गाली, बोली, पहिचान, मान, अपमान र मनोविज्ञान



गत बुधबार (पुस ६ गते) माइतीघर मण्डलामा कस्तो–कस्तो रौनक थियो ! हुन त त्यो एक प्रकारको विरोध सभा थियो, तर जाडोमा हल्का तताएकाले र शायद मलाई नदुखेकाले मैले रौनक भनेँ । म तल पनि जोड्दै जानेछु, यसको मनोविज्ञान र मलाई नदुख्नुका कारणहरु । म अन्यौलमा थिएँ । त्यो रौनक गालीको हो कि, पहिचानको हो कि, मानको हो कि, अपमानको हो कि ! खै कस्तो मनोविज्ञानको हो ? कारण थियो धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले अन्य उनका विरोधी जनप्रतिनिधिहरुप्रति प्रयोग गरेका शब्द ‘चमारे’ प्रवृत्ति ।

हुन त शब्द खेलाउन जान्ने कतिपय खेलाडीहरुले यस्ता आरोपलाई तुरुन्तै निस्तेज पनि पार्न सक्छन् र यो कुनै खास मुद्दा नै बन्दैन । केपी ओलीजस्तो शब्दका पेले भएको भए शब्दमा सुधार गरिहाल्थे । अथवा मजस्तै साधारण खेलाडी भएको भए पनि भन्दिन्थेँ– ‘चमेरे प्रवृत्ति भन्दा चमारेजस्तो सुनिन गएछ, मैले चमारे भनेको हो । उज्यालोमा सुतिरहने, अँध्यारो भएपछि घात गर्न जाने चमेरे प्रवृत्ति भनेको हुँ, मेरो निरन्तर विरोध गर्ने जनप्रतिनिधिहरुलाई ।’ यसरी कुरा बङ्ग्याएर भन्दिएको भए माफी पनि माग्नुपर्दैनथ्यो, असली चमारहरु पनि उफ्रने कारण सेलाउँथ्यो ।

यस्तै चौँरीको पुच्छरलाई पनि चमर भनिन्छ । चौँरीको पुच्छरजस्तो हावामा हल्लिइरहने, जनताको कामचाहिँ नगर्ने जनप्रतिनिधिहरुलाई मैले चमरे भनेको हो भनेको भए पनि सक्किइजान्थ्यो त हो ब्रो ! तर बिचरा शब्दको खेल नजानेको सोझो राई मेरो गोरुको बाह्रै टक्का भनेर फसिराछन्, कसैको दृष्टिमा । ‘कसैको दृष्टिमा’ भनेर किन भनेँ मैँले ? किनकि यो विषय विभिन्न प्रकारका मनोविज्ञानमा आधारित छ । त्यो विभिन्न पक्ष भनेको गाली र बोलीका अभ्यास अनि पहिचानको सापेक्ष्यतामा आधारित हुन्छन् । अनि आफ्नो अभ्यासलाई मान्यता दिने, अर्काको अभ्यासमा गाली र अपमान खोतल्ने अल्पबुद्धिका मित्र परियारजस्ता विक्षिप्त विद्वानहरुको अन्त्यहीन भोकमा आधारित छ ।

म भिडियो हेर्दै थिएँ, हर्क साम्पाङको चमारे शब्दको विरोध गर्दै गर्दा मित्र परियार भन्दै थिए– ‘मेयर भनेको त मजदुरको जस्तो तल्लो स्तरको बुद्धि रहेछ हर्केमा !’ आफू आफ्नो धर्म छाडेर, डलर खाएर पीएचडी गरेको मित्रे परियारले मजदुरको बुद्धि हुन्न भनी हेप्योे भनेर मजदुर आन्दोलन नगर्ने त अब ? म यसमा मित्र परियारको पनि दोष देख्दिन, हर्क साम्पाङको पनि दोष देख्दिन, अन्जानमा अभ्यासको निरन्तरता हुँदा । तर जानकारीमा आइसकेपछि सुधारको प्रयास देखाउनु ज्ञानीको लक्षण हो ।

