नेपालमा सत्ताका लागि सबै जायज !



अघिल्लो गठबन्धन बनेदेखि नै नेकपा एमालेका अध्यक्ष केपी ओलीको सपना–जपना सबै जसरी हुन्छ सो गठबन्धन टुक्र्याउनेमा थियो । उनी यो वा त्यो मानेमा पासा फ्याँकिरहेका थिए । उनले सबैभन्दा धेरै गाली त्यो बेलामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई गरे होलान् ।

प्रचण्डसँग त उनको बापवैरी साँध्ने रिस नै थियो । नेपाली कांग्रेसका सभापति या ‘परमादेशबाट प्रधानमन्त्री भएका’ नेता शेरबहादुर देउवालाई समेत उनी आफ्नो वाणीमा निर्मम कटाक्ष गर्दथे ।समय बिस्तारै आफ्नै तालसुरमा चिप्लिँदै गयो । रहँदाबस्दा एकदिन यस्तो आयो– फेरि पुष्पकमल दहाल बालकोटको ‘वेटिङ रूम’मा केपी ओलीलाई भेट्न पर्खिरहँदा समयले नै ओलीले किस्तीमा सत्ता सजाई बोकेर ल्याउनेछन् भन्ने कुरा सपनामा समेत सोचेका थिएनन् होला । नेपाली राजनीति अझै ‘झिँगे दाउ’ मै अल्झेको छ । यसो भन्नेहरू यहाँ नभएका होइनन् तर कसले कसलाई कुन सेन्समा झिँगे दाउ भनेको छ त्योचाहिँ पत्ता लगाउनुप¥यो ।

वास्तवमा प्रजातन्त्रवादी पार्टी नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीहरूका बीचमा जुन प्रकृतिको गठबन्धन भएर स्थानीय निर्वाचन पार लाग्यो । परिणामलाई विश्लेषण गर्दै एमाले अध्यक्ष ओलीले जसरी भए पनि उनको भाषामा भनिने ‘अपवित्र गठबन्धन’ लाई टुक्र्याउनु थियो । अतः उनी खोलामा बकुल्लाले माछा ढुकेझैँ संसदीय र प्रदेश निर्वाचन परिणामलाई पर्खेर बसे । उनी एकातिर आफ्ना नेता र कार्यकर्ता वृत्तमा नेपाली कांग्रेससँग मिलेर एमाले र कांग्रेसको संयुक्त सरकार बनाउन सकिने हौवा पिटाउँदै थिए भने भित्रभित्रैचाहिँ प्रचण्डसँग गाढा राजनीतिक संवाद सम्पर्कमै रहेछन् ।

गठबन्धनको नेतृत्वकर्ता कांग्रेस सभापति शेरबहादुर देउवा संसदीय दलको नेतामा आफू चुनिनलाई गरेको प्रयास, नेताहरू गगन थापालगायत डा. शेखर कोइराला, विश्वप्रकाश शर्मा, प्रदीप पौडेल र डा.चन्द्र भण्डारीहरूको मानसिकतालाई सम्मान नगर्दा देउवासँग युवा मानसिकताका नेता र तमाम कार्यकर्ताहरू क्रमशः चिढिन थालेका थिए । यस मामिलामा वरिष्ठ नेता रामचन्द्र पौडेल, नेताहरू विमलेन्द्र निधि, उपसभापति पूर्णबहादर खड्का, नेता रमेश लेखक र नेता डा. सशाङ्क कोइरालासमेतले देउवालाई जिताउन पहलमानी भूमिका खेलेकै हुन् ।यहाँसम्म कुरा स्पष्टै थियो तर जब कांग्रेसले गठबन्धन बैठकमा प्रधानमन्त्री र राष्ट्रपति दुवै पदमा अडान कायम राख्यो अनि माओवादी अध्यक्ष प्रचण्डले क्रमशः गठबन्धनबाट टाढिन यो वा त्यो बहाना खोजे ।

