जीवन जिउने कला



हामी जब बाहिर घुम्न जान्छौँ या मन्दिरमा जान्छौँ भने मनमा शान्ति प्राप्त हुन्छ । पहाडमा चढिरहँदा मनमा जुन शान्ति प्राप्त हुन्छ के त्यो शान्ति हामी घरमा बसेरै पनि पाउन सक्छौँ त !

गृहिणीहरू हरेक दिन आफ्नो काममा व्यस्त हुन्छन् । उनीहरूलाई फुर्सद नै हुँदैन । उनीहरूले सधैँजसो तनावमा रहनुपर्ने हुन्छ । उनीहरूलाई घरमा शान्तिको अभाव महसुस भएको हुन्छ तर जब उनीहरूलाई बाहिर जाने अवसर प्राप्त हुन्छ तब चैनको महसुस गर्छन् । यसर्थ हामी घरमै बसेर पनि शान्तिको आनन्द कसरी प्राप्त गर्न सक्छौँ !मानिसहरूले त शान्ति प्राप्त गर्नका लागि सबै कुरा छोड्नुपर्छ भन्ने ठान्छन् । यथार्थमा यो कुरा सत्य होइन । तपाईँ यो संसारमा, यो समाजमा रहेर पनि शान्तिको अनुभव गर्न सक्नुहुन्छ ।

संसारमा शान्तिको चाहना नराख्ने मानिस नै छैन । यद्यपि शान्तिका बारेमा मानिसहरूमा फरक–फरक विचार छन् । मानिसहरूको सोचाइ के छ भने, यदि यी सारा लडाइँहरू बन्द भएमा मात्रै शान्ति प्राप्त हुन सक्छ ।यो त त्यस्तो शान्तिको कुरा हो जसलाई युद्धको मैदानमा पनि अनुभव गर्न सकिन्छ । यो त्यस्तो स्वतन्त्रता हो जसलाई जेलमा रहने कैदीबन्दीले पनि अनुभव गर्न सक्छ । यो केवल भन्ने कुरा मात्रै होइन ।

किनभने, कैयन् मानिसहरूले त युद्धको मैदानमा पनि शान्तिको अनुभव गरेका छन् । यदि मानिसलाई शान्ति चाहिन्छ र मानिसले आफ्नो जीवनलाई स्वर्ग बनाउने हो भने मानिसमा त्यस्तो माध्यमको खाँचो पर्छ । त्यो माध्यममा जोडिएपछिमानिसको जीवनमा शान्तिको आगमन हुन्छ ।

शान्ति अनुभव गर्ने कुरा हो । के हामी आफ्नो जीवनमा शान्तिको अनुभव गर्न तयार छौँ ? के वास्तवमा नै हामी आफ्नो जीवनमा स्वर्गको अनुभव गर्न तयार छौँ ? किनभने, जुन चीजको अनुभव गर्नु आवश्यक छ त्यो केवल भनाइमा सीमित छैन । त्यसको प्रत्यक्ष अनुभव हुनुपर्छ ।एउटा कथा छ । एकजना मानिस योद्धा बन्न चाहन्थे । उनी एकजना गुरुकहाँ तरबार सिक्नका लागि गए । तब गुरुले भन्नुभयो, ‘ठीकै छ । यदि तिमी तरबार सिक्न चाहन्छौ भने म तिमीलाई तरबार चलाउने तरिका सिकाउनेछु ।’
उनले भने, ‘हजुर, म सिक्न चाहन्छु ।’

त्यसपछि गुरुले भन्नुभयो, ‘ठीकै छ, भोलि तिमी मेरो घरमा आउनू, त्यसपछि म तिमीलाई तरबार चलाउने विद्या सिकाउँला ।’
भोलिपल्ट ती मानिस गुरुको घरमा गए । त्यसपछि गुरुले भन्नुभयो, ‘हेर, अब तिमी यहीँ बस्छौ र तरबार सिक्न भनेरै आएका छौ भने त कमसेकम मेरो घरको सफासुग्घर पनि गरिदेऊ ।’ गुरुले यति भनेपछि उनी घरको सरसफाइ गर्नतिर लागे ।
निकै महिना नै बितिसक्यो । हरेक दिन उनले घर सफाइकै काममा व्यस्त हुनुपर्ने भयो तर उनलाई केही सिकाउने काम भने हुँदै भएन ।

एकदिन उनले गुरुसँग भने, ‘म यहाँ तरबार सिक्नका लागि आएको छु तर अहिलेसम्म मैले तरबार सिक्ने अवसरै पाइन ।’
त्यसपछि गुरुले भन्नुभयो, ‘ठीक छ, म तिमीलाई तरबार चलाउन सिकाउँछु ।’अनि, गुरुले त्यहाँ राखेको खरेटो टिप्नुभयो र त्यो खरेटोले तिनलाई हिर्काउन थाल्नुभयो । त्यसपछि ती मानिसले भने, ‘तपाईँ यो के गरिरहनुभएको छ ? तपाईँ मलाई यस्तो कस्तो तरबार सिकाइरहनुभएको छ ?’