हर्क साम्पाङको भनाइलाई नै दोहो¥याउने हो भने, हाम्रो ग्रामीण भेगमा विभिन्न प्रकारका उखानटुक्का, उपमा, अलङ्कार आदिको सशक्त प्रयोग आज पनि छ । नेपाली भाषामा जहाँ कतिपय प्रयोग सापेक्षिक रुपमा राम्रो वा नराम्रो देखाउन गरिन्छ । तर सभ्य समाज निर्माणको क्रमले कसैलाई पनि नीच र खराब देखाउने परम्परागत अभ्यासलाई निरुत्साहित र निस्तेज पार्दै विभेदरहित, समशिष्टतातर्फ लैजानुपर्छ ।अब प्रवेश गरौँ, पहिचान र विडम्बनापूर्वक मनोविज्ञानतर्फ ।

म यो धर्तीको चारै कुना घुमेको छु । त्यो क्रममा मेरो पहिचान धेरै पटक फेरिएको छ । कहिले म एसियन भएको छु । कहिले म नेपाली भएको छु । कहिले म हिन्दू भएको छु । कहिले म गरिब भएको छु । कहिले म परामर्शदाता भएको छु । कहिले विद्यार्थी त कहिले हेल्पर, कहिले कूक, अनि कहिले नेपाली साहित्यकार, कवि भएको छु ।

मेरो पेसा र सिर्जनाको हिसाबले जसले जहाँ जे देख्छ मलाई त्यही पहिचान दिन्छ । म खुशी हुन्छु, गर्व गर्छु । तर कतिपय पहिचान मेरो शक्ति, मेरो प्राप्ति, मेरो देश र समाजको हालतले गर्दा मलाई विक्षिप्त बनाउने खालको पनि हुन्छ । अनि मुख्यतः मेरो पहिचान नै मानसिक अवस्थामा नकारात्मक धक्का दिने खालको भयो भने त्यसले मलाई दुखाउने गर्छ ।

हाम्रा भनाइहरुलाई नै लिऊँ– कालोलाई काले नभन्नू, गरिबलाई गरिब नभन्नू, होचोलाई पुड्के नभन्नू आदि । हो त्यही तर त्यही नभन्नू । किन ? किनकि जे छ त्यो हुनेलाई मन परेको छैन, जो हुनुले ऊ दुःखी छ । त्यो नै फेरि किन थप्नु उसकै लागि ?तर यो नकारात्मक स्थिति फेरि ध्रुवसत्य होइन । पञ्चेबाजाको सुखद परिस्थितिमा वा बुझाइको कलात्मक रुपान्तरणमा दमाईंको परिचय स्वागतयोग्य हुन्छ ।

आधुनिक छालाका कारखानामा टन्न दाम कमाएका मालिक हुन् या मजदुर, तिनिहरुको लागि या त चमार शब्दको अर्थ परिवर्तन भएको छ, या त त्यही पहिचानको मूल्य बढेको छ । आखिरीमा गाउँको आदरणीय सार्की दाइले नि गाउँतिर मरेको वा मारेको पशुको छाला लगेर जुत्ता, नारालगायत अत्यावश्यक सामान बनाउँथे ।

त्यसको प्रयोगकर्ता ब्राह्मण समाज पनि उत्तिकै हुन्थ्यो । यथार्थमा त्यो सीप थियो, उद्योग थियो र पेसा थियो चम्रको काम गर्ने । भाषाको आयामिक अभ्यासमा सार्की दाजु चमार पनि भनिन थाल्यो, जसरी ब्राह्मण दाजु टपरे भनिन थाल्यो । ओ हो ! अहिले पो याद आयो, ब्राह्मणलाई टपरे भन्ने ज्ञानीहरु धेरै सुनियो, खै माइतीघर मण्डलामा एकजना टपरे आउँदैन, किन होला ?