उनलाई त्यतिखेर ‘के निहुँ पाऊँ कनिका बुक्याऊँ’ भन्ने लागेर कांग्रेसले राखेका ‘पहिलो दुई वर्ष देउवा प्रधानमन्त्री, दोस्रो दुई वर्ष प्रचण्ड र अन्तिम एक वर्ष माधव नेपाल’ या ‘पहिलो दुई वर्ष प्रचण्ड, दोस्रो दुई वर्ष शेरबहादुर देउवा र पछिल्लो एक वर्ष माधव नेपाल प्रधानमन्त्री’ यी दुई–दुई विकल्पमा सहमति नगरेर राष्ट्रपतिले उपलब्ध गराएको गत पुस १० को समय सीमामा दुई वा दुईभन्दा बढी दलका १६९ जना सांसदहरूको समर्थन लिएर शीतलनिवास पुगे । राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई प्रधानमन्त्री नियुक्त गरिन् र भोलिपल्ट मङ्गलबार साँझ ४ बजे शपथग्रहणसमेत सम्पन्न भयो ।राजनीतिको घडी यसरी घुम्यो कि त्यो कांग्रेस सभापतिले चाहेर पनि रोकिन सकेन । देउवाले त्यति नै खेर बालकोट फोन गरी एमाले अध्यक्ष केपी ओलीलाई ‘कांग्रेसले पाँच वर्ष लेखेर एमालेलाई सत्ता दिने बरू कांग्रेस प्रतिपक्षमा बस्ने’ भन्नेसम्मको प्रस्ताव पेस गरे तर ओलीले ‘समय ढिला भैसकेको’ जनाउ दिई एक गोलीबाट दुई–दुई सिकार गरे ।

पहिलो सिकार, उनी अघिल्लो गठबन्धन फुटाउन चाहन्थे जसमा उनी सफल भए । लामो समयका लागि नभए पनि अब एक महिनाभित्रमा प्रचण्डले विश्वासको मत लिने वातावरण ओलीले प्रदेश मुख्यमन्त्री र मन्त्रीहरूमा बसीबसी बिजनेस गर्न भ्याउँछन् अनि २ वर्षका लागि प्रचण्डलाई ढुक्क पार्दिन्छन् । साना खुजुरे दलहरू मिलाउँदा अहिले एमाले ‘सत्ताको किङमेकर’ बनेको छ । यो अवस्थामा प्रचण्ड ओलीको निर्देशनमा नाँच्ने ‘पपेट प्रधानमन्त्री’ हुन पुगेका छन् । यस मानेमा ओलीले आफ्नो जीवनकै सर्वाधिक लोकप्रिय निर्णय गर्दै देशैभरि निराश भैसकेका तमाम पार्टीका समर्थक, फलोअर, भोटर, कार्यकर्ता र नेताहरूको तालुमा प्राण भर्ने काम गरे ।

दोस्रो सिकार, उनले नेपाली कांग्रेसलाई आउँदो पाँच वर्षका लागि जिम्मेवार प्रतिपक्षका रूपमा भूमिका दिलाएर संसद्मा प्रतिपक्षी बेन्चमा बस्न बाध्य पारे । यो उनको विनालागनीको चर्चित बिजनेस हो जसमा उनी शतप्रतिशत सफल बनेका छन् । राजनीतिको चक्रचाल बुझेर गतिलोसँग गोटी चाल्न सक्ने ओली नेपाली राजनीतिमा बाँचेमध्ये सबैभन्दा धूर्त र कूटनीतिमा माहिर खेलाडी बन्न पुगे । ओलीमा यिनै गुणहरू रहेका छन् र त एमाले समर्थक कार्यकर्ता र नेताहरू उनलाई सजिलै ‘बा’ भन्छन् । यो ह्याउ उनकै पार्टीका दोस्रो पुस्ताका भनिने नेताहरू सुवास नेम्वाङ, ईश्वर पोखरेल, अष्टलक्ष्मी शाक्य र शङ्कर पोखरेललगायत अन्य कुनै नेताहरूसँग एक पित्को छैन ।