ती मानिस निकै निराश भए, ‘मैले त तरबार सिक्नै पाइरहेको छैन ।’ त्यसपछि एकदिन उनले त्यहाँबाट फर्कने निर्णय गरे । उनले गुरुलाई भने, ‘अब म जान लागेको ।’ गुरुले भने, ‘अभैm केही दिन बस ।’उनी बसे । एकदिन उनले सोचे, गुरुले मलाई दुःख मात्रै दिइरहनुभएको छ । म जहाँ उभिए पनि उहाँले खरेटोलाई तरबार बनाएर मलाई हैरान पारिरहनुहुन्छ । यसको बदलामा म पनि उहाँलाई केही गर्छु ।
एकदिन गुरु खाना पकाइरहनुभएको थियो । कसौँडीलाई त्यसको ढकनीले छोपिराख्नुभएको थियो । जसै ती मानिस आए उनले खरेटोलाई तरबारलेभैmँ गुरुतिर प्रहार गर्न शुरु गरे । तब गुरुले त्यो ढकनी उठाएर त्यो प्रहारलाई छेकिदिनुभयो । त्यसपछि उनलाई थाहा भयो– योद्धाले जस्तै कसरी सोच्न शुरु गर्ने ! तरबार त पछि पनि चलाउन सिकौँला तर पहिला त मेरो सोच नै योद्धाको जस्तो हुनुपर्ने रहेछ । योद्धा हुनका लागि मैले सधैँ तैनाथ हुनुपर्ने रहेछ । जेसुकै होओस्, तरबार मात्रै होइन ढकनी नै भए पनि त्यसलाई उपयोग गर्नुपर्ने रहेछ ।

यो कथाको तात्पर्य के हो भने, हामी जीवनको मूल लक्ष्यलाई भुलेर अन्य चीजतिर हराउन थाल्छौँ । ‘मैले यो गर्नु छ, मेरो यो जिम्मेवारी छ’ भन्नेतिर लाग्छौँ । यद्यपि सबैभन्दा पहिलो तपाईँको उत्तरदायित्व मानिस हुनुको हो । पहिला ती सृष्टिकर्ताले तपाईँलाई दिएको आशीर्वादलाई स्वीकार गर्नुहोस् । त्यसपछि जिम्मेवारीलाई पनि स्वीकार गर्नुहोस् । जिम्मेवारीको अर्थ के हो भने, तपाईँ आफ्नो जीवनमा कुनै पनि परिस्थितिलाई सामना गर्न सक्नुहुन्छ । त्यसपछि सबै कुरा बदलिनेछ । तपाईँभित्र ती अद्भूत शक्ति विराजमान छन् ! तपाईँले तिनलाई चिनेपछि तपाईँको जीवनमा शान्ति आउनेछ । त्यसभन्दा पहिला आउन सक्दैन ।

यस संसारको आजको अवस्थाका बीचमा तपाईँ हुनुहुन्छ अनि तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । यो समयमा यसको सबैभन्दा धेरै महत्त्व छ । चाहे बाहिरबाट जस्तोसुकै समाचार आएको भए पनि भित्रको समाचारचाहिँ के हो भने, अहिले पनि तपाईँभित्र यो श्वास आइरहेको छ अनि गइरहेको छ । जसले यो संसारको रचना गरेका छन् ती त अहिले पनि तपाईँभित्र छन् । त्यो शक्ति अहिले पनि तपाईँभित्रै छ ।

यो पनि एउटा खबर हो । तपाईँ अहिले जीवित हुनुहुन्छ । यो सबैभन्दा ठूलो समाचार हो, त्यसैले यस कुरालाई नबिर्सनुहोस् । चाहे जतिसुकै धेरै अत्याउने खालका समस्या आए पनि यो एउटा समाचारमा मानिसले आत्तिनुपर्दैन । जबसम्म तपाईँ जीवित हुनुहुन्छ तबसम्म तपाईँभित्र हिम्मत छ । तपाईँ केही गर्न सक्नुहुन्छ अनि तपाईँलाई आवश्यक पर्ने कार्य गर्नुहोस् । यो शान्त हुनुपर्ने समय हो । यदि तपाईँ रेल्वे स्टेसनमा जानुहोस् या विमानस्थलमा जानुहोस्, आफ्नी श्रीमतीलाई लिन जानुहोस् या त आफ्नो श्रीमान्लाई लिनका लागि जानुहोस् अथवा आफ्नो भाइलाई लिन जानुहोस् ।

त्यहाँ कति मानिसहरू ओहोरदोहोर गरिरहेका हुन्छन् तर उनीहरूसँग तपाईँको कुनै सरोकार हुन्छ र ! कुनै सरोकार हुँदैन । तथापि, त्यो भीडमा तपाईँ जसलाई लिन भनेर आउनुभएको छ नि, उसलाई पहिचान गर्नु अत्यावश्यक हुन्छ । हाम्रो आजको अवस्था त कस्तो भयो भने, यो संसारमा हामीले आआफूले आफू लाई चिन्दैनौँ तर बाँकी सबै चीजलाई चिन्दछौँ । अन्य सबै कुरा जान्नका निमित्त हामीले आफू ले आफै‌ं लाई नै बिर्सनका लागि बाध्य तुल्याएका छौँ ।

