सम्पादकीय : क्रिसमस र कोरोना



एशिया क्षेत्रमा क्रिसमसको खुसीसँगै कोभिडको त्रास बढेर गएको छ । आज क्रिसमस दिवसमा विश्वका इसाई धर्मावलम्वीहरु रमाइरहेका बेला कतिपय मुलुकमा भने यस अवसरमाथि नियन्त्रण गर्ने अवस्था सिर्जना भएको छ ।

शुभकामनाको आदान–प्रदानका लागि भौतिक भेला गर्ने रहरलाई स्वास्थ्य सतर्कताका कारण दबाउनुपर्ने अवस्था सिर्जना भएको छ । छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ–७ को संक्रमण बढ्दै गएपछि नेपालले पनि स्वाथ्य सतर्कता अपनाउनु स्वाभाविक छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै हरेक व्यक्तिलाई मास्क लगाएर मात्र बाहिर निस्कन अपिल गरेको छ ।

मन्त्रालयले स्वास्थ्य सतर्कताका लागि गरेको अपिल ईच्छाधीनको विषय मात्र नभएर अनिवार्य छ । विगत वर्षहरुमा जस्तै भौतिक दूरी कायम गर्ने र स्यानिटाइजर प्रयोग गर्ने कार्यमा पनि सजग हुनु आवश्यक भएको छ । मन्त्रालयले सेनिटाइजरको प्रयोगका साथै नियमित रूपमा साबुनपानीले हात धुन र कोभिड–१९ को बुस्टर डोज लगाउन सर्वसाधारणलाई अपिल गरेको छ । अपिल सहितको विज्ञप्ति शनिबार सार्वजनिक भएपछि एकाएक सतर्कता अनुभूतिको पारो आकाशिएको छ ।

नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि खुला सिमाना र आवतजावतले गर्दा संक्रमणको जोखिम रहेको मन्त्रालयको निष्कर्ष छ । नेपालमा १० लाख नौ सय ६२ जनामा कोरोनाभाइरसको संक्रमण देखा परिसकेको छ । संक्रमितमध्ये १२ हजार १९ जनाको ज्यान गइसकेको अभिलेख छ । नेपालले २०७६ सालदेखि नै कोभिड महामारीको चोट भोग्दैआएको छ । नेपालमा कोभिड–१९ को संक्रमण सोही सालको चैत्र महिनाबाट समुदाय स्तरमा पुग्यो । तीन नयाँ संक्रमितमध्ये एक कैलालीकी ३४ वर्षीया महिला स्थानीय थिइन् । उनी चौथो संक्रमितका आफन्त रहेको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो ।

चौथो संक्रमित विदेशबाट आएर घर बसेका थिए । ज्वरो आउने लगायतका समस्या देखिएपछि अस्पताल गएका थिए । उनकै आफन्तलाई संक्रमण देखिएको थियो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) को प्रोटोकलअनुसार यसलाई कोरोना संक्रमणको दोस्रो चरण मानिएको थियो । अन्ततः हरेक नागरिकको चाहना विपरीत कोरोना समुदाय स्तरमा फैलियो । त्यसअघि नेपालमा देखिएको ६ वटा संक्रमण विदेशबाट आएकाहरुमा मात्र देखिएको थियो ।

यद्यपि, कतिपय मुलुकहरुसँग तुलना गरेर हेर्दा नेपालको स्थिति त्यति भयावह नभएको तथ्याङ्कले देखाउँछ । यसका कारणहरुमा परीक्षण नै नहुनु वा रोग लागेर पनि आफै ठीक हुनु प्रमुख मानिन्छ । नेपालीको जीवनशैलीका कारण पनि कोरोनाभाइरसको सङ्क्रमण धेरै नफैलिएको हुनसक्ने विज्ञहरुले बताएका छन् ।

नेपालीहरु धेरै पानी खेलाउने, खानेकुराहरू पनि धेरै पकाएर खाने, हात मिलाउनुको साटो नमस्कार गर्ने, अङ्कमाल वा म्वाइँ खाने चलन कमै भएको, बेसार र जडीबुटीको सेवनआदिले कोरोना लाग्न नदिएको हुसक्छ भनिन्छ । नेपालीको प्रतिरक्षा प्रणाली बलियो भएको, क्षयरोगबाट बच्नका लागि लगाउने बीसीजी खोपको प्रभाव र भाइरस फैलाउने पूर्वाधार नै कम भएका कारण पनि नेपाल सुरक्षित रहेको हुनसक्छ । तर, छिमेकी चीन र भारतमा फैलिएको कोरोनाको मात्रा हेर्दा यस्ता कुरामा मात्र आश्वस्त हुनसकिन्न । सुरक्षा उपायहरु अपनाउन जाँगर देखाउनैपर्छ ।

प्रतिक्रिया दिनुहोस्