स्वस्थ रहोस् २०२३ !



युक्रेन आक्रमणको समाचारले २०२२ मा विश्वका सबै राजनीतिक समाचारलाई छायामा पा-यो । विश्वमा महँगी बढाउने काम त यस आक्रमणले ग-यो नै, साथमा तेस्रो विश्वयुद्ध नै निम्त्याउने हो कि भन्ने त्रास पनि यसले सिर्जना ग-यो ।

यो त्रास मानव जीवनसँग सम्बन्धित थियो । अकाल मृत्यु हुनेहो कि भन्ने त्रास ! खासगरी नेपालीका लागि भने अकाल मृत्युको त्रास बढी मात्रामा रोग तथा महामारीका कारण सिर्जना भयो । कोरोना, डेंगू लगायतका रोगव्याधीले लगातार त्रसित बनाए । तुलनात्मक रुपमा २०२२ मा कोरोना कम हानिकारक देखियो, खोपले साँच्चिकै ठूलो राहत प्रदान ग-यो । तर वर्ष सकिनै लाग्दा छिमेकी चीनमा भेटिएको कोरोनाभाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन बीएफ–७’ त्रासको स्रोत बनेको छ ।

दक्षिणतिरको अर्को छिमेकी भारतमा कोरोना भाइरसका संक्रमित बढेसँगै नेपालमा पनि संक्रमण फेरि फैलने जोखिम थपिएको छ । खुला सिमानाको लाभ उठाइरहेका नेपाल–भारतबीच स्वास्थ्यका मामिलामा समान नियति प्रकट हुनेगरेको छ । भारतमा भएका सकारात्मक घटना नेपाल आउन समय लागेपनि विकृति, विसंगति, रोगव्याधी आदिको आयात हुन समय लाग्दैन । कोरोना महामारीको सन्दर्भले पनि यही तथ्य प्रमाणित गरेको छ ।

चीनमा संक्रमण बढेसँगै भारत, बेलायत र अन्य युरोपेली देशले त्यहाँबाट गएका यात्रुलाई अनिवार्य आइसोलेशनमा बस्न निर्देशन दिएका छन् । जनस्वास्थ्यको मापदण्ड नअपनाए भारतमा संक्रमण फैलिएको दुई सातामा नेपालमा पनि नयाँ भेरिएन्टको संक्रमण फैलनसक्ने विज्ञहरू बताउँछन् ।

यसअघि भारतमा कोरोना फैलिएको दुई साताको आसपासमा नेपालमा पनि संक्रमण फैलिएको थियो । अहिलेसम्म नयाँ भेरियन्ट कति खतरनाक छ भन्ने कुरा आइसकेको छैन, तर छिटै फैलने भएकाले त्यस विरुद्ध लड्न तयारी अवस्थामा रहनुको विकल्प छैन । कोरोनाको नयाँ भेरिएन्ट ज्येष्ठ नागरिक, उच्च रक्तचाप, मुटु तथा मधुमेह र अन्य दीर्घरोगीका लागि खतरनाक हुनसक्छ भनिएको छ ।

भारत र चीनमा संक्रमित भएकाहरू अधिकांश रोग प्रतिरोधात्मक क्षमता कम भएका दीर्घरोगी रहेको बुझिएको छ । तर भारतका संक्रमितहरूलाई क्रिटिकल केयर सेवा आवश्यक नपरेको समाचारले नेपालीलाई केही राहत दिएको छ । त्यसैले संक्रमण दरलाई मात्रै हेरेर अहिले नै अत्तालिनुपर्ने अवस्था नरहेको भारतका इपिडिमियोलोजिस्ट तथा स्वास्थ्य प्रणाली विज्ञहरु उल्लेख गर्दछन् ।

ओमिक्रोनको यो भेरियन्ट हाल चीन, भारत र युरोपका केही देशमा फैलिएको छ । विश्व स्वास्थ्य संगठनले पनि यसबाट सतर्क रहन सचेत गराएको छ । धेरै तथ्याङ्क नआइसकेकाले यकीन रूपमा भन्न नसके पनि यो भेरियन्टले पहिले नै खोप लगाएका वा संक्रमित व्यक्तिलाई पनि फेरि संक्रमित बनाउनसक्ने विज्ञहरुको भनाइ छ ।

अकाल मृत्यु र अस्वस्थ जीवन त्रासको सीमा हो । अरु कुनै क्षेत्रमा समस्या सिर्जना भए, त्यसको समाधानका लागि मानव–जीवनले भूमिका खेल्नसक्दछ । तर जीवन नै नरहे संसार समाप्त हुन्छ । त्यसैले, युक्रेनमाथिको आक्रमण होस् वा कोरियाली उपमहाद्वीपको तनाव अथवा यस्तै अन्य राजनीतिक समस्या, यी सबैको समाधान स्वस्थ मानवले नै गर्नसक्तछ । त्यसैले २०२३ ले स्वस्थ जीवन दिनसके अरु उपलव्धिहरु स्वतः प्राप्तहुने सम्भावना बढ्नेछ । शुभकामना !

प्रतिक्रिया दिनुहोस्