हो, यो पटकको संघ र प्रदेशको संसदीय चुनावमा ओलीका धेरै विश्वास पात्रहरूले सर्मनाक रूपमा चुनाव हारे । जुन हारले उनलाई भित्री हृदयदेखि चोट पु¥यायो । यसरी ती सानातिना खुजुरे चोटहरूका बदलामा उनले यो आफ्नो डिजाइनमा बनाएको वर्तमान सरकारबाट एकैपटक राजनीतिक रक्तसञ्चार गरेका छन् ।राजनीतिक विश्लेषक विष्णु सापकोटा भन्छन्– ‘देउवाको निर्णय ठीक थियो । चुनावपछिको ठूलो दलले शुरुमै तेस्रो दललाई प्रधानमन्त्री सुम्पनुहुँदैनथ्यो । प्रचण्डको पनि ठीक छन् । बालकोटमा कसैले प्रम पद किस्तीमा राखेर पर्खेको छ, देउवालाई किन नछाड्ने ? ओलीलाई पनि ठीक ५ वर्ष सत्ताबाहिर बस्न गाह्रो हुन्थ्यो । चुनाव हारेका र प्रतिपक्षमा बस्ने नेता–कार्यकर्ताहरू सत्तासीन दलमा नभाग्लान् भन्ने के ग्यारेन्टी दिन सकिन्छ ? अनि, नयाँ दलको सत्तामा अधिकार किन नहुने ?’

यसरी हाइटमा पुगेर विश्लेषण गर्दा सबैले इथिक्सको राजनीतिक शैलीलाई नै पछ्याइरहेका छन् । भनौं न सबैले जितेका छन् । श्याम व्यङ्ग्यमा पुराना पत्रकार कपिल काफ्ले भन्छन्– ‘प्रचण्ड, ओलीलगायतका नेताहरूले गएको दुई वर्षमा बोलेका सार्वजनिक बोलीहरू सामाजिक सञ्जालबाट हटाइहालौं, नत्र मान्छे हाँसेरै मर्ने भए ।’ नेपाली राजनीतिलाई असम्भव केही छैन भनेर यस्तै–यस्तै घटनाहरूमा नेताहरूले गर्ने उट्पट्याङ कार्यलाई हेरेर सम्भव होला भनिएको हो कि ?गम्भीर अध्येता बालकृष्ण भट्टराई भन्छन्– ‘तासको भाषामा भन्ने हो भने सिक्वेन्स मिलाउन नसक्दा कांग्रेसको ८९ को माल ढुँस भयो । देउवाले प्रचण्ड नामको सिक्वेन्स मिल्ने अल्टर कार्ड फ्याले । ओलीले हतारहतार टिपेर सो गरे । खेल खत्तम ! सत्ता हजम !!’ नेता त्यो टाठो व्यक्ति हो जसले सकसमा परेको पार्टी र कार्यकर्ताको असीम उद्धार गर्दछ । अहिले ओलीले जे गरे त्यो उनको दृष्टिमा ठीक गरेका छन्, यहाँ जोसुकैले जेसुकै भनोस् ।

‘आखिर श्रीकृष्ण रहेछ एक…. ! दौरा–सुरुवालाय नमः । प्रधानमन्त्री प्रचण्डले दौरा–सुरुवाल लगाएर एउटा छुट्टै मानक बनाए । स्खलन, विसर्जन र प्रदर्शन सबै सबैको संयोग हो– दौरा–सुरुवाल । ओलीले प्रचण्डलाई दौरा–सुराल पहिरिन बाध्य बनाए । हार्दिक बधाई कमरेड ओली र प्रचण्ड । सामन्तवादको प्रतीक दौरा–सुराल पनि प्रचण्डको शरीर सजाएर दङ्गदास भयो !’ –विश्लेषक सञ्जीव कार्की सटिक पारामा लेख्छन् ।यो हिजोको गठबन्धनको काउन्टर प्लेमा गरिएको नयाँ गठबन्धन हो । किनकि गठबन्धन– पुरानो सत्ता गठबन्धन, नयाँ गठबन्धन– नयाँ सत्ता गठबन्धन । आखिर खेल सत्ताकै रहेछ तर गठबन्धन ठगबन्धन नै त रहेछ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको अहिलेको अवस्था भनेको ‘घर छोडेर घरज्वाइँ बसेको, बूढी नै पोइल गई !’ हुन पनि अहिले प्रचण्डले माधव नेपाललाई जानकारी गराएर या सल्लाह गरेर बालकोट गएका भए प्रचण्ड प्रधानमन्त्री हुने थिएनन् ।