किनभने पूजापाठ गर्नु÷गराउनु, दुना–टपरामा दिएका दानपात ग्रहण गर्नु आदि नराम्रा काम हैनन्, त्यससँग जोडिएका पहिचान स्वीकार्य छन् । हो, यही आफ्नो पेसाप्रतिको स्वीकारोक्ति र गर्व भयो भने चमार, दमाईं, मजदुर, मसल्ची, हली जे भने पनि समस्या आउँदैन । तर फेरि जब त्यही पेसागत पहिचानलाई जब शक्ति, सम्पत्ति, सरसफाइ, सहजता आदि दृष्टिकोणले सापेक्षिक रुपमा हेरिन थाल्छ, अनि असमानता देखिन थाल्छ । हो, राज्यले र समाजले रोक्नुपर्ने यस्तै असमान दृष्टिको अभ्यास हो । यो अभ्यास ब्राह्मण र गैरब्राह्मणबीच मात्र हैन, प्रत्येक जातजातिहरुबीच चलिआएको छ सदियौँदेखि ।

यो असमानताको मनोवैज्ञानिक भाव जातीय हिसाबले मात्र हैन, आर्थिक र समग्र जीवनस्तरको हिसाबले पनि उत्पत्ति हुन्छ । जस्तो कि म अमेरिकातिर गोराहरुबीच घुम्दै गर्दा मलाई कुनै गोराले ‘हि इज एसियन’ भन्यो भने म दुई तरिकाले सोच्न सक्छु– पहिले त मलाई एसियन जीवनस्तर, गरिबी, बेथिति आदिको हीनताबोधले त्यो एसियन भन्ने पहिचानलाई गालीको रुपमा वा होच्याएको रुपमा लिन सक्छु । तर म स्वयंले अमेरिकामा आफ्नो भौगोलिक पहिचान दिनुपर्दा म एसियन नै त हुँ नि !

यस्तै मनोविज्ञानको टड्कारो उदाहरण हामीमाझ हेरौँ– पहाडियाले मधिसे भन्दाखेरि हामीलाई मधिसे भनेर विभेद ग¥यो, हेप्यो भन्दै रोइलो गर्ने मधेसवासीहरु आफ्नो प्रदेशको नामकरण मधेस प्रदेश राख्न सफल हुँदा सबैभन्दा ठूलो उपलब्धि मानिरहेछन्, आफ्नो पहिचान मधेसी नै हुनुपर्छ भन्छन् । अझै पहाडियाले उनीहरुलाई मधिसे भन्यो भने एजेन्डा विभेदकै आउँछ । के यो मानसिक रोग होइन ?यस्तै रमाइलो विडम्बना दलित शब्दका खेलहरुमा देख्न पाइन्छ । दलित शब्दहरु पहिचानको रुपमा संरक्षण पनि गर्नुपर्ने, संविधान र कनुनहरुमा उल्लेख गर्नै पर्ने, तर गैरदलितले त्यही संरक्षित शब्दहरु उच्चारण गर्दै पहिचान दिँदाचाहिँ फेरि रोइलो– हेप्यो, विभेद ग¥यो आदि आदि ।

बाइ द वे, केही मनोवैज्ञानिक हीनताबोध र पूर्वाग्रही पीडा कम गर्न शब्दहरुको स्तरोन्नति गर्न पनि सकिन्छ । जस्तो कि अंग्रेजीकरण । परियार वा दमाईंको सट्टा टेलर वा मास्टर, सार्कीको सट्टा सु–मेकर आदि । नेपाली स्तरबाट सीधै अमेरिकी स्तरमा प्रोमोसन । तर यथार्थ के हो भने, दमाईं, कामी, सार्की सबै खस–आर्य हुन् । पेसागत पहिचान नै सदियौँको अभ्यासबाट जातीय पहिचानजस्तो बन्न गएको हो । पेसागत पहिचान पेसासँगै बदलिन जान्छ । जस्तो कि ‘स्त्री रत्नं दुस्कूलादपि’ भन्ने नेपाली सामाजिक कथामा एक परियारकी छोरी संस्कृतकी प्रकाण्ड विद्वान् बनेर पूजापाठ, पुराण वाचन गर्ने गुरुमाको पहिचान बनाएकी छन् । त्यस कारण गाली र विभेदपूर्ण पूर्वाग्रहभन्दा पहिला सत्यको खोज गरौँ र सहिष्णु बनौँ ।

प्रतिक्रिया दिनुहोस्