‘धुपबत्ती’ सल्काएपछि स्टेरिङ

0
Shares

–अर्बमा बजेट
–करोडमा ठेक्का
–लाखमा भुक्तानी

महाभारत, काभ्रे  ।

वर्षेनी करोडौं रकम विनियोजन हुने काभ्रेका सडक जोखिममा छन् । ६ महिना मात्रै चल्ने सडकमा यात्रा गर्न विवश महाभारतबासी घरबाट निस्किएर गन्तव्यमा नपुगेन्जुल सर्दुम देवी मन्दिर सम्झन्छन् । चालकहरू उकालो र ओरालो यात्रा सकेपछि सर्दुम मन्दिरमा धुपबत्ती गर्छन् । धुपबत्ती पछि मात्रै चालक स्टेरिङमा पुग्ने गरेका छन् ।

आर्थिक वर्ष २०७८-२०७९ मा सडक स्तरोन्नतिका लागि १ करोड रकम विनियोजन भएको थियो । ५८ लाखमा ठेक्का सम्झौता भयो । १६ लाख रुपियाँको काम सम्पन्न भएको बिल भर्पाइ बुझाएका निर्माण व्यवसायी आत्माराम लामाले ९ लाख रुपियाँ भुक्तानी पाए । मर्मत गर्ने क्रममा लगाइएको वालमा कमसल निर्माण सामग्री प्रयोग गरेको भन्दै स्थानीयले उजुरी गरेका थिए । सोही उजुरीका आधारमा प्राविधिक मूल्यांकन गरी भुक्तानी गरिएको प्रमुख प्रशासकीय अधिकृत हरिसिं विष्टले बताउनुभयो । चालु वर्षका लागि संघ र स्थानीय सरकारको समपूरक बजेटमा १० करोड विनियोजन भएको छ । महादेवटार सर्दुम बुढाखानी सडकको विभिन्न खण्डमा २ किलोमिटर ढलान र मोड सुधार हुनेछ । जिल्लाको विकट क्षेत्र महाभारत गाउँपालिका सडक सञ्जालमा जोडिएको छ ।

६ वर्षअघि सडकको ट्रयाकसमेत नभएको पालिकामा सडक जोडिएसँगै स्तरोन्नतिका लागि विनियोजन भएको अर्बौंको रकम करोडमा ठेक्का लाग्ने र लाखमा भुक्तानी हुने गरेको छ । ‘संघ, प्रदेश र स्थानीय सरकारको तर्फबाट सडक तथा अन्य पूर्वाधारका लागि अर्बौंको रकम विनियोजन हुन्छ, निर्माण व्यवसायीहरूले करोडमा ठेक्का पार्छन् अनि समयमै काम सम्पन्न नगर्दा लाखमा भुक्तानी हुन्छ’, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो– ‘निर्माण व्यवसायीहरूका कारण जनप्रतिनिधिको बदनाम त भएको छ नै बजेटको सदुपयोग नभएका कारण स्थानीयहरू विकासबाट वञ्चित भएका छन् ।’

२०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनपछि महाभारत गाउँपालिका केन्द्र पुग्ने सडकदेखि वडा र टोल टोलमा पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको अध्यक्ष जिम्बाले बताउनुभयो । ‘२०७४ अघि महाभारत पुग्न सिन्धुली जिल्लाको सडक प्रयोग गर्नुपर्दथ्यो’, अध्यक्ष जिम्बाले भन्नुभयो– ‘५ वर्षभित्र महाभारत गाउँपालिकाको केन्द्र पुग्ने मुख्य दुई सडकको ट्रयाक खोलिएको छ भने गाउँपालिका केन्द्रबाट वडा केन्द्र र टोल टोल पुग्ने गरी ३ सय ५ किलोमिटर ट्रयाक खोलिएको छ । अबको योजना भएका सडकलाई स्तरोन्नति गर्ने हो ।’

अवधि सकियो, सडक उस्तै

निर्माण व्यवसायीको लापरबाहीका कारण महाभारत गाउँपालिका हुँदै विभिन्न स्थान पुग्ने सडकको निर्माण कार्य अलपत्र परेको छ । २०७९ असार मसान्तमा अवधि सकिएको अलपत्र सडकका कारण स्थानीय थप जोखिममा परेका छन् । गाउँपालिकाले पटकपटक समयमै निर्माण कार्य सम्पन्न गर्न ताकेता गरे पनि पहुँचका आधारमा निर्माण कार्य अघि बढ्न सकेको छैन । २०७७ असोज २० गते तामझामका साथ बागमती प्रदेशका मन्त्री रामेश्वर फुँयालले तीनखुट्टेमा शुभारम्भ गर्नुभएको मंगलटार–चारकिल्ला–तीनखुट्टे–बनखु सडक लामो समय अवरुद्ध थियो ।

महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडक खण्डको ८.७ किलोमिटर सडक कालोपत्रे गर्ने गरी ४९ करोड रकम विनियोजन भएको थियो । ४९ करोडमध्ये २५ करोड ८२ लाख १० हजार ३ सय १६ रुपियाँँ खर्च गर्ने गरी २०७९ असार ३० गतेभित्र सम्पन्न गर्ने गरी २०७७ असार ३० गते सम्झौता गरिएको थियो ।वागमती प्रदेश सरकारले रोशी गाउँपालिकाको पिथली रजवास हुँदै महाभारत गाउँपालिकाको बुढाखानी चारकिल्ला तीनखुट्टे देवीटार घर्तीछाप गोकुले सडक निर्माणका लागि बहुवर्षीय योजनामा समावेश गर्ने गरी ५० करोड रकम विनियोजन गरेको थियो । निर्माण कम्पनीले ३७ प्रतिशत कम रकममा ठेक्का सम्झौता गरेको थियो । कन्टिजेन्सीसमेत ४० करोड रकम महाभारत गाउँपालिकाको तीनखुट्टे देवीटार सडक खण्डका लागि खर्च हुने छ ।

