाँ भेरियन्ट देखिएको उल्लेख गर्दै प्रशासनले त्यसको जोखिम र असर नेपालमा पनि पर्न सक्ने बताएको छ ।

त्यस्तै स्वास्थ्य कार्यालय भक्तपुरले तयार गरी स्थानीय तहहरुमा पठाएको सन्देशमूलक सामग्रीहरु व्यापक प्रचारप्रसार गर्न प्रशासनले अनुरोध गरेको छ।वडास्तरबाटै स्वास्थ्य प्रोटोकलको पालना गर्ने–गराउने व्यवस्था स्थानीय तहहरुले मिलाउनुपर्नेमा प्रशासनले जोड दिएको छ ।

धेरै मानिस जमघट हुने कार्यक्रम सञ्चालन गर्दा अनिवार्य रुपमा जनस्वास्थ्य मापदण्डको पालना गराउन सम्बन्धित आयोजकलाई निर्देशन दिइएको छ ।सबै सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संस्थान, गैरसरकारी संस्था, निजी क्षेत्र, सञ्चारमाध्यमलगायत सबै पक्षलाई स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्न भनिएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्