फिरौती रकम नदिएपछि बालकको हत्या, दुई जना पक्राउ



वीरगञ्ज । वीरगञ्ज महानगरपालिका–२५ सिर्सियाका १४ वर्षीय बालक निरज कुमार पासवानको हत्या गरेको अभियोगमा दुई जनालाई पर्सा प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले पासवानको अपहरण गरी हत्या गरेको अभियोगमा वीरगञ्ज महानगरपालिका–१७ अलौ बस्ने २४ वर्षीय कृष्णा भन्ने श्याम प्रसाद यादव र पर्साको धोबिनी गाउँपालिका–१ घोडदौड पिप्रा टोल बस्ने ३० वर्षीय दिलिपकुमार पटेललाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साले बुधबार दुवै जनालाई सार्वजनिक गरेको छ । गत मंसिर ५ गतेदेखि सिर्सिया टोल बस्ने पासवान हराएका थिए । हराएको ३५ दिनपछि गएको आइतबार राति सिर्सिया खल्वाटोलस्थित गुरूकुल पन्ना मेमोरियल इंग्लिस बोर्डिङ स्कुलको पुरानो भवन अगाडि सेफ्टी ट्यांकीभित्र शव भेटिएको थियो ।

किशोर हराएको १२ दिनपछि उनका बुवा श्रीराम पासवानको मोबाइलमा अपहरणकारीबाट ५० लाख फिरौतीको फोन आए पनि प्रहरीलाई गएको पुस २५ गते नै फिरौतीको खबर प्रहरीलाई दिइएको थियो ।

५० लाख फिरौती नदिएकै कारणले पक्राउ परेका यादव र पटेलले पासवानको हत्या गरेको भनि खुल्न आएको पर्साका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

पक्राउ परेका दुवै जनालाई अदालतबाट अपहरण र शरीर बन्धक मुद्दामा म्याद थप गराइ अनुसन्धान जारी रहेको गिरीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्