इलाम घर भएका डम्बर खड्का उक्त सडक निर्माणका आधिकारिक व्यक्ति हुन् । २०७९ मंसिर ४ गते सम्पन्न निर्वाचनमा उनी गठबन्धनका तर्फबाट उम्मेदवार थिए । एमाले उम्मेदवार सुवासचन्द्र नेम्वाङसँग प्रतिस्पर्धा गरेका डम्बर खड्काले पहुँचका आधारमा सडक निर्माणमा आलटाल गरेको स्थानीयले बताए । स्थानीय नीरबहादुर बोम्जनले पहुँचका आधारमा निर्माण व्यवसायीले सडक निर्माण नगर्दा स्थानीयहरू संकटमा परेको बताउनुभयो । ‘सर्वसाधारण बिरामी भएको अवस्थामा सडक नभएकै कारण दुई दिन बोकेर सडक पहुँचमा पु-याउनुपर्छ’, स्थानीय धनबहादुर बोम्जनले भन्नुभयो– ‘मुख्यमन्त्री, मन्त्री, दलका नेता, सांसद धेरै आए, सडक समयमै निर्माण हुन्छ भन्ने आश्वासन दिए । अवधि सकिँदासम्म सडक निर्माण कार्य १० प्रतिशत पनि भएको छैन ।’

सडक फराकिलो बनाउँदै कालोपत्रेसम्म गर्ने जिम्मेवारी प्राप्त गरेको श्रेष्ठ सक्षम जेभी कम्पनीको आलटालका कारण नागरिकहरूले सास्ती खेप्नुपरेको छ । ‘उक्त सडक निर्माण सम्पन्न हुँदा हिउँद र वर्षात् दुवै समय सडकबाट ओहोरदोहोर गर्न कठिन हुँदैन’, अध्यक्ष कान्छालाल जिम्बाले भन्नुभयो– ‘महाभारत क्षेत्रमा सडक कालोपत्रे हुने कुराले नागरिकमा आशाको सञ्चार जगाएको थियो । निर्माण व्यवसायीका कारण जनप्रतिनिधि बदनाम भएका छौं ।’

सडकमा अर्बौं बजेट

चौकीडाँडा–सिपाली–बूढाखानी–महादेवटार सडक महाभारत गाउँपालिकाको मुख्य सडक हुनुपर्नेमा सिपाली खोलाका कारण सम्भव भएन । खोलाबाहेकको स्थानबाट ट्रयाक खोल्न असम्भव भएपछि पालिकाले मुख्य सडकका रूपमा पिन्थली–रजवास–भूमिचुली–बूढाखानी–देवीटार सडकलाई प्राथमिकतामा राख्यो ।

उक्त सडकका लागि विभिन्न खण्डमा अर्बौं रकम विनियोजन भएको छ । तीन वर्षभित्र निर्माण कार्य सम्पन्न हुने गरी ९८ करोड ७४ लाख १७ हजार रकम विनियोजन भएको अध्यक्ष कान्छालाल जिम्बाले बताउनुभयो । १४ किमि कालोपत्रे, ३ किमि ढलानसहित १७ किलोमिटर सडकका लागि संघ र प्रदेश सरकारको लगानी छ । भूमिचुली किल्ला सडकका लागि थप १२ करोड रकम विनियोजन भएको छ । एक किलोमिटर ढलानसहित सडक स्तरोन्नति कार्य भइरहेको छ । पिन्थली रजबास सडकका लागि ५ करोड रकम विनियोजन भएको छ । तीनखुट्टे देवीटार सडकका लागि ४९ करोड रकम विनियोजन भएको छ ।

बजेट विनियोजन हुने, ठेक्का लाग्ने तर समयमै निर्माण व्यवसायीले काम नगर्दा स्थानीयमा निराशा छाउन थालेको अध्यक्ष जिम्बाले बताउनुभयो । ‘अर्बौंमा बजेट आएको सुनिन्छ, नेताहरू आएर भाषण गर्नुहुन्छ तर काम हुँदैन’, स्थानीय राजन बोम्जनले भन्नुभयो– ‘विनियोजित बजेटअनुसार कार्य सम्पन्न भए महाभारत स्वर्ग हुने थियो ।’

अलपत्र पुल

तीनखुट्टे देवीटार सडक खण्डमा नाली निर्माण, रिटेनिङ वाल, ग्याबिङ वाल, कजवे, कल्भर्टलगायतका संरचनासँगै ३० एमएमको कालोपत्रे गरिनेछ । सडक पार गर्न पार्वती, खानी र बनखु खोलामा दुईवटा पक्की पुल निर्माण शुरू भए पनि अलपत्र छन् । पुल निर्माणको कार्य अलपत्र हुँदा सर्वसाधारण झन् जोखिममा छन् । गाउँपालिकाले ७ वटा पुल निर्माणका लागि रकम सुनिश्चित गरेको छ । मसाने भन्ज्याङ फोक्सिङटार, चौखाला दोभान, किल्ला, सिन्धुली जोड्ने खोलालगायतका स्थानमा पुल निर्माणका लागि डीपीआर र बजेट सुनिश्चित भए पनि निर्माण व्यवसायीको ढिलाइका कारण नागरिकहरू संकटमा छन् ।