नयाँ गठबन्धन बन्ने नै थिएन । कुरा चुहिन्थ्यो र काम बिग्रिन्थ्यो । अब कसैले अहम् र अपमान महसुस गनरौं । राजनीतिमा र कूटनीतिमा यस्तो कहिलेकाहीँ हुन्छ जुन माधव नेपालको हकमा भोलि हुन सक्छ । प्रचण्डले जस्तै माधव नेपालले पनि यस्तो गर्ने स्थिति बन्न सक्छ, किनकि अहिलेसम्म खुरापाती राजनीतिका पिताम्महहरू देउवा, ओली, प्रचण्ड र माधव नेपालको राजनीतिक रूपमा अवसान भएकै छैन मात्र भूमिका परिवर्तन भएको हो ।

हिजो देउवाले प्रचण्डसँग मिलेर गर्दा ठीक हुने तर आज तिनै ओलीले प्रचण्डसँग मिलेर गठबन्धन गर्दाचाहिँ बेठीक हुने भन्ने छ र ? यो सब वैचारिक राजनीतिको स्खलन र बेपारी राजनीतिको प्रचलन मात्रै शुरुआत भएको हो । राजनीतिक रूपले पसलै खोलेका हुन् वर्तमानमा क्रियाशील सबै पार्टीका मुखियाहरूले । हिजो गठबन्धन भए पनि कांग्रेसमा टिकट हत्याउनका लागि देउवा–पत्नी आरजु देउवालाई नगद÷नजराना नगराई धेरैजसो नयाँ अनुहारहरूले कांग्रेसमा टिकटै पाएका रहेनछन् । बिस्तारै गोप्य गुत्थीहरू बाहिर आउँदै छन् । अझ यो पटक टिकटाकाङ्क्षीहरूलाई उनीहरूले पाएको टिकट निकै महँगो दामको भएको थियो भन्ने गुनासो पनि चुनावका बेला उत्तिखेरै सुन्नमा आएकै हो ।

बागमती प्रदेशको कुनै एक पहाडी जिल्लामा नेपाली कांग्रेसका एकजना ठेकेदार पृष्ठभूमिका जिल्लास्तरका नेताले कांग्रेसको टिकट पाउनका लागि आरजु म्यामलाई दश र प्रचण्ड अङ्कललाई चार गरी जम्मा चौध करोड लगानी गरेका र चुनावमा दुई करोड खर्च भएकाले करिब सोह्र करोडमा एकथान संघीय सांसद बनेका नयाँ माननीय यतिखेर मुखमा आएको रसिलो मन्त्री पद ओली बाको राजनीतिक हुन्डरीले उडाएकाले तिनी जिल्लाबाट राजधानी हानिएका छन् ।

यही माहोललाई सटिक पाराले पर्गेल्दै शिक्षक नेता लक्ष्मण शर्मा भन्छन्– ‘प्रचण्डलाई चिनिएकै हो, नचिनेझैँ नगरौं ।’ उनी अझ अघि भन्छन्– ‘सबैको जित भएको छ, प्रचण्ड– तेस्रोपटक प्रधानमन्त्री भएर । केपी ओली–गठबन्धन भत्काएर । रवि– उपप्रधानमन्त्री तथा गृहमन्त्री भएर । राप्रपा–साप्रपा आदि– मन्त्री भएर । कांग्रेस ग्रुप १– घन्टी बजेर देउवा रोकिएर । कांग्रेस ग्रुप–२ पूर्व प्यारो प्रचण्ड सरकार प्रमुख, आफू प्रमुख प्रतिपक्षी दलको नेता भएर । नेकपा (एस्) आफ्नो पूर्व नेता प्रचण्ड प्रधानमन्त्री र केही सांसद अहिलेसम्म थामिएर । ल भन्नुहोस् त कसले हा¥यो ? त्यसैले सबै सबैलाई बधाई छ ।’

प्रतिक्रिया दिनुहोस्