यसको परिणाम कस्तो हुन्छ ? मानिस व्याकुल हुन्छन् । आफू सँग त रहनै सक्दैनन् किनभने ‘म को हुुँ’ भनेर बुझ्दै बुझ्दैनन् । यो मेरो हो भन्ने कुरा त थाहा छ । यो मेरो हो, यो मेरो हो भन्नका लागि एकदमै तयार हुन्छन् तर ‘म को हुँ’ भन्ने कुरा कसैलाई थाहा छैन । यदि ‘म को हुँ’ भन्ने कुरै थाहा छैन भने ‘यो मेरो हो’ भनेर तपाईँलाई कसरी थाहा भयो ? जसले आपूmलाई चिन्दै चिन्दैन, आपूmलाई बुझ्दै बुझ्दैन भने ऊ आआफू सँग कसरी रहन सक्छ ! के हुनुपर्छ भने, मानिसलाई आपूmसँग रहने कुरामा उसलाई कुनै सङ्कोच हुनुहुँदैन ।

मानिसहरू आफै‌सँग दिक्क हुन्छन् । अरूसँग होइन, आफै‌ंसँग दिक्क हुन्छन् किनकि आफूलाई बुझ्दैनन् । आफू लाई चिन्दैनन् । जस्तो बच्चाहरू मेलामा जाँदाखेरि कहिले बेलुनलाई हेर्छन्, कहिले यो हेर्छन्, कहिले त्यो हेर्छन् । यी सबै चीजहरू त्यहाँ राखिएका हुन्छन् ।

तथापि, उसले समातेको एउटा औँलालाई समातिरहनुपर्ने आवश्यकताका बारेमा उसले बिर्सन्छ । बिस्तारै–बिस्तारै गरेर उसको ध्यान भड्कँदा भड्कँदै कहिले बेलुनतिर जान्छ, कहिले खेलौनातिर जान्छ त कहिले खाने परिकारतिर जान थाल्छ । कहिले यता जान्छ, कहिले उता जान्छ अनि यस्तो हुँदाहुँदै उसले त्यो औँलोलाई छोडिदिन्छ । जब उसले समातेको औँलोलाई छोडिदिन्छ तब पनि उसको ध्यानलाई भड्काउने सबै चीजहरू त्यहीँ नै हुन्छन् । तथापि, अब भने त्यो बालकलाई ती चीजप्रति कुनै चासो हुँदैन । के भयो भनेर उसलाई केही पनि बोध हुँदैन ।

परिणामतः ऊ हराउन पुग्छ । जब उसलाई आफू हराएको महसुस हुन्छ तब उसले आफ्नी आमा या त बुबालाई हेर्ने कोशिश गर्दछ तर त्यहाँ कसैलाई पनि भेट्न सक्दैन । त्यसपछि उसको अवस्था कस्तो हुन्छ ? तपाईँ किन मनको पछि दगुर्नुभएको छ ! तपाईँ किन यो दुनियाँका पछाडि दौडिरहनुभएको छ ! यो दुनियाँ त स्वार्थको संसार हो अनि जुन दिन तपाईँले यसका पछि लागेर दौडन छोड्नुहुनेछ तब यसले तपाईँलाई छोड्नेछ ।

यो दुनियाँका पछि दौडने कुरा त कुकुरले कारका पछि–पछि दगुरेजस्तो मात्रै हो । शायद तपाईँले देख्नुभएको पनि होला– कुकुर कारको पछि दगुरिरहेको । जसरी कुकुर कारका पछि दगुरिरहेको हुन्छ त्यसरी नै मानिस यो मायाका पछि लागिपरिरहेको छ । उसले ठीक त्यस्तै गरिरहेको छ । कुकुरले के बुझ्दो हो– के उसले कारलाई भेट्न सक्छ ? यदि भेटिहाल्यो भने पनि उसले कारलाई के गर्छ र ! केही पनि गर्दैन, किनभने उसले त्यसलाई खान त सक्दैन ।

यो जीवनमा तपाईँ हुनुहुन्छ । एउटा समाचार के छ भने, तपाईँ अहिले जीवितै हुनुहुन्छ । यो समाचारलाई पनि सुन्नुहोस् । यसलाई पनि सुन्नुहोस् अनि यसको महत्त्व के छ भनेर यसलाई बोध गर्नुहोस् । यो अत्यन्तै ताजा खबर हो । यो अहिलेको खबर हो, हिजोको होइन, भोलिको होइन । यो अहिलेको खबर हो, किनभने तपाईँभित्र यो श्वास आइरहेको छ र गइरहेको छ अनि तपाईँ जीवित हुनुहुन्छ । यसलाई नबिर्सनुहोस् । पछि धेरै कुरा हुनेछ । तथापि, जे–जस्तो हुने भए पनि यो समयमा के भइरहेको छ भनेर ध्यान दिनु आवश्यक छ । यो एकदमै अत्यावश्यक कुरा हो ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण: डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्