सकारात्मक सोचको खाँचो



नयाँ सरकार बनेपछि सरकारको बनावट र यसले गर्ने कार्यशैलीको बारेमा विभिन्न किसिमका टीका टिप्पणी हुनथालेका छन् । पाँच दल मिलेर निर्वाचन लडेको तर सरकार बनाउने बेलामा अन्यथा अवस्था सिर्जना भएको जुन स्थिति छ, त्यो साँच्चिकै अस्वाभाविक छ ।

विगत दुई वर्षसम्म एक–आपसमा निकृष्ट शब्दवलीको प्रयोग गर्दै गालीगलोजमा उत्रिएका नेताहरुबीच अहिले अंकमाल सुरु भएको छ । आलोचनाका ठाउँहरु धेरै छन्, तर के निरन्तर आशंका र आलोचनामै समय बिताउने हो ? हरेक कुरामा प्रश्न गर्ने नेपालीको बाँनी सचेतनाको सूचक पनि हो । यो बाँनी यस पटक पनि प्रकट नहुने कुरै भएन । विभिन्न समूह मिलेर बनेको सरकारले कस्तो काम गर्छ भन्नेभन्दा पनि सरकारमा सामेल भएका व्यक्तिको बारेमा सतही टिप्पणी हुनुभने सिर्जनात्मक काम होइन ।

नयाँं प्रधानमन्त्रीले कुन भिजन लिएर यस पटक सरकारको नेतृत्व गरेका छन् भन्ने विषयमा चर्चा हुनु अहिलेको आवश्यकता हो । तर प्रधानमन्त्रीले लगाएको दौरा–सुरुवालको बारेमा सामाजिक सन्जालमा बडो रोचक ढंगले टीका–टिप्पणी भएको छ भने मुलुक बनाउनका लागि दिनुपर्ने सकारात्मक सुझाव चाहिं हराउँदैगएको छ । प्रधानमन्त्रीले किन दौरा सुरुवाल लगाए अहिले आम मानिसको चासो हुनुलाई सकारात्मक रुपमा लिन सकिंदैन । पोशाक जस्तोसुकै लगाएपनि उसले ल्याएको ‘भिजन’ले मुलुक बन्छ कि बन्दैन भनेर बहस हुनुपर्ने थियो । विषयवस्तु एकातिर टिप्पणी अर्कोतिर हुनु मुलुकका लागि हितमा देखिंदैन ।

व्यक्तिप्रधान बहसले मुलुक निर्माण हुँदैन यो चेतना सामाजिक क्षेत्रका अगुवालाई हुनु आवश्यक छ । प्रधानमन्त्री दाहालले लगाएको पोशाक र उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने विरुद्ध अदालतमा परेको रिटको विषयलाई उछालेर मुलुकको विकास निर्माणका कामलाई ओझेलमा पार्न खोजिएको त होइन भन्ने बहस पनि शुरु भएको छ ।

गृहमन्त्री लामिछानेविरुद्ध अदालतमा परेको रिटको सुनुवाइ हुने र दोषी भए कारबाहीको भागिदार बन्ने निर्दोष भए सफाइ अदालतले नै देला, त्यो पछिको विषय हो । राज्य सत्ताको वागडोर सम्हालेर कामको सुरुवात गर्ने चरणमा रहेका व्यक्तिको बारेमा अहिले नै हतार गरेर टीका–टिप्पणी गर्नु मुलुकको हितमा देखिदैन । अस्थिर राजनीतिलाई एउटा ‘ट्रयाक’ मा ल्याएपछि सरकारले गरेर्का कामको मूल्याङन गर्दै गुण–दोषको आधारमा टिप्पणी हुनसके मुलुकले निकास पाउने थियो ।

मुलुक बनाउन भिजन सहितको टिप्पणी आवश्यक छ । हाम्रोजस्तो अल्पविकसित मुलुकमा सकारात्मक सोचभन्दा पनि नकारात्मक सोचले गाँंज्नेगरेको छ । मुलुक निर्माणका लागि सकारात्मक सोचको खाँंचो छ । यदि मुलुक नै बनाउने उद्देश्य सबै नेपालीको हो भने सकारात्मक सोचलाई फराकिलो बनाउन जरुरी देखिन्छ । नकारात्मक सोचले मुलुक बन्दैन । सरकारका राम्रा कामको मुक्त कण्ठले प्रशंसा र नराम्रा कामको तीव्र आलोचना गर्ने बेला आउँछ, त्यस अवसरलाई हामीले गुमाउनुहुन्न ।

तर अहिले नै सरकारले गर्नसक्ने कमजोरीको कल्पना गरेर कुनै न कुनै रुपमा नकारात्मक टिप्पणी गरिहाल्नु बुद्धिमानी हुन्न । कतिपय टिप्पणीहरु रमाइलोका लागि पनि गरिन्छन्, गर्ने सन्दर्भहरु पनि छन् । तरपनि नेताले गल्ती गरे भनेर हामी नागरिकले पनि गर्नुपर्छ भन्ने छैन । सरकार निर्माणकै क्रममा रहेकाले सिर्जनात्मक सुझावमा जोडदिनु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्